नेपाली क्रिकेटको अष्ट्रेलिया यात्रा र विश्वकपको तयारी

राजु सिलवाल
२९ साउन २०८२ १७:१७
72
Shares

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि यो वर्ष चुनौतीपूर्ण मानिएको छ। ‘टि ट्वान्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा जसरी भए पनि छनोट हुनुपर्ने चुनौती नेपाली क्रिकेट टिमलाई रहेको छ।

नेपालले सन् २०१४ मा पहिलोपटक तत्कालीन कप्तान पारस खड्काको नेतृत्वमा टि ट्वाण्टी विश्वकप खेलेको थियो। दोस्रो पटक पुन सन २०२४ मा विश्वकपमा उत्साहजनक प्रदर्शन गरेको नेपाललाई तेस्रो पटक विश्वकपमा प्रवेश दिलाउन हाल नेपाल क्रिकेट संघ क्यानमा सचिवको जिम्मेवारी सम्हालिरहेका खड्कासहितका पदाधिकारीको काँधमा आएको छ।

यो वर्ष अक्टोबरमा ओमानमा आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगिता सञ्चालन हुँदैछ। छनोट प्रतियोगितामा सहभागी हुने कूल नौ टिममध्ये अग्रपङ्तिमा रहेका तीन मुलुक आगामी विश्वकपका लागि छनोट हुनेछन्। नेपालले विश्वकपमा छनोटका लागि समूह चरणमा कुवेत र जापानको सामना गर्नु पर्नेछ।

नेपालले यसअघि सन् २०२४ को विश्वकपमा राम्रो प्रदर्शन गरेर जुनस्तर स्थापित गरेको थियो त्यसको आधारमा नै आगामी विश्वकपका लागि पनि छनोट हुन सक्ने आँकलन गरिएको छ। अमेरिका तथा वेष्ट इण्डिजमा भएको सो विश्वकपमा नेपाल दोस्रो चरणमा पुग्न नसके पनि दक्षिण अफ्रिका तथा बंगलादेशजस्ता मुलुकसँग झिनो अन्तरले पराजित हुनु त्यति सहज थिएन।

केही दिनअघि भारतको बेंगलोरमा भएको प्रशिक्षण पनि राम्रो भएको र अब अष्ट्रेलियामा नेपालले टप इण्ड टि ट्वाण्टी क्रिकेट प्रतियोगितामा उचित प्रदर्शन गर्ने तयारी भएको छ। नेपालले अष्ट्रेलियाका विभिन्न टिमलगायत पाकिस्तान र बंगलादेशजस्ता बलिया टिमसंग खेल्न पाउनाले थप अनुभव हासिल हुनेछ।

गत मार्चमा नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अष्ट्रेलियाली नागरिक स्टुवार्ट लको प्रशिक्षणमा नेपाली क्रिकेट टिम अष्ट्रेलिया पुगेको छ। उनी अष्ट्रेलियाको राष्ट्रिय टिमका पूर्वब्याटर हुन्। नयाँ प्रशिक्षक स्टुवार्टले अष्ट्रेलियाबाट सुखद् सुरुवात गर्ने अनुमान गरिएको छ।

नेपालले आगामी विश्वकपको छनौट चरणको तयारी स्वरुप अष्ट्रेलियाको डार्बिनमा अगष्ट १४ देखि अगष्ट २४ सम्म आयोजना हुने टप एण्ड टि ट्वाण्टी क्रिकेट प्रतियोगितामा केही शिर्ष अन्तर्राष्ट्रिय तथा घरेलु टोलीको सामना गर्नेछ। उक्त प्रतियोगितामा नेपालले पहिलो पटक भाग लिन लागेको हो।

आगामी विश्वकपको छनोटको तयारीको रूपमा यस प्रतियोगितालाई हेरिएको छ। नेपालले पहिलो खेल अष्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राईकसँग शुक्रबार पहिलो खेल खेल्दैछ।

