रुद्र अधिकारी ‘निर्दोषी’ द्वारा डा. भट्टका लघुकथाहरूको शैल्याकृया
पुस्तकः आमा धरती बाबु आकाश
विधा: लघुकथासङ्ग्रह
लेखकः डा. पुष्करराज भट्ट
समीक्षक/समालोचक रुद्र अधिकारी ‘निर्दोषी’
भनिन्छ, चुनौतीले हामीलाई सृजनात्मक र नवीनतम मात्र बनाउदैन; हाम्रो ज्ञान, सीप र क्षमताको प्रयोग र परीक्षण गर्ने अवसर पनि प्रदान गर्दछ। दृढता, धैर्यता र आत्मविश्वासले जीवनमा आउने अनेकन चुनौतीहरूको सामना गर्न सकिन्छ ।
यस्ता बाधा, अड्चन, कठिनाई र परीक्षाहरुको जन्जिर तोड्न सके हामी बलियो र परिपक्व बन्छौ । जसले गर्दा, हामीले हाम्रो जीवनलाई अर्थपूर्ण र सफल बनाउन सक्छौ । चुनौतीबाट नयाँ ज्ञान, सीप, धारणा वा व्यवहार सिकाईको रूपमा प्राप्त हुन्छ । सिकाईको निरन्तर प्रक्रियाले हामीलाई अझ सिक्न र अगाडि बढ्न प्रेरित गर्छ ।
यही चुनौती र सिकाईको हुटहुटीले मलाई डा. पुष्करराज भट्ट द्वारा लिखित लघुकथासङग्राह पढ्ने अवसर प्राप्त भयो । नेपाली लघुकथामा विघावारिधि गर्ने प्रथम व्यक्तित्व डा.भट्ट द्वारा लिखित “आमा धरती बाबु आकाश” लघुकथासङ्ग्रह पढ्न पाउनुलाई मैले अवसर र सिकाईको रूपमा लिएको छु भने, उहाँको कृतिको समीक्षा गर्नु मेरा लागि ठुलो चुनौती रहेको छ । यो अवसर, सिकाई र चुनौतीको त्रिवेणीले लघुकथाको उनयनमा थोरै भए पनि योगदान पुगोस भन्ने हेतुले यहाँ डा. भट्ट को कृतिको समीक्षा गर्ने जमर्को गरेको छु ।
विषय प्रवेश
डा. पुष्करराज भट्ट द्वारा लिखित “आमा धरती बाबु आकाश लघुकथासङ्ग्रह” को प्रकाशक भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौँ रहेको छ भने आवरण कला विक्रम शिशिर (बाँके)ले गरेका छन । झट्ट हेर्दा आवरण कुनै उपन्यास वा यौन विषयक पुस्तक जस्तो देखिन्छ।
आमालाई धरती र बाबुलाई आकाशको रूपमा चित्रण गर्न आवरणमा अमृत शैली अपनाएको छ । नग्न जस्तो देखिन्छ आवरणले यो पुस्तक कतै अश्लील त छैन ? भन्ने प्रश्न पाठकमा उब्जिनु अस्वाभाविक हुने छैन ।
आमा र बाबु बीचको प्रेम तथा धरती र आकाशको सम्बन्ध देखाउने अर्थमा आवरण उपयुक्त छ भन्न सकिन्छ । पुस्तकको उचित मूल्य रु २५०/- रहेको छ । प्रकाशकीयमा अन्तर्गत केशबप्रसाद पराजुलीले लेखेका छन “डा. भट्ट नेपाली लघुकथाको आधिकारिक अध्येता हुनुहुन्छ ।
उहाँले नेपाली लघुकथामा सिर्जना, समालोचना, अनुवाद एवं संस्थागत कार्यका माध्यमबाट महत्त्वपूर्ण योगदान दिनुभएको छ । यो कृतिको प्रकाशनले हाम्रो प्रकाशन यात्रामा अर्को आयाम थप्ने कुरामा विश्वस्त छौँ ।” उक्त वाक्यांशले पाठकलाई लघुकथासङ्ग्रह पढ्न प्रेरित मात्र गरेको छैन लेखक र कृति दुवै उच्च कोटीको रहेको तथ्य उद्घाटन गरेको छ ।
