रमाइलो शुक्रबार (भाग २)
हामी साना छँदा पिताजीको अड्डा (कार्यालय) नेपाल राष्ट्र बैंकले पिकनिकको आयोजना बरोबर गरिरहन्थ्यो। प्रायः जसो धुलिखेल, नगरकोट, बालाजु र ककनीमा शनिबारको दिन पिकनिकको आयोजना हुन्थ्यो। हामी भुराभुरी पनि पिकनिकमा सामेल हुन पाउने भएकोले अघिल्लो दिन शुक्रबारदेखि नै निकै उत्साहित हुने गर्दथ्यौँ।
धीरविक्रम शाह त्यतिबेला लेखा प्रमुख यानी चिफ एकाउन्टेन्ट थिए र छोटकरीमा उनलाई चीए बाबुसाहेब भनेर बोलाउँथे मानिसहरू। उनको दम्पतिले पिकनिकमा आफ्नै सुरमा मदिराको हल्का चुस्कीसहित बल डान्स गर्दथ्यो।
त्यस्तै युधिरशमशेर थापा हाम्रा पिता जस्तै विशिष्ट श्रेणीका कर्मचारी थिए र पछि डेपुटी गभर्नर पनि भएका थिए। उनी पनि पिकनिकमा केही पियक्कड साथीहरूसँग बसेर मदिराको आनन्द लिइरहेका भेटिन्थे।
यस्तै पिकनिक तथा अन्य समारोहहरूमा गीत-संगीतको मजा लिन कल्याण रिमाल, बिजु रिमाल र रुवी जोशी जस्ता त्यतिबेलाका प्रख्यात रेडियो गायकहरूलाई पनि बैंकले जागीर दिएर राखेको थियो। रुवी जोशी मदिराको चुस्की अलिक बढी लगाए पछि अश्लिल पारामा समेत गीत गाएर सबैलाई हँसाउँथे। यस्तो पिकनिकमा हामी जस्ता बच्चाहरूदेखि सबै उमेर समूहका मानिसहरूले निकै मजा लिन्थे।
नेपाल राष्ट्र बैंकका पियन तथा गार्डहरूले बिदाका दिन यदाकदा बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयको मुख्य दरवार भवनको बीचमा रहेको विशाल चोकमा खसी काटेर सबै तहका हाकिम तथा अन्य कर्मचारीहरूलाई बोलाउँथे। त्यतिबेलाका उच्च तहका हाकिमहरू निकै रसिक भएकाले बिहानैदेखि मदिरा पार्टी शुरु भइहाल्थ्यो। हामी भुराभुरी भने बिदाको दिन भएकोले सोही चोकमा खेल्दै खानाको मजा लिने गर्दथ्यौँ।
प्रायः शुक्रबारको दिन पिताजीका बैंकका मित्रहरू हाम्रो घरमा पनि आएर खानपिन गर्ने गर्दथे। यस्तै खानपिन कै समयमा भोलिपल्ट वा त्यसपछिको शनिबारमा पार्टी र पिकनिकको आयोजना गर्ने योजना बन्न थाल्दथ्यो।
गणेशबहादुर थापा, हरिशंकर त्रिपाठी, बासुदेवराम जोशी, राघवध्वज पन्त, हरिहरदेव पन्त, मीना आचार्य, बिजयबहादुर प्रधानलगायतका उच्च पदस्थ कर्मचारीहरूको घर हाम्रो घरबाट त्यति टाढा नभएकोले हामी कहाँ प्रायः भेला हुन्थे उनीहरू। त्यस्तो भेलाको बेला म सधैं पिताजीको साथमा हुने भएकोले उनीहरू मलाई जिस्काउँदै ‘पिकनिक जाने होइन बाबु?’ भनिरहन्थे।
२०२९ सालतिर मेरा पिताजी राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनित हुनु भएपछि योजना आयोगका उपाध्यक्ष हर्क गुरुङ, सदस्यहरू बद्रीप्रसाद श्रेष्ठ, रत्नशमशेर राणा, मोहनमान सैंजुलगायत मोहम्मद मोहसिन, पशुपतिशमशेर राणा, गोविन्द भट्ट आदि पनि प्रायः शुक्रबार कै दिन बेलुकी हामी कहाँ खानपिनको निम्ति भेला हुन्थे।