यसअघि नेपालले यसै वर्ष नेदरल्याण्डस तथा स्कटल्याण्डविरुद्ध टि ट्वाण्टी श्रृङ्खला खेलेर दोस्रो स्थान हासिल गरेको थियो। विश्वकप छनोट खेल्नुअघि नेपाली टिमले यही सेप्टेम्बरमा युएईको सारजाहमा वेष्ट इण्डिजसँग खेल्ने मैत्रीपूर्ण श्रृङ्खलाले पनि नेपाली खेलाडीलाई थप खेल कौशल सिक्ने अवसर प्राप्त हुने आशा गरिएको छ।

नेपाली खेलकुद क्षेत्रमा आज क्रिकेट खेल अग्रणी खेलका रूपमा स्थापित भइसकेको छ। क्रिकेटको माध्यमबाट आज विश्वमा नेपालको बेग्लै परिचय बनेको छ। राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेका सयौँ खेल संघमध्ये खेल गतिविधि तथा उपलब्धिका हिसाबले नेपाल क्रिकेट संघलाई सफल संघ मानिएको छ।

नेपाली टिममा विगतमा अष्ट्रेलियामा खेल अनुभव बटुलिसकेका लेग स्पिनर सन्दिप लामिछाने पनि टिममा हुनाले टिमलाई सहज भएको छ। अष्ट्रेलियाका क्लबका साथै खेलाडीहरुसँगसमेत लामिछाने परिचित छन्। लामिछानेले अष्ट्रेलियामा व्यावसायिक खेलाडीका रूपमा स्थानीय क्लबसँग अनुबन्ध भई खेलको अनुभव बटुलिसकेका छन्। अष्ट्रेलियाको फेन्चाइज टि ट्वान्टी लिग बिग ब्यास बिबिएलमा लामिछाने सहभागिता रहको थियो। अष्ट्रेलियाको मेलबर्न स्टार्स, होबर्ट हुरिकान्सजस्ता क्लबमा उनी आबद्ध भएका थिए।

सन् २०१६ मै अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको रोजाईमा परेका सन्दिप लामिछानेलाई सिड्नीको वेष्टर्न सबर्ब क्लबमा खेल्न आमन्त्रण गरिएको थियो। हाल क्यानसँग केन्द्रीय सम्झौतामा नरहे पनि लामिछाने निरन्तर नेपाली राष्ट्रिय टिममा आबद्ध रहीआएका छन्। लामिछानेको खेलको कदर गर्दै उनको गृह जिल्ला स्याङ्जाको थाप्ले गाँउपालिकामा क्रिकेट रंगशाला बनाउन सुरु गरिनुका साथै कक्षा ४ को पाठ्यक्रममा लामिछानेको जीवनी पनि समावेश गरिएको छ।

विगतमा भएका कयौँ महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशल खेलको माध्यमबाट योगदान गर्दै आएका ललित राजवंशी मुलुकले अन्तराष्ट्रिय प्रतिस्पर्धा गरिरहँदा मातृशोकमा छन्। पारिवारिक शोकमा पर्नु भएका ललित अष्ट्रेलिया प्रस्थान गर्न असमर्थ भएपछि टिममा शाहब आलमलाई समावेश गरिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिम अष्ट्रेलिया प्रस्थान गर्नुअघि नै नेपाल प्रिमियर लिग एनपिएलको आगामी संस्करणकोलागि खेलाडीको अक्सन हुनाले पनि खेलाडीको मनोबल बढन गएको छ। खेलाडी भएर जीवन यापन गर्न धौधौ पर्ने मुलुकमा एउटै प्रतियोगितका लागि लाखौँ रुपैयाँ पारिश्रमिक घोषणा गरिनाले खेलाडी उत्साहित भएका थिए।

एनपिएलमा सहभागी हुने आठ वटै टिमका लागि राष्ट्रिय टिमका आठ जना खेलाडीलाई मार्कीका रूपमा चयन गरिएको थियो। उनीहरुले गतवर्ष जस्तै लाखौँ पारिश्रमिक पाउने निश्चित भए पनि रकम भने सार्वजनिक गरिएको छैन।

अष्ट्रेलियामा हालै आयोजित एउटा क्रिकेट प्रतियोगिताको समापनका अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक जगत टमाटालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। अष्ट्रेलियामा रहेको सगरमाथा क्रिकेट क्लब प्रथम भएको उक्त सामुदायिक प्रतियोगिताको समापनका बेला प्रशिक्षक टमाटाले नेपालको क्रिकेटको विकासमा आबद्ध भइसकेका विभिन्न व्यक्ति तथा आफ्ना पुराना चेलासमेतलाई भेटनु भएको थियो।

