महिला लिग छनोट: पहिलो खेलमा छहारी क्लब विजयी

डिसी नेपाल
२९ साउन २०८२ १८:३५
72
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो। भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीले पहिलो हाफमा दुई गोल गर्‍यो भने दोस्रो हाफमा एक गोल थप्यो।

वर्षाले प्रभावित भई खेल करिब ३० मिनेट रोकिएको थियो। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन्। जितसँगै छहारीले तीन अंक बटुलेको छ।

विभिन्न १४ टोली सहभागी उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछ। सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

त्यसैगरी समूह ‘बी’मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.