बागलुङ चिनाउने पुस्तक ‘बादलमुनि बागलुङ’ सार्वजनिक
काठमाडौं । लेखक एवं व्यवसायी भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनि बागलुङ’ सार्वजनिक भएको छ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक न्यौपानेकी आमा पल्लबी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।
कार्यक्रममा शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए। ५० को दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने, ‘उद्धमशीलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान व्यक्तिका रूपमा लिन्छु भीमजीलाई।’
कुनै समय बागलुङको चिरपानीको भोजमा जाँदा आफू हुर्किएको गाउँ पुगेको अनुभूति सुनाएका शाहले पुस्तक अनेकन विशेषता बोकेको बताए। ‘म जुनसुकै किताबलाई सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु। सिनेमा मबाट अलग गरिदिएमा म म नै हुँदिनँ र यो किताब पढ्दा सिनेमा हेरेजत्तिकै भयो,’ उनले भने।
बादलमुनिको बागलुङलाई शाहले बागलुङको सेरोफेरोमा मात्रै नभएर सिंगो नेपालको दृष्य आँखामा आउन किताबमा रूपमा लिएको पनि बताए।
लेखक नयनराज पाण्डेले लेखक भीमलाई च्याप्टर बाई लेख्न सुझाव दिएको स्मरण गर्दै भने, ‘यो किताबबाट म प्रभावित हुनुको कारण आममान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दो रहेछ।’
त्यसैगरी, पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा अभियन्ता राधा पौेडलले कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्नका लागि नयाँ पुस्ताले च्याट जिपिटीभन्दा पनि यो किताब पढे हुने सुझाव दिइन्।
उनले थपिन्, ‘पुस्तकले आममान्छेको अभाव र संघर्षको कथा भन्छ र आममान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्नुपर्छ।’ कार्यक्रमको अध्यक्षता गरेका कवि तथा लेखक एलबी क्षेत्रीले पुस्तक मानवीय संवेदनाले भरिएको बताए।
लेखकका साथै चलचित्र निर्मातासमेत रहेका भीमले ‘बाटोमुनिको फूल–२’, ‘दोख’, ‘सुनकेशरी’जस्ता फिल्म निर्माण गरेका छन्। अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका उनी ट्राभल व्यवसायी पनि हुन्। किताब किरोले प्रकाशन गरेको पुस्तकको मूल्य ७९५ रुपैयाँ छ।







डिसी नेपाल








Facebook Comment