हाम्री माता पाहुनाहरूको निम्ति खाना पकाउन व्यस्त हुनु हुन्थ्यो भने मेरा दाजुहरू खानपानका पाहुना सत्कारको काममा लाग्दथे। म भने सानै भएकोले पिताजीसँग बसेर उनीहरूको कुरा नबुझे पनि विभिन्न रोचक हर्कत हेरेर मजा लिन्थेँ।
राजा वीरेन्द्रले राजदरवारमा यी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई महिनामा एउटा जस्तो शुक्रबार खानपानको निम्ति बोलाइरहन्थे। नितान्त पारिवारिक वातावरणमा हुने ती कार्यक्रममा आफू राजदरवारमा नभएर साधारण घरमा नै भएको महसुस हुने कुरा पिताजी बताउनु हुन्थ्यो।
यानी राजारानी तथा राजपरिवारको घरायसी रहनसहन र खानपान निकै साधारण प्रकारको थियो रे। भोलिपल्ट शनिबार बिहानको चियाको समयमा पिताजीले हामीलाई अघिल्लो दिनको राजदरवारको कुरा सुनाउनु हुन्थ्यो र बीच बीचमा केही गोप्य कुरा भएकोले सो सुनाउन नमिल्ने भन्दै मुसुक्क हाँस्नु हुन्थ्यो। हामीलाई त्यस्ता गोप्य कुरा सुन्ने निकै कौतुहल जागे पनि उहाँ त्यस्ता कुरा फुस्काउनु हुँदैनथ्यो।
म कक्षा ८ मा छँदा मेरा पिताजी पाकिस्तानको निम्ति नेपाली राजदूत नियुक्त हुनु भएकोले हामी सपरिवार इस्लामावाद गयौँ। त्यहाँ पनि हाम्रो यहाँ शनिबार बिदा भए जस्तै हरेक शुक्रबार बिदा हुँदो रहेछ।
इश्लाम धर्मावलम्वीहरूको निम्ति शुक्रबार निकै महत्वपूर्ण बार हो। शुक्रबारलाई उनीहरू जुमा भन्छन् र त्यो दिन जुमा नमाज पढ्न प्राय अधिकांश पुरुषहरू मस्जिद जाने गर्दछन्। वास्तवमा पाकिस्तानमा मात्र नभई सम्पूर्ण इश्लामिक राष्ट्रहरूमा पनि शुक्रबार बिदा हुने गर्दछ।
भर्खरै पाकिस्तान पुगेको बेला इस्लामाबादको म अध्ययन गर्ने विद्यालय ‘इस्लामाबाद कलेज फर ब्वाइज’ जाने बाटोमा पर्ने सिराज कभर्ड मार्केटमा अवस्थित मासु पसलहरूमा गाईको मासु झुण्डाएर राखेको देखेर मन निकै दुःखी हुने गर्दथ्यो।
त्यहाँ गाईको मासुको लसपस हुन्छ भनेर हामी इस्लामाबादको उत्तरमा अवस्थित हरिपुर भन्ने गाउँबाट बोकाखसीको मासु मगाउँथ्यौँ। इस्लामाबाद पनि महाभारत पर्वत श्रृंखलामा नै पर्ने भएकोले उत्तरतर्फ कता कता काठमाडौँ जस्तै नै देखिन्छ।
तर यो निकै योजनावद्ध तवरले बनेको शहर भएकोले काठमाडौं भन्दा निकै सुन्दर र हराभरा छ। तर गर्मीमा अधिक गर्मी र जाडोमा पनि निकै जाडो हुने शहर। काठमाडौंमा हामी केटा र केटी दुबै पढ्ने (कोएजुकेशनल) स्कूलमा अध्ययन गरिरहेका विद्यार्थी, त्यहाँको केटाहरू मात्र अध्ययन गर्ने विद्यालयमा पढ्न जाँदा निकै खल्लो महसुस हुने गर्दथ्यो। तर कडा अनुशासन र उच्चस्तरको पढाई भएकोले ज्ञानको दायरा भने त्यहाँ केही वर्ष अध्ययन गरेपछि निकै बढ्यो।
