कथा : आमा
आमा बुवासँग म छु। दुलारी आमा बुवाको निमित्त नयाँ ठाउँ हो। कर्जुनामा जस्तो हिमचिमका साथी भाइ यहाँ छैनन्। मर्दा मलामी पाइँदैन कि के हो? भनेर चिन्ता व्यक्त गर्नु हुन्छ। दुई चार साथी भाइ त छन् नै। दुईचार वटै आठ दश हुने त हो नि।
म पनि दुलारीको पुरानो बासिन्दा हैन। घर बनाएको ६ वर्ष मात्रै हुँदैछ। म बसेको त पुग नपुग दुई वर्ष त भयो। पर्याप्त साथी भाइ कहाँ छन र? कति सँग त हाइ हेल्लो हुन्छ। औपचारिक चिनजान नै छैन।
पुर्ख्याैली घर भोजपुरको वोया हो। वोयाको जस्तो आत्मीयता खोजेर कतै नपाइँदो रहेछ। जन्म भूमि, गर्वले छाती फुलेर आउँछ। ढुंगा, माटो, हावा, पानी, घाँस, दाउरा, बस्तु भाउ, मेला पाल सबै सम्झना हुन्छ। साथी भाइसँग खेलेको र खाएको कुरा झनै प्रिय लाग्छ।
पढ्दाका साथीहरु शिव, अर्जुन, तुम्ला, टेकबहादुर, उत्तम, नन्दु र काजीनुर्वुको स्मृतिले बेला मौकामा सताउने गर्छ। सायद उनीहरुलाई पनि त मेरो स्मृतिले कहिले कहीँ त सताउँदो हो नि। बालापनमा खाइ खेलेको जस्तो अन्त कहाँ हुन्छ र?
म मधेशलाई कालापानी भन्थे। पहाडमा पाप गरेर पाप काट्न जाने ठाउँ जस्तो लाग्यो। गर्मी अचाक्ली भएको देख्ता फर्केर जाने मन हुन्थेन। लामखुट्टेले टोकेर सुत्न नपाइने। पानी ठस्स गन्हाउने। मलाई बस्न योग्य लाग्दैन थियो। मान्छेहरु जवरजस्ती बसेका होलान जस्तो लाग्थ्यो।
मैले जति नै सरापे पनि पहाडबाट बसाइ झर्ने क्रम रोकिएको थिएन। वर्षौनी दर्जनौं परिवार मधेश झर्थे। बसाइ रोक्ने कुनै योजना थिएन। छिमेकी जति बसाइ हिँडेपछि बाँकी रहेका एक दुई घर पनि बाध्य भएर बसाइ झर्नु पर्थ्याे।
बाध्यात्मक परिस्थितिकै बीच हाम्रो परिवार पनि मधेश झरेको थियो। कर्जुनामा १३ कट्ठा जमिन किनी खेती गर्ने ठाउँमै काठको टाँडे घर बनाइएको थियो। मधेशको हुण्डरीले घर हल्लाउँथ्यो। हावा पानी आएको बेला पानी जति घर भित्रै पस्थ्यो। बिजुली थिएन। पानी थिएन। विद्यालय थिएन। यातायातको लागि सडक थिएन।
मधेशको पनि दुर्गम गाउँ थ्यो हामी बसेको कर्जुना। पहाड भन्दा पनि दुःख जिउलो बढी गर्नुपर्ने। विद्यालय १ घण्टा टाढा थियो। महेन्द्र राजमार्ग भेट्न पौने घण्टा हिँड्नु पथ्र्यो। दाउरा खोजी गर्न करिब दुई घण्टा पार गरेर जङ्गल पुग्न पथ्र्यो। ग्यास थिएन।
सबै कुरा दाउरामै पकाउनु पथ्र्यो। टुकी बालेर लेख पढ गर्नु पथ्र्यो। दुघ दहीका लागि गाई वस्तु पनि पाल्ने चलन थियो। पहाडको जस्तो रुख घाँस नहुने। कान्ला नभएको कारण कान्ले घाँस पनि नहुने। चौर खुर्केर घाँस काट्नु पथ्र्यो। घाँस काट्दा सर्पले ठुङ्ला भन्ने डर हुन्थ्यो।
आम मानिसहरु सुख दुःखका जीवन गुजारा गरिरहेका थिए। यहाँ पनि एकथरी हुने खाने र अर्कोथरी हुँदा खाने वर्गका मानिसहरु थिए। सामन्त्याई प्रथा जिवित थियो। धनीका घरमा गरिबहरुले खाजाको भरमा काम गर्नु पथ्र्यो।
