पुस्तकालय दिवसको अवसरमा अन्तरक्रिया
काठमाडौं । प्रविधिको अतिक्रमणबाट पठन संस्कृतिलाई जोगाउन विगतमा भन्दा अझ सशक्त रूपमा काम गर्नुपर्ने बताइएको छ। १८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा राजधानीको पिपुल्स क्याम्पसमा आयोजित कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन्।
बदलिँदो परिस्थितिमा युग सुहाउँदो ढंगमा पुस्तकालयको प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको वक्ताहरुले बताएका हुन्। कार्यक्रममा वक्ताहरुले आफ्नो रुचिलाई पेशामा बदल्न, आफूले अंगालेको पेशामा सफल हुन, समाजमा सकारात्मक प्रभाव छोड्न पठन संस्कृति आवश्यक पर्ने बताए।
“यो काममा हामीलाई सहयोग गर्ने थलो भनेको पुस्तकालय हो,” क्याम्पस प्रमुख मनोज कुँवरले भने, “तर अहिले पुस्तकालय जाने संस्कृति नै हराउला कि भन्ने डर छ।” त्यही भएर क्याम्पसले पुस्तकालय दिवसको अवसरमा सचेतना जगाउन कार्यक्रम गरेको उनले जनाए। पाठ्यपुस्तक र पाठ्यक्रभन्दा बाहिरका प्राज्ञिक क्रियाकलापलाई पनि तीव्र बनाउने हेतूले कलेजले यस्तो अन्तरक्रिया गरेका बताउँदै क्याम्पसका सहायक प्रमुख रोजेश पण्डितले ‘पुस्तकालय जानु ध्यान केन्द्र जानु जस्तै’ भएको बताए। पुस्तकालय गएर नपढे पनि त्यहाँको शून्यता र भव्यतालाई महसुस गर्नसक्दा जीवनलाई सुसंस्कृति बनाउने आधार पाइने तर्क उनको थियो।

नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले देशभर ९२८ सार्वजनिक तथा सामुदायिक पुस्तकालय रहे पनि २२७ मात्रै सञ्चालनमा रहेको बताए। “सामुदायिक पुस्तकालयले पठन प्रवद्र्धन बाहेक महिला सशक्तीकरण र समाज रुपान्तरणमा सकारात्मक प्रभाव पारको छ,” उनले भने, “अब पुस्तकालयलाई ज्ञान र आनन्दको केन्द्र बनाउनुपर्ने चुनौती छ।” कार्यक्रममा पुस्तकालय विज्ञ जानकी कर्माचार्य, रेश्मा डंगोल, प्राध्यापक प्रमोद शर्मा, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, त्रिवि केन्द्रिय पुस्तकालयका विजय शर्माले पुस्तकालयका विविध आयामबारे चर्चा गरेका थिए।
विस १८६९ को भदौ १५ गते राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियममा लालमोहर जारी गरेका स्मरणमा नेपालमा भदौ १५ गते पुस्तकालय दिवस मनाइँदैछ। नेपाल पुस्तकालय संघको संयोजकत्वमा नेपालमा २०६५ सालदेखि दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।







डिसी नेपाल








Facebook Comment