बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
हेटौंडा। चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको छ।
बागमती प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत ९ गते प्रदेशको चेपाङबहुल जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्ष भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो।
बागमती प्रदेश सरकारले चेपाङको छोनाम पर्वको अवसरमा विगत दुई वर्षदेखि भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार उक्त बिदा दिने निर्णय गरिएको हो।
चेपाङ समूदायको बाक्लो बसोबास भएका जिल्लाहरुमा नुवागी पर्वको अवसरमा बिदा दिइएको उनको भनाइ छ।
चितवन जिल्लामा १८ हजार १ सय पुरुष र १७ हजार ५ सय ३७ महिला गरी ३५ हजार ६ सय ३७ चेपाङ बसोबास गर्छन्। त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन्।
धादिङमा ८ हजार ६ सय ८७ पुरुष र ८ हजार ४ सय ७३ महिला गरी १७ हजार १ सय ६० जना चेपाङ बसोबास गरेका छन्। चेपाङ बहुल रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले भदौ २१, २२ र २३ गते तीन दिन सार्वजनिक बिदा दिएको छ।
नुवागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने गर्छन्। यो चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो।
यसैगरी नुवागी पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको शुभकामना दिएका छन्।







डिसी नेपाल








Facebook Comment