श्रमको मूल्य दिइँदैन थियो। धनीहरु झन धनी र गरिबहरु झन् गरिब बन्दै गएका थिए। न्याय समानता र मुक्ति प्राप्त भएको भनिए पनि समाजमा शोषण, दमन र उत्पीडन चर्को थियो। उचित न्याय प्रणलीको विकास हुन सकिरहेको थिएन।
उच्च शिक्षा प्राप्तिका लागि धरान विराटनगरै जानु पथ्र्यो। पहाडबाट पनि धरान विराटनगरै पढ्न आउनु पर्ने हुँदा मधेश झर्नुको औचित्य के रह्यो? सुविधाको खोजीमा बसाइ आएको भन्ने हो भने पहाडमा पनि बिजुली थिएन। कर्जुनामा पनि बिजुली थिएन। पहाडमा ५ मिनेटमै विद्यालय पुगिन्थ्यो भने यहाँ १ घण्टा हिँड्नु पथ्र्यो।
राम्ररी साइकल चल्ने बाटो पनि थिएन। पहाडमा चिसो र मिठो पानी खान पाइन्थ्यो। यहाँ तातो र गन्हाउने पानी खानु पथ्र्यो। पहाडमा पनि घाँस दाउरा गरेकै हो। यहाँ आएर पनि घाँस दाउरा गर्नै पथ्र्यो। आवत जावतका लागि महेन्द्र राजमार्ग सम्म हिड्नै पथ्र्यो। अहिले जस्तो कहाँ गाडी थिए र? एक घण्टामा एउटा आउथ्यो।
टेक्ने ठाउँसमेत हुन्थेन। च्पापिएर यात्रा गर्नु पथ्र्यो। कहिले त गाडी चढ्न नसकेर घर तिरै फर्कनु पथ्र्यो। सुखको खोजीमा झरेका मान्छेहरु दुःख बेसाइ रहेका थिए। दुःखमै बाँच्नु पर्ने भए पहाड छोडेको के अर्थ रह्यो र?
आमा २०५६ सालमा बसाइ आउनु भएको थियो। बुवा शिक्षक भएको कारण गाउँमै डेरा लिएर बस्नु भएको थियो। म पनि सरस्वती मा.वि साङपाङमा शिक्षण गर्थें। भाइ प्रदीप काठमाडौं बस्थ्यो। बहीनीहरु कलेज पढ्दै थिए। माओवादी आन्दोलन चरम उत्कर्षमा पुग्दै थियो। साङपाङबाट दर्जनौं युवा युवतीहरु भूमिगत थिए।
छापामारहरुको चहल पहल बढिरहेको थियो। मेरो परिवारको बसाइ साङपाङमै थियो। मेरो श्रीमतीको शिक्षण पनि लक्ष्मी प्रा वि. साङपाङमै थियो। ठूली बहिनी प्रतिमाको विवाह भै सकेको थियो। उ ललितपुर बस्थी। म र मेरो परिवार २०५४ सालदेखि साङपाङ बस्दै आएको हो।
म दिङ्लामा शिक्षण गर्थें। शिक्षणकै क्रममा २०५२ सालमा मेरो सरुवा साङपाङ भएको हो। माओवादीले तोकेको चन्दा दिन नसक्ने परिस्थिति सृजना भए पछि २०५८ सालमा बुवाले शिक्षण पेसाबाट स्वेच्छिक अवकाश लिनु भयो।
अब कर्जुनामा आमा, बुबा र कान्छी बहिनी ताराको बसाई हुन थाल्यो। माहिली बहिनी मन्दिरा पोखरा तिर डी. एफ. ओ. पढ्दै थिइ। हामी पहाड तिरै थियौ। आमाले कर्जुनामा बोयामा भन्दा बढी दुःख गरे भन्नु हुन्छ। गाई बाख्रा पालेका थिए। घाँस खोले गर्नै पर्यो। भात तिहुन पकाउनै पर्यो।
लुगा कपडा धुनै पर्यो। दाउरा लिन जङ्गल जानै पर्यो। खेतमा भएका काशका जरा उखेलेर फ्याँक्ने काम चर्कै थियो। हामीले घरमा बसेर काममा सहयोग गर्न पाएनौं। जति दुःख परे पनि आमाले नै शिरोधार्य गर्नु भयो। बल हुन्जेल केही भएन। जब बल सकियो। उमेर ढल्क्यो।
आमालाई विभिन्न समस्याहरु देखा पर्न थाले। कम्मरको हड्डी मक्किएर हिड्डुल गर्न नसक्ने अवस्थामा पुग्नु भएको छ अहिले। हड्डी फेर्न नमिल्ने। पीडा सहनुको विकल्पै छैन। डाक्टरले दिने भनेको क्यालशियम रहेछ। मक्किएको हड्डीलाई क्यालशियमको के काम?
