एएनएद्वारा ४२औँ नेपाली अन्तर्राष्ट्रिय सम्मेलन २०२५- क्यानडाको क्याल्गरीमा सम्पन्न
क्याल्गरी (क्यानडा)। अमेरिकामा स्थापित ऐतिहासिक संस्था Association of Nepalis in the Americas (ANA) ले गत अगस्त २२ देखि २४ सम्म क्यानडाको अल्बर्टा प्रान्तीय राजधानी क्याल्गरीस्थित Glenmore Convention Centre मा आयोजना गरेको ४२औं नेपाली अन्तर्राष्ट्रिय सम्मेलन २०२५ भव्यताका साथ सम्पन्न गरेको छ।

सन् १९८३ मा स्थापना भएको ANA, अमेरिकाभित्र मात्र नभई सम्पूर्ण विश्वव्यापी नेपाली प्रवासी समुदायलाई एउटै छातामुनि ल्याएर सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र परोपकारी गतिविधिमा संलग्न गराउने अग्रणी संस्था हो। यस संस्थाले ३७ वर्षपछि दोस्रोपटक क्यानडामा आयोजना गरेको सम्मेलनले प्रवासी नेपाली समुदायबीचको एकता, सहयोग र सहकार्यलाई नयाँ उचाइमा पुर्याएको छ।
सम्मेलन आयोजन समितिमा अध्यक्षमा खगेन्द्र अधिकारी, Patron तथा ANA का उपाध्यक्षमा सन्तोष राज दाहाल, Convenor तथा Joint Secretary मा कमल भट्टराई, Co-Chair मा श्रीमती कल्पना ढकाल र दिनेश घिमिरे रहेका थिए। समितिका अन्य सदस्यहरू, सहयोगी टोली र स्वयंसेवकहरूको सक्रियताले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न मद्दत पु-यायो।

उद्घाटन समारोहमा Convenor कमल भट्टराईले सहभागीहरूलाई स्वागत गर्दै समुदायको एकता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। ANA अध्यक्ष खगेन्द्र अधिकारीले संस्थाको ऐतिहासिक महत्व र उद्देश्यबारे प्रकाश पार्दै ANA विश्वव्यापी नेपालीको साझा थलो भएको स्पष्ट पारे। Patron तथा उपाध्यक्ष सन्तोष राज दाहालले ANA को उद्देश्यलाई “डायस्पोराबीच एकता र सौहार्द प्रवर्द्धन, नेपाली पहिचान र संस्कृतिको संरक्षण, तथा ज्ञानमार्फत सशक्तीकरण” रहेको बताए।
प्रमुख अतिथि डा. स्वर्णिम वाग्ले (प्रख्यात अर्थशास्त्री, International Policy Expert तथा नेपालका सांसद) ले दीर्घकालीन विकास, प्रवासी संलग्नता र नेपालको भविष्यप्रतिको दृष्टिकोणबारे विशेष मन्तव्य राखे।

उनले “प्रवासी नेपालीको भूमिका नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय पहिचानका लागि निर्णायक” रहेको उल्लेख गरे। त्यस्तै, क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले ANA जस्ता संस्थाले नेपाल–क्यानडा सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याइरहेको भन्दै प्रवासी नेपालीको योगदानको उच्च प्रशंसा गरे।
सम्मेलनमा सामाजिक, सांस्कृतिक, बौद्धिक र खेलकुद विविधता समेटिएका कार्यक्रमहरू प्रस्तुत गरिए। NRN नागरिकता र आप्रवासन नीतिबारे खुला बहस वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेको संयोजनमा सम्पन्न भयो।

