अदालती करुणाका लागि प्रसिद्ध न्यायाधीशको ८८ वर्षको उमेरमा निधन
वासिङ्टन। अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उनको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ।
सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गरेका थिए। साना कानूनी उल्लंघनहरूमा उनको सहानुभूतिपूर्ण दृष्टिकोणले उनलाई विशेष बनाएको थियो ।
‘प्यानक्रिएटिक क्यान्सरसँग लामो र साहसी संघर्षपछि परिवार र साथीहरूको घेरामा मेरा पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भएको समाचार साझा गर्दा म गहिरो दुःखी छु’, उनका छोरा डेभिड क्याप्रियोले बुधबार न्यायाधीशको इन्स्टाग्राम खातामा पोस्ट गरिएको भिडियोमा भने।
उनको परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बन्नुभएको’ र ‘मानवताको उत्कृष्ट उदाहरण’ भएको उल्लेख छ।
मंगलबार, अस्पतालको शय्याबाट स्वास्थ्यमा ‘गम्भीर समस्या’ आएको भन्दै उनले प्रार्थना माग्दै भिडियो पनि पोस्ट गरेका थिए।
सन् २००० मा सुरु भएको उनको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ मा ट्राफिक उल्लंघन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उनले देखाएको दयालु व्यवहारलाई दर्शाइएको थियो।
सो कार्यक्रमका क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भए। त्यहाँ प्रायः उनले संघर्षरत परिवारहरूको जरिवाना खारेज गरेको वा बालबालिकाहरूलाई आफ्ना आमाबाबुको सजाय निर्णयमा सहभागी हुन दिएको देखिन्थ्यो।
उनले सामाजिक सञ्जालमा लाखौँ अनुयायी प्राप्त गरे। तिनीहरूले उनलाई ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर सम्बोधन गरे।
क्याप्रियोले ‘कम्प्यासन इन द कोर्टः लाइफ–चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज’ शीर्षकमा आत्मकथा पनि प्रकाशित गरेका थिए।







डिसी नेपाल







Facebook Comment