परम्परागत सामाजिक परिवेशमा आमाहरुले धेरै हण्डर खानु भएको थियो। बुहारी माथि गरिने व्यवहार सकारात्मक हुन्थेन। के खाई? के लाई भन्ने कोही पनि हुँदैनथ्यो। भोकै तिर्खै लेक बेसी गर्नु पथ्र्यो। दुःखका आँसु पुछि दिने कोही हुन्थेन।
सासु, नन्द, आमाजु र श्रीमान खुशी राख्न अथक प्रयास गर्दा पनि दोष लगाइन्थ्यो। मेशिनले जस्तो काम गर्दा पनि जश कहिल्यै पाइँदैनथ्यो। सासुहरु आफ्नो पीडा बिर्सिएर बुहारीहरु कज्याउनमै व्यस्त हुन्थे। नारीले नारी माथि गरिने व्यवहारमा समानता थिएन। श्रीमतीको पीडामा श्रीमान मूकदर्शक बन्थे।
राज्य व्यवस्था र सामाजिक परिवेश नारीप्रति क्रुर थियो। पर्याप्त विद्यालयहरु थिएनन्। छोरीलाई पढाउने चलनै थिएन। ८-१० वर्ष भएपछि विवाहको कुरा चलाइन्थ्यो। अधिकांश विवाह बाल विवाहनै हुन्थे। धार्किक र सामाजिक नियमहरु महिला मैत्री थिएनन्। जानेको कुरा पनि व्यक्त गर्न पाइँदैनथ्यो।
महिलाहरुलाई घाँस, दाउरा, ढिकी जाँतो, भान्साको काममा सीमित गरिएको थियो। भेला, सम्मेलनमा सहभागी हुन बर्जित गरिएको थियो। बोक्सीको आरोप लगाइन्थ्यो। पोई टोकुइको उपमा दिइन्थ्यो। रजस्वला नारीहरुको नियमित प्रकृया भए पनि रजस्वलाको बेला अमानवीय व्यवहार प्रर्दशन गरिन्थ्यो। राजनीतिमा महिलाको उपस्थिति शून्य थियो। पढ्नै नदिएपछि सेना प्रहरी र कर्मचारी संयन्त्रमा महिलाको सहभागिता हुने कुरै भएन। महिला अधिकारको कुरा उठाउने संघ संस्था प्रतिवन्धित थिए।
राजनैतिक स्वतन्त्रता थिएन। लैङ्गिक विभेद कहाली लाग्दो थियो। छोरो पाउँदा मासु दिने र छोरी पाउँदा फर्सी दिने चलन हटेकै थिएन पितृ उद्धारको लागि छोरा नै चाहिने धार्मिक मान्यता थियो। स्वर्ग, नर्क, पाप, पुण्य यो जन्म र पुनर्जन्मको हौवा फिजाएर नारी माथि विशेषा निगरानी राखिन्थ्यो।
अशिक्षाका कारण नारीहरु कुरै बुझ्न नपाई भाग्यवादमा विश्वास गर्थे। कर्मको खेल र भाग्यको खेल भनी चित्त बुझाउँथे। नारीहरुलाई सन्तान उत्पादन गर्ने मेशिनको रुपमा उपभोग गरिएको थियो।
मेरी आमा पनि यही सामाजिक परिवेश भित्रको एक पात्र हुनु हुन्थ्यो। वहाँको विवाह १३ वषैकै उमेरमा भएका थियो। १३ वर्षको उमेर खाने र खेल्ने उमेर त थियो। यो बेला घर व्यवहारका कुरा कसरी जान्नु?