Sustainable Development Forum ले दीर्घकालीन विकास, वातावरणीय सचेतना र प्रवासी लगानीबारे चर्चा गर्यो। Women Development & Empowerment Forum मा महिलाको नेतृत्व, सहभागिता र सशक्तीकरणबारे अनुभव आदानप्रदान भयो। Mental Health Session ले मानसिक स्वास्थ्यको महत्व र समर्थन प्राप्त गर्ने उपायबारे ज्ञान बाँड्यो। Youth Forum मा नयाँ पुस्ताको नेतृत्व र योगदानबारे विचार विमर्श गरियो।
डा. दिनेश धरेलको संयोजनमा रक्तदान कार्यक्रम मात्र नभई Importance of Blood Donation विषयमा जीवन बचाउने योगदान र सामूहिक जिम्मेवारीबारे पनि सन्देश दिइयो। साथै योग तथा वेलनेस कार्यक्रममार्फत सहभागीहरूले स्वास्थ्य र आत्मिक शान्तिको अनुभव पाए।

खेलकुदका विशेष कार्यक्रम अन्तर्गत गोल्फ टुर्नामेन्ट र फुटबल (साकर) टुर्नामेन्ट पनि सफलतापूर्वक सम्पन्न भए। फुटबल प्रतियोगिताले युवामाझ स्वास्थ्य सचेतना र खेलमैत्री भावना जगायो भने गोल्फ प्रतियोगिताले भेटघाट, सहकार्य र नेटवर्किङको अवसर प्रदान गर्यो। यी दुवै प्रतियोगिताले सम्मेलनलाई थप आकर्षक र यादगार बनायो।
सांस्कृतिक कार्यक्रममा नेपालकी वरिष्ठ गायिका मीना पोखरेल, गायक बुद्धि अधिकारी र गायक युवराज गुरुङले गीत–संगीत प्रस्तुत गर्दा उपस्थितहरू मन्त्रमुग्ध बने। मातृभूमि मेलोडी क्लबको पञ्चेबाजाले नेपालकै झल्को दिलाएर सबैलाई भावुक बनायो। परम्परागत झाँकी प्रदर्शन र स्थानीय कलाकारहरूको प्रस्तुति पनि विशेष आकर्षण बने।

यस सम्मेलनलाई सफल बनाउन स्थानीय सह–आयोजक र साझेदार संस्थाहरूको उल्लेखनीय योगदान रह्यो। तिनीहरूमा NRNA Canada, NCSC, CNCA, ANCC, NLSC, Sagarmatha Sports Club, Nepali Sanatan Saskritik Samaj, TOSS, Yakthung Chumlung Association of Calgary (YCAC), MGP Entertainment, Mithila Samaj Calgary, NEPSA, Calgary Nepali Church, NICASE, Kirat Rai Society of Calgary, Newah Society of Calgary, INLS, Tamang Society, LK Channel Calgary, Matribhumi Melody Arts तथा क्याल्गरीस्थित अन्य दर्ता भएका सामुदायिक संस्थाहरू रहेका थिए।

यस सम्मेलनमा ANA का Trustee, Advisor हरू अमेरिका, क्यानडा र युरोपबाट विशेष उपस्थित थिए। उनीहरूको सहभागिताले ANA को अन्तर्राष्ट्रिय सञ्जाल र प्रभावलाई झन् मजबुत बनाएको देखियो। यसले ANA लाई विश्वव्यापी नेपाली प्रवासी समुदायको साझा थलो र विचार विमर्शको प्रमुख मंचको रूपमा स्थापित गरिदिएको छ।

निष्कर्षमा भन्नुपर्दा, क्यानडामा सम्पन्न ४२औँ ANA नेपाली अन्तर्राष्ट्रिय सम्मेलनले सांस्कृतिक गौरव, सामाजिक एकता, खेलकुदी उत्साह र बौद्धिक आदान–प्रदानलाई नयाँ उचाइमा पुर्याएको छ। यसले उत्तर अमेरिकाभरिका नेपालीलाई एकै मञ्चमा ल्याउँदै भविष्यका लागि प्रेरणा र सहकार्यको नयाँ बाटो खोलेको छ। ANA अध्यक्ष खगेन्द्र अधिकारीका शब्दमा, “यो सम्मेलनले प्रवासी नेपाली समुदायलाई अझ नजिक ल्याएर विश्वमै नेपालीको पहिचानलाई मजबुत बनाएको छ।”
















Facebook Comment