त्यतिबेला नेपालमा नयाँ शिक्षा योजना लागू भएको र नेपाली भाषामा नै अधिकतम विषयहरूको अध्यापन हुने भएकोले हाम्रो अंग्रेजी भाषामा त्यति राम्रो दखल थिएन। त्यसैले शुरु शुरुमा त्यो विद्यालयमा टिक्न निकै गाह्रो भयो, तर एकजना बंगाली शिक्षकले घरैमा आएर केही महिना अंग्रेजी, विज्ञान र गणितको ट्युसन पढाए पछि भने म निकै टाठोबाठो हुन पुगेँ।
आज हाम्रो मुलुकका राजनैतिक नेता तथा अन्य बुद्धिजीवि भनाउँदाहरू नेपालका शहरी विद्यालयहरूमा अंग्रेजी माध्यमबाट अध्यापन हुने गरेकोले एसईईमा सधैँ गाउँका विद्यार्थीहरू अंग्रेजी र गणितमा कमजोर भएकोले अनुत्तिर्ण वा कम मात्रामा उत्तिर्ण हुन्छन् भनेर नेपालको शिक्षा प्रणालीलाई दोष दिन्छन्।
तर नयाँ शिक्षा योजनालाई समयसापेक्ष सुधार गर्दै लग्नुको सट्टा पञ्यायती व्यवस्थाले लादेको शिक्षा प्रणाली भन्दै जनआन्दोलन पश्चात् डाडु–पन्यौ आफ्नो हातमा आउने वित्तिकै यिनैले यो शिक्षा प्रणालीलाई खारेज गराई दिए। अमेरिका, भारत र संयुक्त राष्ट्र संघ तथा नेपालका पनि धेरै शिक्षाविद्हरूको संयुक्त प्रयासमा विकास गरिएको नयाँ शिक्षा योजनाको सह्राहना धेरै देशले गरेका थिए।
काठमाडौँको रत्नपार्क नजिकका दुई मस्जिदमा पनि दिउँसोको समयमा जुमा नमाज पढ्नेहरूको शुक्रबारको दिन निकै भिड लाग्ने गर्दछ भने नेपालका मुसलमानहरूको बाहुल्यता रहेका गाउँ-शहरमा पनि शुक्रबारको नमाजको कारण विशेष चहल पहल हुने गर्दछ। हिजोआज मुसलमानहरूले विभिन्न चाडपर्वमा खाने खानाका परिकार पाइने रेष्टुरेन्टहरू पनि धेरै खुलिसकेका छन्।
नेपालका हिन्दू-बौद्ध र मुसलमानहरू बीच निकै राम्रो धार्मिक सहिष्णुताको प्रदर्शन हुने गरेको छ। कलेजमा पढ्ने भएपछि हामीमा वयश्कपना पनि सवार हुँदै गयो। शनिबारको दिन कलेज बिदा हुने भएकोले लडकीहरूसँग भेट नहुने हुँदा शुक्रबार विभिन्न बहानामा हामी धेरै बेरसम्म भेटघाटमा रहने विभिन्न बहाना बनाउँथ्यौँ। त्यतिले नपुगेर शनिबार बिहान त पशुपतिनाथको मन्दिरमा गएर दर्शन गर्नुपर्छ र त्यतै चिया गफ गरेर घर फर्कौंला भनेर कतिपय संगीहरूलाई उक्साउँथ्यौँ।
शनिबार पशुपतिनाथको मन्दिरमा जानु पनि भगवानको दर्शन गर्न भन्दा लडकी हेर्ने र विभिन्न उत्पात गर्ने अवसरको रूपमा लिन्थ्यौँ हामी। बिहानभर पशुपतिनाथको मन्दिर परिसरमा नेत्रपान गरेर र हावा गफ गरेर वनकाली तथा गुह्यश्वरीको मन्दिरको दर्शन गर्न जान्थ्यौँ। घर फर्कनु अघि हामी गौशालाको चोकमा आएर चिया गफमा व्यस्त हुने गर्दथ्यौँ। यस्तो उत्पातको निम्ति प्रत्येक शुक्रबारको दिन योजना बन्दथ्यो।