अष्ट्रेलियामा रहेको नेपलिज क्रिकेट एशोसिएशन अफ अष्ट्रेलियाजस्ता संस्थाले क्रिकेटको माध्यमबाट नेपाली तथा अष्ट्रेलियाली समुदायबीच सम्बन्ध सुमधुर बनाउने कार्य गर्दै आइरहेको छ।

विगतमा नेपालमा राष्ट्रिय टिमका साथै विभिन्न तहमा क्रिकेट खेलेका खेलाडी अहिले अष्ट्रेलियामा विभिन्न पेशामा आबद्ध भए पनि बेलाबखत क्रिकेट मैदानमा जुट्ने गरेका छन्। केही नेपाली खेलाडी स्थानीय क्लबसँग अनुबन्ध भई खेल्ने गरेका छन्। नेपालमा आयोजित एनपिएल लिगमा अष्ट्रेलियामा रहेका नेपाली खेलाडीको पनि प्रतिनिधित्व भएको छ। नेपालमा जस्तै अष्ट्रेलियामा पनि एनपिएल अष्ट्रेलिया क्रिकेट प्रतियोगिता आयोजना हुनु गौरवको प्रसंग मानिएको छ।

जुनसुकै खेलका प्रतियोगितामा सहभागी हुन हिजोआज नेपाली खेलाडीहरु विदेशमा पुग्दा त्यहाँ रहेका नेपालीले भब्य स्वागत गर्ने गरेका छन्। नेपालको क्रिकेट, फुटबललगायतका टिमहरुको खेल हेर्न विदेशमा भएका नेपाली आ–आफ्नो कार्यस्थलमा बिदा लिएर पनि जुट्ने गरेका छन्। उनीहरु बाजागाजासहित नेपालका खेलाडीले लगाउने जर्सी नै लगाएर रंगशालामा उपस्थित हुँदा वातावरण नै अत्यन्त उत्साहजनक हुने गरेको छ ।

नेपाली खेलप्रेमीले विदेशी भूमिसमेतमा देखाएको यस प्रकारको सदभावबाट नेपाली खेलाडी हौसला बढन गएको देखिएको छ। अष्ट्रेलियामा ठूलो सङ्ख्यामा नेपाली बसोबास गर्दै आइरहेका छन्। यसपालि डार्बिनमा हुने क्रिकेट प्रतियोगितामा नेपालको खेल भएको दिन अत्यधिक सङ्ख्यामा नेपाली खेलप्रेमी उपस्थित हुनसक्ने अपेक्षा गर्न सकिन्छ। नेपाली क्रिकेट डार्बिनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा त्यहाँ रहेका नेपालीले गरेको भब्य स्वागत वास्तवमै उदाहरणीय थियो।

विदेशमा बस्ने नेपालीको संगठन एनआरएनएले अष्ट्रेलियाली भूमिमा नेपाली क्रिकेट टिमलाई समर्थन र हौसला प्रदान गर्न आह्वान गरेको छ। अष्ट्रेलियामा रहेका खेलप्रेमी नेपालीलाई रातो र निलो रङका कपडा लगाएर क्रिकेट रंगशालामा एकसाथ उपस्थित हुन अनुरोध गर्दै सो संस्थाले राष्ट्रिय झण्डासमेत लिएर आउन गरेको आग्रहले राष्ट्रिय टिमलाई खेल जित्न उत्प्रेरित गराउने छ। यस्तो कार्यले नेपाली संसारको जुनसुकै मुलुकमा पुगेतापनि राष्ट्रिय एकताको भावना सुदृढ बनाउन योगदान पुग्न जाने देखिएको छ।

अनुभवी खेलाडी तथा प्रतिष्ठित टिमहरुसँग अष्ट्रेलियामा हुने प्रतिस्पर्धाबाट नेपाललाई आगामी विश्वकप प्रवेशका लागि ढोका खोल्न यथोचित खेल कौशल र रणनीति हासिल गर्ने यथोचित सहयोग पुग्न जाने आशा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.