मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल
जनकपुर। मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ।
यसै सन्दर्भमा प्रदेश जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, निति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा विशेष छलफल भएको छ।
सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्नु रहेको आर्थिक सल्लाहकार बैधले जानकारी दिए।
सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसरहरू प्रस्तुत गरिने तयारी भएको छ।
यस्तै, प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित भई स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुने, धार्मिक-सांस्कृतिक सम्पदा संरक्षणसँगैपर्यटन प्रवद्र्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ।
प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेश प्रदेशको दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्त्वपूर्ण अवसर हुनेछ। यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, संघीय सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारबीच सहकार्यमा कार्यक्रमलाई सफल बनाउने तयारी भइरहेको छ।







डिसी नेपाल







Facebook Comment