कलेजमा पढ्दाको बखतमा नै हामी बेला बेलामा शुक्रबारको दिनमा नै काठमाडौंबाट टाढाका त्रिशुली, पाँचखाल, धुलिखेल, बनेपा, पनौती, नगरकोट आदि ठाउँमा रात बस्ने गरी जाने गर्दथ्यौँ र भोलिपल्ट बेलुकीपख मात्र घर फर्किन्थ्यौँ।
पछि स्नातकसम्मको पढाई सकेर हामीमध्ये धेरै साथीहरू जागीर खानुको साथै त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा अध्ययन गर्न थाल्यौँ। पढाई र जागीर, दुईतिरको धपेडीको चापले हामीलाई कहिले शुक्रबार आउँछ भन्ने प्रतिक्षा रहन्थ्यो। जागीरे भएर मासिक आम्दानी हातमा पर्न थालेपछि हामी मद्यपान गर्ने पनि भइसकेका थियौं। त्यसैले शुक्रबारको साँझ साथीहरूसँग जमघट गरेर जाँड-रक्सी धोक्ने र आधारातसम्म विभिन्न अखडा धाउने गरेर घर आए पछि बिहान हामी निकै थकित भएका हुन्थ्यौँ। तर शुक्रबारको मज्जा तथा शनिबारको बिदाले गर्दा मन प्रसन्न भइरहन्थ्यो।
राति अबेलासम्म बाहिर डुलेर कुफत खाइवरी घर आएपछि आमाले भान्सामा पकाएर राखिदिएको खाना खान पेटमा ठाउँ नै नहुने भएकोले सिधै कोठामा गएर सुत्थ्यौँ। भोलिपल्ट शनिबार आमा भान्सामा बसेर खाना फ्याँक्ने बिग्रेका केटाहरू भनेर निकै गाली गर्नुहुन्थ्यो। पछि पछि त आमाको डरले पेट भरिएको बेलामा पनि राति घर आएर कोचेरै भए पनि खाना खाइन्थ्यो। केही साथीहरूले त्यस्तै हुने भएर सुटुक्क खाना अखबारमा पोको पारेर दोबाटोका कुकुरलाई दिँदा रहेछन्।
कति दुःख गरेर बाबुआमाले छोराछोरीको निम्ति भनेर तयार गरेको खाना लुकिछिपि घर बाहिर लगेर फ्याँक्ने गर्नु कति नादानीपूर्ण काम थियो। आज सोच्दा निकै दुख लाग्छ।
२०४६ सालको प्रजातन्त्रको आगमनसँगै प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने घोषणा गराए। यस्तो बिदाको निकै विरोध भएको भए पनि कर्मचारीको निम्ति यो एक प्रकारको बरदान सिद्ध भएको थियो।
एकदिन सरसफाई र परिवारसँग बस्ने तथा मठमन्दिर जाने र अर्को दिन बोनस बिदामा पप्लु खेल्ने दिनभरी। झनै शुक्रबार बेलुकी रमाइलो गर्नेहरूको लागि त शनिबार अबेलासम्म सुत्ने छुट।
त्यसैले पनि शुक्रबार पुरै समय कार्यालयमा काम गर्न परे पनि दुई दिन बिदा हुने भए पछि शुक्रबारको महत्ता झनै बढ्न थाल्यो। यस्तो सप्ताहान्तमा यसो एकाध रात सपरिवार घुमफिर गरेर घर फर्कन पनि पाइने।
आजको साइबर युगमा बैंकिङदेखि यावत सेवामुखी काम इन्टरनेटको माध्यमबाट नै गर्न सकिने भएकोले त्यस्तो हप्ताको दुई दिने बिदा आजको समयमा अझै सान्दर्भिक देखिन्छ। हप्तामा दुई दिन सरकारी कार्यालय र नीजि व्यवसाय बन्द हुने र अत्यावश्यक भौतिक सेवा मात्र खुल्ने बन्दोवस्ती हुन सके सडकमा हप्तामा दुई दिन भए पनि ट्राफिकको चाप कम भएर इन्धनको वचत तथा धुवाँ-धुलो कम हुने, कार्यालयहरूमा उर्जा तथा अन्य खर्चमा वचत हुने र कर्मचारी, विद्यार्थी तथा अन्य जनताको मनोवल पनि यथेष्ट आरामका कारण उच्च हुने थियो। यसो हुँदा आन्तरिक पर्यटनमा पनि बढावा हुने।
