रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

डिसी नेपाल
३० साउन २०८२ ७:४२
112
Shares

रौतहट। रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो।

मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए।

उनका अनुसार बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।

रासायनिक मलको अभाव र कालोबजारीका कारण किसानहरूले समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको पछि बैठक बसेको हो।

रासायनिक मलको माग र आपूर्तिको विस्तृत विवरण १५ दिनभित्र तयार गर्ने, मलको कृत्रिम अभाव रोक्न संयुक्त अनुगमनलाई तीव्रता दिने , रासायनिक मलको तोकिएको मूल्यभन्दा बढीमा बिक्री र सहकारी संस्थाबाहेक अन्य निकायबाट हुने वितरणलाई पूर्णरूपमा निरुत्साहित गर्ने र किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँट प्रमुख रामनरेश साहले जानकारी दिए।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला कृषि ज्ञान केन्द्रका प्रतिनिधि र किसान अगुवा सहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.