सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
११ भदौ २०८२ १६:३३
28
Shares

बुटवल । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन्। चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको उनले बताए।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्ध रहेको बताए।

उनले चाडवाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी दिए। उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा जोड् दिए।

अहिलेको सरकार जनताको जीवन र जिविकाप्रति गम्भीर रहेको भन्दै उनले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बीनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवं रूपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले सिमावर्ती जिल्लामा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.