तीज : रमाइलोभित्र पीडा लुकाएर बाँच्नेहरुको कथा

डिसी नेपाल
१० भदौ २०८२ ९:१२
28
Shares

काठमाडौं। तीज भन्नासाथ छोरीचेलीहरुको मुहारमा उत्साह, रमाइलो र उल्लास झल्किन्छ। नयाँ साडी, रातो चुरा-पोते अनि गीत-संगीतसँगै नाचगान गर्ने र माइतीघर गएर रमाउने पर्वका रूपमा तीजलाई हेरिन्छ।

तर जीवन सबैको एउटै र एकनास हुँदैन। कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन।

त्यस्तै पात्रमध्ये खोटाङ दिक्तेल घरभई हाल ललितपुरमा चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी तिला मगर पनि हुन्। उनी तीजलाई फरक ढंगले सम्झिन्छिन्। लकडाउनदेखि नै उनी यही व्यवसायमा रमाइरहे्की छिन्। परिवारमा दुई छोरा, दुई छोरी भए पनि उनी एक्लै बस्छिन्।

‘बुढा(श्रीमान)को मृत्यु भएदेखि नै जीवन एक्लै बितेको छ,’ उनी भन्छिन्,‘छोरीहरूले कहिलेकाहीँ हेर्छन् तर बिहे भइसकेका छोरीसँग के माग्नु ? छोराहरूले त झन् खासै वास्ता गर्दैनन्।’

तिला दिदीलाई तीज भनेको अरुको रमाइलो मात्र हो। आफ्नै लागि भने त्यो नदिनु भएपनि हुने चाडझैं लाग्छ। ‘पैसा जम्मा गरेर साडी किन्ने त परको कुरा भयो, कोठा भाडा तिर्ने जति मात्र कमाइ हुन्छ,’ उनी भन्छिन्, ‘अहिले तीजमा अरुले सजिएर रमाइरहेको देख्छु, तर मलाई भने कुनै अर्थ छैन। आफ्नो भन्ने कोही छैन, कहाँ गएर के गर्ने ?’

माइतीघरमा पनि अब उनलाई कसैले सम्झिँदैन। ‘बुबा-आमा हुनुहुन्न, त्यसपछि ठूलोबुबा, कान्छोबुबा कसैले पनि बोलाउनु भएको थाहा छैन। माइती भन्ने ठाउँ नै छैन,’ भारी मनका साथ उनले आफ्नो पीडा सुनाइन्।

उदयपुर गाइघाटकी सन्जुदेवी चौधरीको पनि कथा उस्तै छ। उनी करिब २० वर्षदेखि काठमाडौंमा मकैं बेचेर आफ्नो जीवन गुजार्दै आएकी छिन्।

बाहिरबाट देख्दा अरु महिलासँगै उनी पनि दर खाने तयारीमा व्यस्त देखिन्छिन्, तर उनको मनभित्र भने अपूरो इच्छाले चिरा परेको छ। ‘हामीले पनि दिनकै दर खाइरहेका छौ। सहकारी, र मकै साउनीहरुले बोलाएका छन्। त्यही जाने तर पैसा नभएकाले खासै खर्च गर्न सकिँदैन। भाकल राखेर, भगवानलाई सम्झेर तीज मनाउने हो,’ उनी भन्छिन्।

तीजमा माइती जाने चाहना उनको मनमा प्रबल छ। तर, आमा-बुबा संसारमा छैनन्। भाइ बुहारीहरुले कहिल्यै सम्झिदैनन्। ‘आमा–बुबा हुँदा मात्र माइती हुन्थ्यो, अब त माइती भन्ने ठाउँ पनि छैन। तीजजस्तो चाडमा माइतीको याद आउँछ तर के गर्ने, केही गर्न सकिँदैन,’ उनी भन्छिन्।

तीजलाई समाजमा खुशी, भव्यता र एकताको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। तर सन्जुदेवी र तिलाजस्ता महिलाको कथा सुन्दा तीजको अर्को अनुहार देखिन्छ-पीडाको, एक्लोपना र अपूरो चाहनाको। वास्तवमा गरिबको चाडपर्व नआउने रहेछ भन्ने संकेत पनि गर्छ।

आर्थिक सम्पन्न परिवारका छोरी-चेलीले नयाँ भेषभूषा र मीठा परिकारसहित गीत-संगीतमा रमाइलो गर्छन्। माइती जाने, साथी भेट्ने र हृदय हल्का पार्ने अवसरका रूपमा तीजलाई प्रयोग गर्छन्। तर दुःखसँग जीवनको हरपल बिताइरहेका महिला तीज नआउने भएपनि हुने चाडजस्तो अनुभव भने अवश्य गर्छन्।

सन्जुदेवी र तिलाको जीवनमा साझा कुरा के छ भने-समाज र आफन्तबाट पाएको बेवास्ता। सन्जुदेवी भन्छिन्, ‘आफ्ना भाइ-बुहारीले कहिल्यै बोलाउँदैनन्।’ तिला भन्छिन्, ‘छोराहरूले वास्ता गर्दैनन्, छोरीहरूको त आफ्नै संसार छ।’

यी कथाहरु केवल व्यक्तिगत पीडा मात्र होइनन्, समाजमा अझैपनि चेलीहरूको अवस्था कस्तो छ भन्ने कठोर वास्तविकता हो। जबसम्म छोरी-चेलीलाई बराबरीको सम्मान र अपनत्व दिइँदैन, तबसम्म तीजजस्ता पर्वमा आधा समाज मात्र रमाउनेछ, बाँकी आधा त पीडाभित्रै डुब्नेछ।

तीजलाई केवल साडी, चुरा, पोते, नाचगान र दर खानेलाई मात्र सीमित गरेर बुझ्दा यसले सबैलाई समेट्न सक्दैन। तीजको वास्तविक अर्थ हो-चेली चेलीबीचको माया, परिवारबीचको आत्मीयता, र दुःख-सुख साट्ने अवसर।

सन्जुदेवी र तिलाजस्ता महिलालाई पनि त्यो अपनत्व महसुस गराउने हो भने, समाजले तीजलाई फरक ढंगले व्याख्या गर्नुपर्ने देखिन्छ। तीजमा रमाउने मात्र होइन, रमाउन नसक्ने चेलीको पीडा बुझ्न सक्ने संस्कार बनाउन जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.