लेखक परिचय अन्तर्गतत नवराज रिजाल लेख्छन “ बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वडा न ५, कुमालीमा माता राधिकादेवी भट्ट र पिता गोपालदत्त भट्टका सन्तानका रूपमा वि.सं. २०३२ असार ४ गते जन्मेका पुष्करराज भट्ट नेपाली साहित्यका सक्रिय र प्रतिभाशाली स्रष्टा हुन् ।
धनगढी उपमहानगरपालिका वडा नँ ५, हसनपुर, कैलालीका स्थायी बसोवासी भट्ट अहिले भाषा आयोगको सदस्यका रूपमा रहेका छन् । वि.सं. २०६७ मा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका भट्टले २०७० सालमा दर्शनाचार्य र २०७३ सालमा विद्यावारिधि गरेका हुन् ।
उनको पहिलो प्रकाशित रचना २०५६ सालमा कैलाली पुस्तकालयको मुखपत्र मालिकामा प्रकाशित ‘समय’ शीर्षक कविता हो । उनका विभिन्न विधाका एक दर्जनभन्दा बढी एकल कृति प्रकाशित छन् । लघुकथातर्फ कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२), एक थोपा सागरको (२०६४), मन्त्री र मास्क (२०८०), शिखरयात्रा (२०८०) र आमा धरती बाबु आकाश (२०८१) रहेका छन् । लघुकथासँग सम्बन्धित रहेर लेखिएको समालोचना कृति नेपाली लघुकथाका प्रवृत्तिहरू (२०७९) प्रकाशित भइसकेको छ । यस्तै निबन्ध, कथा, गजल, अनुसन्धान, समालोचना, बालकथासँग सम्बन्धित सात कृति पनि प्रकाशित भइसकेका छन् ।
यसबाहेक उनले लघुकथासँग सम्बन्धित रहेर विभिन्न पत्रिका एवं कृतिको समेत सम्पादन गरेका छन् । नेपाली साहित्यका क्षेत्रमा आख्यान र समालोचना उनको मुख्य विधा हो । उनले तीन दर्जन संघ- संस्थामा आबद्धता जनाएका छन् । देश-विदेशका चार दर्जन संस्थाबाट सम्मानित भइसकेका छन् ।
उनले लघुकथासँग सम्बन्धित रहेर एक/एक लाख राशिको अक्षयकोषसहित वि.सं. २०७१, पद्मा-रामचन्द्र लघुकथा सम्मान, वि.सं. २०७२, नेपाली वाङ्मय साधना सम्मान, वि.सं. २०८०, राधिका-गोपालदत्त लघुकथा सम्मान तथा वि.सं. २०८०, कर्मयोद्धा सृजन सम्मान प्राप्त गरेकाछन् ।”
उक्त परिचयले डा. भट्टको व्यक्तित्व, जीवनी र साहित्यिक योगदानको विस्तृत विवरण मात्र दिएको छैन उनि मार्फत साहित्यको इतिहास र विकासलाई बुझ्ने दस्ताबेजको रूपमा प्रस्तुत गरेको छ ।
लघुकथाको क्षेत्रका विशिष्ट व्यक्तित्व डा. भट्टको पछिल्लो लघुकथासङ्ग्रह कृतीको शीर्षक “आमा धरती बाबु आकाश” मा नजर पुग्ना साथ पाठकलाई यो कृती आमा र बाबु प्रति समर्पित छ भन्ने पूर्वानुमान गर्न बेर लाग्दैन ।
हुन पनि २८ वटा आमा र २८ वटा बाबु सँग सम्बन्धित कथावस्तुहरूलाई समेटेर ५६ वटा लघुकथाहरू यो सङ्ग्रहलाई पूर्णता दिइएको छ । आमालाई धरती र बाबुलाई आकाशको संज्ञा दिएर लघुकथाकारले सरल भाषामा अहिलेको “अल्फा” पुस्तालाई आमा बाबुको महत्वबारे शिक्षा दिनु लेखकको उद्देश्य देखिन्छ ।