राजनैतिक स्वतन्त्रता प्राप्त भइ मानवअधिकार बहाल रहेको भनिएको वर्तमान समाजमा त नारी माथिको हिंसा कायमै छ। दाइजोको नाममा नारीहरु प्रताडित भै रहेका छन्। बोक्सीको आरोपमा अभक्ष कुरा खुवाईको छ। चेलीबेटीहरु दिन दहाडै बलात्कृृत भैरहेका छन्।
चेलीवेटी बेचबिखन निरुत्साहित हुन सकेको छैन। कुमारी, देउकी र झुमा प्रथा कायमै छ। कमलरी प्रथाको अन्त्य भै सकेकै छैन। नीति निर्माणको तहमा प्रथम साझेदारी प्राप्त भएकै छैन। आरक्षणको नाममा केही गर्न खोजिए पनि त्यो पर्याप्त छैन्।
प्रमुख पदमा पुरुष आसिन भएर उप प्रमुख पदमा मात्रै नारीहरुको क्षमतालाई खुम्च्याइएको छ। कार्यकारी प्रमुखको रुपमा महिलाहरुलाई काम गर्ने अवसरै दिइएको छैन। दलित र गैर दलित महिला भनी महिलामै पनि जातीय विभेद गरिएको छ। संविधान र कानुनमा लेखिदिएका हक अधिकार निर्वाध रुपमा प्रयोग गर्न पाएका छैनन्।
एकथरि मान्छेहरु के बुझ्छन भने महिला आन्दोलन भनेको पुरुष विरुद्धको आन्दोलन हो। यस्ता भ्रमित मान्छेहरु समाजमा रहिरहे भने नारी आन्दोलन कमजोर हुने छ। स्वभाविक रुपमा वर्षौंबाट लादिएको पितृसत्तात्मक निरंकुशता विरुद्ध महिलाहरु संगठित हुनै पर्छ। यसो गर्दा पुरुष विरोधी आन्दोलन जस्तो देखिन जान्छ। त्यो पुरुष विरुद्ध नभएर पुरुष प्रधान समाज विरुद्ध भएको आन्दोलन बुझ्नु पर्छ।
आमा परिवर्तनको पक्षमा हुनुहुन्छ। आफूले पढ्न नपाएपनि छोरीहरुलाई पढाउन सक्नु भएकोमा गौरव गर्नु हुन्छ। आमा सामान्य साक्षर भएपनि औपचारिक शिक्षा उहाँले प्राप्त गर्ने अवसरै पाउनु भएन। आमाको साहित्यप्रति रुची छ। वहाँका दर्जनौं कविताहरु छन्।
प्रकाशन गर्ने इच्छा जाहेर गरिरहनु भएको छ। अनौपचारिक रुपमा त केही अनलाइनहरुमा कविता दिने गरेको छु। कविता प्रकाशित भैरहेका पनि छन्। पुस्तकाकारकै रुपमा प्रकाशन गर्ने सोच बनाए पनि त्यसले साकार रुप लिई सकेको छैन। आमाको सपना पूरा गर्न सके म आफूलाई भाग्यमानी ठान्ने छु।
म वामपन्थी विचार धाराको मान्छे। नारी मुक्तिसँग मेरो पनि संघर्ष गाँसिएको छ। नारी मुक्तिका बहसहरुमा मैले सहभागिता जनाएको छु। नारीको हक अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कतिपय ठाउँमा नारी आन्दोलनको नेतृत्वसँगै बसेर काम गरेको छु।
पुरुष प्रधान समाजबाट उन्मुक्ति पाउने उपायको खोजी गर्न सघाएको छु। स्वभावैले वामपन्थीहरु नारीमैत्री कानुन निमार्णको पक्षधर हुन्छन। नारी मुक्ति बिना समाजवादी क्रान्ति पूरा हुन नसक्ने कुराप्रति वामपन्थीहरु स्पष्ट छन्। नारी मुक्ति वर्गीय मुक्तिसँग गाँसिएको एउटा आन्दोलन पनि हो।
आमा आफैंमा एउटा प्रिय शब्द। आमा नभए हामी कसरी धरती टेक्न आउथ्यौ? आमा ममताकी खानी हुन्। आमा आफ्ना पिर व्यथा र दुःखहरु लुकाएर सन्तानको खुशीको निमित्त सर्वस्व गुमाउन पनि तयार हुन्छिन्। परिवारको खुशीको लागि जीवन आहुती दिन पछि पर्दिनन आमा।
यस्तो चौडा छाती भएकी आमा माथि अझै अन्याय किन?
सुन्दरहरैंचा-०६ दुलारी, मोरङ
















Facebook Comment