इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौं घाइते

डिसी नेपाल
२२ भदौ २०८२ २३:३६
12
Shares

जाकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधिकारी मोहमद आदम हमदानीले जानकारी दिनुभएको हो।

उक्त भवनमा करिब सय जना मानिस, मुख्यतः महिला, पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा कुरान पाठका लागि भेला भएका थिए। सोही समयमा भवन अकस्मात् ढलेको बताइएको छ।

“प्रारम्भिक विवरण अनुसार ८४ जनाको उपचार भइरहेको छ र ३ जनाको ज्यान गएको पुष्टि भएको छ,” अधिकारी आदमले बताए।

उनका अनुसार भवन सामुदायिक सभा तथा धार्मिक कार्यक्रमको लागि प्रयोग गरिन्थ्यो। अत्यधिक भिडका कारण भवनको संरचना कमजोर भएर भत्किएको अनुमान गरिएको छ।

“शायद भवनको संरचना बलियो थिएन, तर मानिसहरू अत्यन्त उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए,” उनले भने।

भवन भित्र रहेका सबै व्यक्तिको खोजी सकिएको बताइएको छ। अधिकांश घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको र उनीहरू सामान्य चोटपटकबाट प्रभावित भएको जनाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा वर्षा भएको थिएन र कुनै भूक्षय (पहिरो) को लक्षण पनि देखिएको थिएन।

इन्डोनेसियामा कमजोर निर्माण मापदण्डका कारण भवन दुर्घटनाको समस्या बारम्बार उठ्दै आएको छ। सन् २०२२ मा दक्षिण कालिमन्तानमा तीन तल्ले पसल भवन ढल्दा पाँच जनाको मृत्यु भएको थियो। त्यसअघि पनि जाकार्तामा पाँच तल्ले भवनको एक भाग भत्किँदा दुई जना घाइते भएका थिए।

सन् २०१८ मा जाकार्ताको पूर्वी क्षेत्रमा रहेको चिरेबोनमा संगीत अभ्यास गरिरहेका किशोरकिशोरीसहित ७ जनाको ज्यान गएको थियो। सोही वर्ष जाकार्तामा रहेको सेयर बजार भवनको माथिल्लो तलाको भाग खस्दा ७५ जना घाइते भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.