यस अर्थमा यो लघुकथासङ्ग्रहको शीर्षक सार्थक भएको मान्न सकिन्छ । आमा धरती बाबु आकाश शीर्षक राखेर डा. भट्टले आमा बाबुको सम्मान मात्र गरेको छैनन, उनले आफूलाई एक कर्तव्यनिष्ठ सन्तान भएको परिचय समेत दिएकाछन्।
लैङ्गिक असमानताले जकडिएको नेपाली समाजमा यो कृतीले लैङ्गिक समानताको वकालत मात्र गर्दैन, आमा(महिला) र बाबु (पुरुष) बीचको सन्तुलन कायम गर्न समेत सक्षम देखिन्छ । डा. भट्टले नेपाली समाजमा बिधमान घटनाहरूलाई जस्ताको त्यस्ता अर्थात चट्ककै टिपेर कथानक बुनेका छन्।
उनि आमा-बाबु र सन्तान बीच संवाद, बाद-विवाद, वार्ता, द्वन्द्व, एकता र मेलमिलाप गराएर माया, सुभावना, संवेदना, आत्मिकयता, परनिर्भरता, सहारा, स्वतन्त्र जस्ता सुक्ष्म तर गम्भीर विषयहरूलाई सहज, सरल र सहज रूपमा प्रस्तुत गर्न सफल भएका छन । त्यसैले, यो कृती नेपाली लघुकथाको “अर्गानिक” कृतीको संज्ञा दिदा फरक नपर्ला ।
लघुकथाहरूको शैल्याकृया
आमा धरती बाबु आकाश लघुकथासङ्ग्रहको पहिलो लघुकथा हो, “गाँउमा आमा” । “आमालाई सँगै बसौ” भन्दा, मान्नुहुन्न । उहाँका आफ्नै तर्क
छन् भन्ने वाक्यांशबाट सुरु गरी “आमा हुनुहुन्छ, त्यसो भएर हामी आफ्नो गाउँ आउन पाएका छौ“, आफन्त भेटन पाएका छौ“ । आमासँग ढिपी नगर्नु न ।”छोरी बोलिन् ।” भन्ने वाक्यांशमा अन्य गरिएको छ । यो लघुकथाले आफ्नु गाउँ, ठाउँ र थातथलो प्रतिको प्रेम र महत्व आमा पात्र द्वारा देखाउन खिजिएको छ । लघुकथामा भनिएको छ, ” “मेरो सामर्थ्यले भ्याउँदासम्म गाउँमै बस्छु ।
आफ्नो थातथलो छोडेर बाहिर गएर बस्नु राम्रो होइन् ।” आमाले सबै“ यसो भनिरहनु हुन्छ । सामान्य विषयवस्तुलाई कथानक बनाइएको यो लघुकथाको उठान र अन्त्य विश्लेषण गर्दा न त सुरुवात कौंतुहलतापुर्ण देखिन्छ न त अन्य झड्कादार नै । संदेश भने गाउँ र गाउँको उत्पादन प्रतिको महत्व दर्साएको, सुन्दर छ ।
यो त प्रतिनिधि लघुकथा मात्र हो । यस बाहेक गाउँमा आमा, आमाको माया, पुनः आगमन, घर फर्केका पाइला, अनभिज्ञता, मान्छे, ममता, अनुकूलता, क्रोध, दुःख र प्रतिद्वन्द्वी लगायतका लघुकथाहरूले लघुकथाको बिधमान मान्यता “एक वाक्यमा, सम्भव भए संवादबाट सुरुवात गर्ने, वाक्यको उठान अचानक हुनु पर्ने, मध्यम भागमा द्वन्द्व सृजना भई उत्कर्षमा पुगेर विपरीत तथा झड्केदार अन्य गर्नु पर्ने ।” लाई अङ्गीकार गरेको पाइएन ।
अधिकांश लघुकथाहरु शिक्षामूलक र सन्देशात्मक छन तर लघुकथाहरूको विषयवस्तु, पात्र, परिभेष, कथानक, उत्कृष्ट भएर पनि सुरुवातमा पाठकलाई कौतूहलता जगाउन र अन्तिममा तरङ पैदा गर्न भने सफल भएको देखिँदैन ।
“सडक छेउकी आमा” लघुकथाको शीर्षक लामो छ भने लघुकथा पढ्दा मनोवाद जस्तो लाग्छ । प्रतिस्पर्धी लघुकथामा लेखक बोलेको देखिन्छ भने आमाको माया, सम्झना, देश अर्थात् आमा, मनोभाव,अर्ति लगायतका लघुकथाहरूमा अर्ती, उपदेश, ज्ञान, आदर्श र दर्शनको हावि भएको त होइन? भन्ने प्रश्न गर्ने ठाउँ भेटिन्छ । व्यस्तता, मान्छे, अपरिपक्व लगायत कतिपय लघुकथाहरूमा आख्यानको कमीले पढ्दा निबन्ध जस्तो लाग्नु अस्वाभाविक होइन ।
लघुकथाहरूमा एकातर्फ एउटै विषय, परिभेष दोहोरिएको पाइन्छ भने आर्को तर्फ एक भन्दा बढी आयाम पनि भेट्न सकिन्छ । नेपाली माटो, सुगन्ध र परिभेष भरिपूर्ण हुदा हुदै पनि तत्वका आधारमा केही सुधार्नु परे ठाउँ भने देखिन्छ । लघुकथा वाचाल र रागविरागको जस्तो सुरुवात अरू लघुकथाहरुमा गर्न सकेकोभए, सुनमा सुगन्ध हुने थियो ।
उनका केही लघुकथाहरू उत्कृष्ट र उच्चकोटिका छन । यहाँ केही नमुना वाक्य प्रस्तुत गरिएको छ ।
“भागबन्डा”मा उनि लेख्छन “आमाले एक दिन दुवै छोरालाई बोलाएर भनिन्, “तिम्रो बुवा र मैले कहिल्यै छोराछोरी बोझ भए भनेनौ“ । म अब बोझ भएँ । अब मलाई दुई टुक्रा पार अनि आफू खुसी बाँडेर लेउ ।” यो वाक्यांशले धन सम्पत्तिको पछि लाग्ने र आमा बुबालाई अपहेलना गर्ने वर्तमान पुस्तालाई आमा पात्रको माध्यमले चोटिलो प्रहार गरिएको छ र आमाको विद्रोही चरित्र देखाइएको छ ।
“फरक रूप”मा “मैले आफ्ना सन्तानका लागि समय दिनुपर्छ । म एक आमा हुँ । आमा हुनुको गौरवभन्दा ठूलो कुनै गौरव हुँदैन ।” भनेर आमाको महत्व दर्साइएको छ ।
अखबारमा लेखिएको थियो, “हाम्री परिपूज्य, आदरणीय
आमाको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने सम्पूर्ण
आत्मीयजन प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ“ ।” सन्तान हुदा हुदै पनि बेवारिसे भएर मुत्यृवरण गरेकी आमाको कथा मार्मिक ढङ्गले “सत्यको अनावरण” मा डा. भट्टले उतारेका छन ।
सन्तानको आवश्यकता पुरा गर्न नसक्दाको पिढा “वाहियात” शीर्षकको लघुकथामा पोख्दै डा. भट्ट लेख्ऱ्छन “कहिलेकाहीँ ऊ एउटा द्वन्द्वमा बाँच्छ, “आफ्ना छोराछोरीका आवश्यकता पूरा गर्न नसक्ने हरेक युगका बाबु वाहियात हुन् त ?”, डा. भट्टका यी र यस्ता अनेकन लघुकथाहरू उत्कृष्ट र कालजयी साबित हुन सक्छन ।
आमा, बुबा, महिला, गाउ, देश माटो, विद्रोह र प्रगतिको पक्षमा पर्खाल भएर उभिएका छन डा. भट्टका लघुकथाहरू । यो कृति पढ्दा प्रश्न उठ्छ, च्याट जिपिटी र अल्फा पुस्ताले व्याप्त वर्तमान परिशेषमा भट्टका लघुकथाहरू कतै पुरातन त भएनन्?
यो प्रश्न उठ्नु स्वभाविक पनि हो तर उत्तर पनि सहज छ- लघुकथामा यो नै उनको शैली र विशेषता हुनु पर्छ । समाजले बेवास्ता वा अनदेखा गरिएको सूक्ष्म गम्भीर विषयमा सरल तथा सरस तरिकाले लघुकथा सृजना गर्नु उनको सक्षमता र पृथकता देखिन्छ । उनले कुनै पनि लघुकथालाई न बढाई-चडाइ गरेका छन न त अस्वाभाविक तन्काएका नै ।
उनले लघुकथाहरूलाई परालको गुन्द्री बुने जस्तै गरी बुनेका छन । सबै लघुकथाहरू एकैनासका छन् । लाग्छ- उनका लघुकथाहरू कुनै खहरे खोला होइन, जसको न आउने जाने सङ्केत सिल्छ न बहावको गतिको अनुमान नै गर्न सकिन्छ ।
उनका लघुकथाहरू सागर सरी सलसल एकैनासले बगेकाछन । उनका लघुकथाहरू दर्शन, ज्ञान, शिक्षा र सन्देशले भरिपूर्ण छन । यसर्थमा यी लघुकथाहरू कुनै पनि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमका लागि पनि उपयुक्त देखिन्छन ।
ज्ञातव्य छ, हाम्रो समाजमा परिवारका स्वरूपहरू दुई प्रकारका हुन्छन । एकात्मक परिवार र संयुक्त परिवार । एकात्मक परिवारमा श्रीमान्, श्रीमती र उनिहरूका अविवाहित छोराछोरी मात्र बस्छन भने संयुक्त वा बृहत् परिवारमा; दुई वा यो भन्दा बढी पुस्ताका सदस्यहरू एउटै घरमा बस्छन्।
हजुरबा, हजुरआमा, काका, काकी, बडाबा, बडीआमा र उनीहरूका सन्तानहरू सँगै बस्ने गरेको नेपाली समाज; परिवारको ठुलो र सामूहिक संरचनाबाट क्रमशः सानो र स्वतन्त्र एकाइ हुदै एकल परिवार तर्फ उन्मुख हुदै गरेको वर्तमान परिभेषलाई प्रायजसो लघुकथाहरूमा छर्लङ्गै उतारिएको छ ।
उनका लघुकथाहरूले एकल परिवारमा निर्णय लिन र बसाई सराई गर्न हुने तथा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने कुरा उजागर गरेका छन । यसैगरी, संयुक्त परिवारमा भावनात्मक सम्बन्ध प्रगाढ हुने, आर्थिक, सामाजिक, सन्तानको रेखदेख गर्न सहज हुन्, वृद्ध-वृद्धालाई सहारा हुने साथै धर्म, संस्कार, कला, संस्कृति, परम्परा, पेशा, रीति र रिवाज एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन सहज हुनुका साथै संरक्षण र संवर्धन समेत हुने मानवशास्त्री र समाजशास्त्रीय दृष्टिकोणलाई डा. भट्टले दूर दराजका पाठकले बुझ्ने भाषा र शैली उतारेका पाइन्छ । यस मानेमा उनि अब्बल लघुकथाकार बन्न लायक देखिन्छन । प्रत्येक लघुकथामा उनी अग्रगामी, समुन्नत र प्रगतिशील बिचार राख्न चुकेका छैनन ।
डा. भट्टका लघुकथाहरू आमाबाबुको महत्व दर्साउन कोसेढुङ्गो साबित मात्र भएका छैनन, कथानकहरूले समाजको दर्पण देखाउन समेत सफल भएका छन ।
डा. भट्टको स्वीकारोक्ति छ “यस कृतिमा रहेका रचनामध्ये १ देखि २८ क्रमाङ्कका लघुकथा आमासँग सम्बन्धित छन् भने २९ देखि ५६ क्रमाङ्कका लघुकथा बाबुसँग सम्बन्धित छन् ।”
यसरी आमा र बुबालाई बराबरी तौलिन सफल डा. भट्टले लघुकथाको शीर्षक भने तिन थरी राखेका छन । ५६ वटा लघुकथाहरू मध्य एक शब्दका ३१, दुई शब्दका २३ र तीन शब्दले बनेका ३ वटा लघुकथाहरू यो पुस्तकमा समेटिएका छन्।
लघुकथा आफैमा लघु अर्थात् छोटो हुने भएकोले एक पदीय शीर्षकलाई उत्कृष्ट मानिन्छ । उनले यो मान्यतालाई पनि तोडेका छन । लघुकथामा कति शब्द सम्मको शीर्षक राख्न सकिन्छ भन्ने छलफलको विषय हुन सक्छ तर तत्कालको जुन लघुकथाहरूमा तीन वा दुई शब्द राखियो त्यो उपयुक्त छ की छैन त्यो मूल विषय हो ।
गाउँमा आमा, आमाको माया, पुनः आगमन, घर फर्केका पाइला, सडक छेउकी आमा, कलाको अन्त्य, मौनताको अन्त्य, कुमारी आमा, अन्तिम विकल्प ? देश अर्थात् आमा र सत्यको अनावरणमा एक शब्दको शीर्षक राखे पनि भाव नहराउने देखिन्छ ।
सिद्धान्त की स्वतन्त्र ?
लघुकथामा नै पहिलो पटक बिधावारीधि गर्ने व्यक्तित्वको कृती पढ्ने पाठकको आशा र अपेक्षाको परिधि फराकिलो हुनु स्वभाविक हो । त्यसैले पाठकले लघुकथाको विधमान सिद्धान्तको तराजुमा राखेर उनका लघुकथाहरूलाई पढ्ने र आफ्नु ज्ञानलाई पुनःपरीक्षण गर्दा उनका लघुकथाहरू सिद्धान्तको बन्धक भएर भन्दा स्वतन्त्र रूपमा लेखिएका छन । यसले पाठकलाई सिद्धान्तलाई पच्छ्याउने की स्वतन्त्र रूपमा लेख्ने भन्नेमा दुविधा सृजना गरेको छ ।
उनि जबरजस्ती लघुकथालाई सिद्धान्तको बाचामा राखेर कुनै कारखानाबाट एकैनासको बस्तु उत्पादन गर्ने तर्फ भन्दा पनि ज्ञान, शिक्षा, सन्देश र जनचेतना जगाउने तर्फ उद्धत देखिन्छन । उनको यो शैलीगत विशेषता नै देखिन्छ । जसले गर्दा कतिपय लघुकथाहरुमा पाठकलाई कथानक भेट्न हम्मे-हम्मे पर्छ । उनका लघुकथाहरूमा लघुकथा कम र निबन्धको हाबी बढी भएको हो की ? भन्ने टिप्पणी गर्नु अस्वाभाविक हुने छैन ।
निष्कर्ष
