वडाको सुविधा काठमाडौंबाट पाएपछि वृद्धवृद्धा खुसी

डिसी नेपाल
१९ भदौ २०८२ १६:०८
116
Shares

काठमाडौं। चारवर्ष पहिले नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीबाट काठमाडौंमा आएर बसेका ८६ वर्षीय खोपप्रसाद पाण्डे काठमाडौंबाटै वृद्धभत्ताको कार्ड नविकरण गर्न पाएपछि खुसी छन्।

सरकारले सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाका लागि अनलाइन प्रक्रियाबाट वायोमेट्रिक प्रणाली अनिवार्य गरेसँगै वृद्धभत्ताका लागि वडा कार्यलयमा अनिवार्य जानुपर्ने बाध्यताबीच वडाले काठमाडौंमा आएर वृद्धभत्ताको नविकरण गरिदिएपछि उनी खुशी छन्।

‘गाउँमा जान समस्या हुन्थ्यो, वडा कार्यालयले हामीलाई खोजेर यहीँ आएर सेवा दिएकोमा सारै खुशी लागेको छ’, उनी भन्छन्। यस्तै, सुनखानीकै १०४ वर्षीय देवकुमारी पाण्डेले पनि काठमाडौंबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गरिन्। उमेरले सबैभन्दा बढी उनी काठमाडौंबाटै सेवा लिन पाएकोमा खुशी देखिँथिन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ की सावित्री थापा काठमाडौंको साङ्लामा बस्छिन्। उनी काठमाडौंबाट आफ्नो सेवा पाएकोमा खुशी छन्।

नुवाकोटको शिवपुरी गाउँपालिकाका–६ र ७ ले आज काठमाडौंको टोखाबाट आफ्ना वडावासीले सेवा प्रदान गरेको छ। वडा नं ६ ले टोखाको ग्रीनल्याण्ड र वडा नं ७ ले बानियाटारस्थित विआर इलेक्ट्रिोनिक्सबाट आफ्ना नागरिकलाई सेवा प्रदान गरेका हुन्।

वडा नं ६ का वडाअध्यक्ष विष्णु श्रेष्ठ काठमाडौं बसेका आफ्ना ज्येष्ठ नागरिकको सहजताका लागि काठमाडौंमै आएर वडाको सेवा प्रदान गरिएको बताउँछन्। ‘वडाभित्रका १० ठाउँमा घुम्ती सेवा सञ्चालन गरेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरेका थियौँ, आज काठमाडौंमा बसेका आफ्ना वडाबासीलाई उक्त सेवा प्रदान गर्न यहाँ आएका छौँ,’ वडाध्यक्ष श्रेष्ठ भन्छन्।

वडा नं ७ का वडाध्यक्ष वीरबहादुर तामाङ हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाको सेवा काठमाडौंमा आएर प्रदान गरिएको बताउँछन्। ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताको नविकरणका अलावा दुबै वडा आज एक दिन विवाह दर्ता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको सेवा काठमाडौंबाटै प्रदान गरेका छन्। वडा नं ६ बाट ७५ र वडा नं ७ बाट ६० ज्येष्ठ नागरिकले सेवा लिने विश्वास ती वडाले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.