हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ: राष्ट्रपति पौडेल

डिसी नेपाल
२० भदौ २०८२ १७:५३
20
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

‘विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ’, राष्ट्रपति पौडेलले भने।

देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास गर्छ भने। साथै, उत्तरदायी, जवाफदेही र निर्णय क्षमता अभिवृद्धिबाट आफू, देश र जनताको हितमा समर्पित हुने ऊर्जा शिक्षाले दिने उनको भनाइ थियो।

मुलुकमा राजनीतिक परिवर्तनपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवं सूचना प्रविधि, सडक, पूर्वाधार, जलविद्युत् र ग्रामीण क्षेत्रको विकासमा प्रगति भएको बताउँदै उनले यही लोकतान्त्रिक शासन प्रणालीले निर्वाध स्वतन्त्रता मात्र होइन विकास, भरोसा र प्रगतिको उज्यालो देखाएको छ भने।

‘सच्चिने, सिंहावलोकन गर्ने अनि अगाडि बढ्ने उच्चतम अवसर यही शासन प्रणालीले निःसृत गरेको छ, हामीले निराशा, गुनासा र असन्तुष्टि त्याग्नै पर्छ। अनि सुशासनको माध्यमबाट आशा, भरोसा, प्रगति र विकासको एउटा अविराम यात्रालाई सबै मिलेर पूरा गर्नु हामी सबैको साझा दायित्व हो’, राष्ट्रपति पौडेलले भने।

उनले युग निर्माणको यो युगिन अवसरबाट हामी चुक्न हुँदैन भन्दै त्यसको लागि आवश्यक योजना, उपयुक्त नीति, स्वप्नदर्शी नेतृत्व र जनता केन्द्रित सरकारका कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गरे। “त्यही अनुसारको शिक्षा दिएर सक्षम, योग्य र उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्दछ, नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुन दृष्टि यसैमा केन्द्रित होस् भन्ने म चाहन्छु’, उनले भने ।

उनले शिक्षा प्राप्त गर्नु भनेको केवल ज्ञान प्राप्त गर्नु मात्र हैन, यसले जीवनको आदर्शलाई उच्च बनाउनुपर्छ भने। ‘न्याय, निष्ठा, नम्रता, स्वाभिमान, स्वतन्त्रता, मानवता, प्रेम, सेवा, करुणा जस्ता मानवीय गुणका शास्वत र अनन्त स्वरूपलाई धारण गर्दै सार्थक जीवन जीउने कला सिकाउनुपर्दछ। असल र गुणस्तरीय शिक्षाबाट नै मानव जीवनको सार्थकता प्रमाणित गर्न सकिन्छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.