झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु

डिसी नेपाल
१९ भदौ २०८२ १९:४५
88
Shares

इटहरी। सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ। कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ।

बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो। जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिए।

यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो।

हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन्। सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जनाएको छ।

निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.