समानुपातिक समावेशी सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमा उनले समानुपातिक समावेशी प्रणालीको कारण अस्थिरता आएको उनीहरुको बुझाई रहेको भन्दै पार्टीका नेताहरु यो प्रणाली हटाउने कुरामा बढि केन्द्रीत भएको बताए।
उनले भने, ‘पार्टीका नेता, सांसदहरु बोलेको सुन्नुहुन्छ होला, उहाँहरुले समानुपातिक प्रणाली हटाउनु पर्छ, भनेर कराइ रहेका छन्। तर अहिले सम्म पार्टीका नेता केपी ओली, देउवा प्रचण्ड उहाँहरुलाई के महशुस भईरहेको छ भने समानुपातिक समावेशी प्रणाली हटाउन सकिँदैन, अहिलेलाई त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा छ।
संविधान संशोधन पनि यो कुरामा बढि केन्द्रीत छ। किनभने उनीहरुको बुझाई के छ भने संघीयता विरोधीहरु पनि त्यहीबाट प्रवेश गरिरहेका छन्। यो समानुपातिक समावेशी प्रणाली आएको कारणले गर्दा नेपालमा कहिले पनि स्थिरता नहुने भयो, भन्छन् उनीहरु तर स्थिरताको लागि पूर्ण समानुपातिकमा जानु पर्छ भनेर किन भन्न सक्दैनन।’
यस्तै, उनले स्थिरता भनेको निर्वाचन प्रणालीको मात्र कुरा नभई दलको व्यवहारको कुरा पनि भएको भन्दै प्रणालीमा सुधार गर्नुभन्दा अगाडि दलहरुको कार्यशैलीमा सुधार आउनु पर्ने बताए।
उनले भने, ‘स्थिरता भनेको निर्वाचन प्रणालीको कुरा मात्र होईन दलहरुको व्यवहारको कुरा पनि हो। उनीहरुको कार्यशैलीले पनि हो, मिलेर काम गर्ने हो भने स्थिरता भई हाल्छ नि। प्रणालीमा सुधार गर्नुभन्दा अगाडि दलहरुको कार्यशैलीमा सुधार आउनु पर्छ। समानुपातिक प्रणालीको वकालत दलहरुले किन गर्दैनन् भन्दा उनीहरुको मानसिकता त्यहाँसम्म पुगेको छैन, होइन भने समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो।’







डिसी नेपाल







Facebook Comment