माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

डिसी नेपाल
१६ भदौ २०८२ १८:३७
120
Shares

वीरगन्ज। माग गरिएको सूचना नदिएपछि सोमबार दिउँसो स्थानीयले पर्साको धोवनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। गत आर्थिक वर्षमा पालिकाले विकास कार्यमा गरेको खर्चको विवरण माग गर्दा पालिकाले उपलब्ध नगराएको भन्दै दिउँसो साढे एघार बजेपछि स्थानीयले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले सूचना अधिकार प्रयोग गर्दै गाउँपालिकाबाट विकास निर्माणमा भएको खर्चको प्रमाणित विवरण माग गरेका थिए। तर, माग गरिएको सम्पूर्ण विवरण कार्यालयले उपलब्ध नगराएपछि तालाबन्दी गरिएको स्थानीयले बताएका छन्। तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै घेरिएका छन्।

यस विषयमा बुझ्दा अध्यक्ष चौहानले सुनिल साहलगायतका व्यक्तिले माग गरेको सूचना कार्यालयले उपलब्ध गराएको दाबी गर्दै राजनीतिक आग्रह–पूर्वाग्रहका कारण आफूलाई बदनाम गर्न तालाबन्दी गरिएको टिप्पणी गरे। उनले भने, ‘माग गरिएको सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारी मध्य दश जनालाई कार्यालयमा बोलाउँदा पनि वार्तामा नआइ बाहिर होहल्ला गरिएको हो।’

कार्यालय परिसर बाहिर केही व्यक्तिले प्रदर्शन गरेपनि आफू सहितका कर्मचारीहरू भित्र सुरक्षित रहेको जानकारी अध्यक्ष चौहानले दिए। उनका अनुसार सुरक्षा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ। गत आर्थिक वर्षमा भएका विकास निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयहरूले प्रदर्शन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.