निष्कर्षमा भन्नु पर्दा डा. भट्ट लघुकथाका लक्ष्मीप्रसाद देवकोटा रहेछन । उनले लघुकथाहरू स्वच्छन्द रूपमा लेखेका छन्। लघुकथाका सिकारुहरू सिद्धान्त, तत्व आदी, मध्य, अन्य, कालखण्ड दोष, संवादबाट सुरुवात र संवादको भरपुर प्रयोग, एक वाक्यबाट सुरुवात र अन्त्य विपरीत भावमा, धेरै आयाम, बिस्तार र लेखक बोल्यो जस्ता विषयहरूमा गम्भीर भएर लागिरहेको वर्तमान निरपेक्षमा लघुकथाका विज्ञ डा. भट्टले आफ्नै शैलीमा यो लघुकथासङग्रह ल्याएका छन्।
एकातर्फ उनको कृतीले लघुकथाका मान्यताहरूलाई अक्षरस् पालना गर्नु पर्छ भन्ने मान्यता राख्ने पाठकहरूलाई दरिलो झापड दिएको छ, अर्को तर्फ विधमान मान्यतालाई अपनाउने की नमान्ने ? भन्ने चुनौती खडा गरेको छ ।
लघुकथा सैद्धान्तिक हिसाबले भर्खर भर्खर बामे सर्दै गरेको भए पनि लघुकथा लेख्ने, पढ्ने, सर्जक र पाठक दिन प्रतिदिन बढ्दै छन । यस्तो परिपेक्षमा एउटै विषय वस्तुका धेरै लघुकथा लेखिने र प्रसँग पनि मिल्ने अवस्था सृजना हुनु स्वभाविक हो ।
डा. भट्टले आमा र बाबुको विषयमा मात्र लघुकथासङग्रह प्रकाशित गरेर ठुलो चुनौती लिएको देखिन्छ । जसले गर्दा विषय, प्रसँग र परिशेष दोहोरीनुलाई स्वभाविक नमान्न सकिन्छ । रहयो, लघुकथाको अघोषित तर मान्दै आइएको वर्तमान मान्यता र सिद्धान्तको कुरा, आगामी दिनमा डा. भट्टले पनि अपनाउन सके पाठक, समीक्षक, साहित्यकार, अध्यायन र अनुसन्धानकर्ता सबैले लघुकथामा एकरूपता भएको महसुस गर्ने थिए की? यसका अलावा आगामी दिनमा, उनका लघुकथामा नवीनता, फरक विषय वा फरक प्रस्तुति आउने अपेक्षा राख्न सकिन्छ । प्रविधिको दृततर विकास सँगै लेखक भन्दा पाठक अगाडी बढिरहेको निरपेक्षमा एक कदम अगाडी बढेर साहित्य सृजना गर्नु पर्ने चुनौती प्रति सचेत रहन डा. भट्टलाई अनुरोध छ ।
लघुकथामानै आफ्नु गहन अनुसन्धान र विश्लेषण गरेर सोधपत्र लेखी विशेषज्ञता हासिल गरेको व्यक्तित्व डा. भट्टले लेख्नु भएको लघुकथासङग्रहको समीक्षा गर्नु सूर्यलाई मैनबत्ति देखाउनु सरह हो ।
यद्यपि, यस्ता किसिमका समीक्षा, टिप्पणी, बहस, छलफल, चर्चा र परिचर्चाहरूले ज्ञानको दयार मात्र फराकिलो बनाउदैन नयाँ विचार तथा सिद्धान्तको खोज र अनुसन्धानमा समेत टेवा पुर्याउने भएकोले यसको महत्व छ।
स्वीकारोक्तिमा उनले लेखेका छन “यो कृति कतिको प्रभावकारी हुन्छ ? यो विषय साहित्यिक पाठकमा छोड्नुबाहेक मसँग कुनै विकल्प छैन । म आफ्नो सृजनात्मक लेखनमा निरन्तर लागिरहने प्रण गर्दछु ।” सृजनात्मक लेखनमा चलेको उनको कलमको मसी नसकियोस, शुभकामना ।
















Facebook Comment