त्यतिबेला राजधानीमा मात्र परीक्षणको रूपमा थालिएको सो बिदाको प्याकेज राजा ज्ञानेन्द्रको सक्रिय शासनको बेला कटौती गरेर एक दिनको मात्र गरियो। किसुनजीको पालामा थालनी गरिएको यस्तो बिदाभन्दा पहिले देखि नै नेपालभरको न्यायपालिका र राजदरवारमा हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा हुने चलन थियो।
त्यसै पनि अधिकांश सरकारी कार्यालयमा हिजोआज पनि दिनमा दुई–चार घण्टा समेत धैर्यसँग काम गर्ने परिपाटी छैन भने ‘हाटा’ गर्ने चलन अझसम्म पनि उस्तै छ। ‘हाटा’ यानी हाजिर गरेर टाप कस्ने परिपाटीले सरकारी कार्यालय थलिएको अवस्थामा त्यतिबेला राजदरवारका कर्मचारीमा चाहिँ ‘हासु’ गर्ने चलन थियो रे।
राजदरवारका कर्मचारीहरू माथि नियमित निगरानी हुने तर काम खासै केही नहुने भएकोले त्यतिबेला राजदरवारका कर्मचारी ‘हासु’ गर्थे रे, यानी हाजिर गरेर टेबुलमा टाउको लडाएर सुत्थे रे। कति हाँस्नु।
२०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश शुक्रबार कै दिन भएकोले यो दिनले नेपालको आधुनिक इतिहासमा एक अति नै भयानक घटना घटेको दिनको रूपमा जनमानसमा एक प्रकारको निराशा र त्रास पैदा गरिरहन्छ।
आफ्नो घरबाट निकै टाढाको क्षेत्रमा कामको सिलसिलामा खटिँदा शुक्रबारको दिन सबै स्थानीय कर्मचारी आआफ्ना घरमा रमाइलो गर्न जाँदा हामी टाढाबाट काम गर्न पुगेका एक्ला कर्मचारीलाई निकै उराँठ लाग्ने गर्दथ्यो। त्यस्तो बेलामा आफू परिवारबाट टाढा बसेकोले अरु गर्ने काम केही नहुने भएकोले रक्सीको मात्रा झनै बढ्ने रहेछ।
आज आएर करिव करिव अवकासको जीवन व्यतित गर्न शुरु गरिसके पनि अझै पनि शुक्रबारको मोह र महिमा त्यत्तिकै छ मेरो मनमा। सोमबारदेखि शुक्रबार बिहानसम्म विभिन्न काम र लेखपढमा व्यस्त रहे पछि म शुक्रबारलाई फुर्सदिलो क्षणको रूपमा हाँसीखुसी व्यतित गर्ने गर्दछु तथा साँझको बेलामा शहरमा नेपालयको ‘पलेटी’ जस्तै कुनै रोचक सांगितिक कार्यक्रमको आयोजना भएको रहेछ भने सो कार्यक्रममा सहभागी हुने गर्दछु।
मद्यपान वा अन्य अम्मलको आदतबाट पनि अवकास लिइसकेको भएर स्कुटरमा सररर काठमाडौँका कम व्यस्त स्थानहरूतिर सवार हुँदै राम्रो कफी पाइने आफ्नो रोजाइको दोकानमा पसेर करिव दुई कप अमेरिकानो कफी पिएर आराम गरे पछि दिव्य आनन्दको महसुस हुन्छ। भोलिपल्ट र पर्सिपल्टको शनिबार र आइतबारलाई कसैसँग पनि नभेट्ने र सकेसम्म लेखपढबाट पनि टाढा रहने प्रणका साथ आरामी दिनको रूपमा लिने गरेको छु। जय शुक्रबार !!!
– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment