नाट्यशालाको आयोजनामा ‘एक चिहान’ नाटकको प्रज्ञामा मञ्चन

डिसी नेपाल
२३ भदौ २०८२ ११:४१
12
Shares

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ।

नाट्यशालाको प्रस्तुतिमा तयार गरिएको यस नाटकलाई रुपान्तरण तथा निर्देशन कलाकार तथा निर्देशक नकुल पौड्यालले गरेका हुन्।

उपन्यास ‘एक चिहान’ नेपाली साहित्यमा सामाजिक यथार्थ, वर्गीय विभेद र मानवीय संवेदनशीलतालाई गहिरो ढङ्गले उतारेको कृति मानिन्छ। यसै कथावस्तुमा आधारित नाटकले समाजमा विद्यमान अन्याय, असमानता, दमन र मान्छेको अस्तित्वको संघर्षलाई शक्तिशाली रूपमा प्रस्तुत ग¥यो। नाटकको कथा, संवाद र अभिनयसँगै प्रकाश, ध्वनि र संगीत संयोजनले पनि दर्शकलाई भावनात्मक रूपमा गहिरो जोड्न सफल भएको देखियो।

मञ्चनमा सहभागी कलाकारहरूले पात्रहरूको पीडा, संघर्ष र सपना यथार्थपरक ढङ्गले प्रस्तुत गरे। दर्शकदिर्घाले नाटकका दृश्यहरूमा आफूलाई नै प्रतिविम्बित भएको महसुस गरेको बताए।

साहित्यकार, रंगकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उपस्थितिमा प्रेक्षालय खचाखच भरिएको थियो। कार्यक्रममा बोल्ने समीक्षकहरूले ‘एक चिहान’लाई केवल मनोरञ्जन मात्र नभई समाजलाई आत्ममन्थन गराउने दर्पणका रूपमा मूल्याङ्कन गरे।

यसअघि बुटवल, चितवन र हेटौंडालगायत विभिन्न सहरमा करिब ५४ पटक मञ्चन भइसकेको यो नाटकले जहाँ जहाँ पुगेको छ, त्यहाँ उत्साहपूर्ण दर्शक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पछिल्लो प्रस्तुतिले यस नाटकको लोकप्रियतालाई अझ उच्च स्तरमा पु¥याएको आयोजकहरूको भनाइ छ।

निर्देशक पौड्यालका अनुसार, ‘एक चिहान’लाई शैक्षिक प्रयोजनसहित देशका विद्यालय तथा विश्वविद्यालयमा समेत लैजाने योजना छ।

नाटकमार्फत विद्यार्थीहरूले समाजशास्त्र, साहित्य र मनोविज्ञानसँगै नेपाली समाजको ऐतिहासिक पृष्ठभूमि प्रत्यक्ष बुझ्न सक्ने भएकाले यसलाई अध्ययन–अध्यापनसँग जोड्ने तयारी भइरहेको उनले बताए।

कार्यक्रमलाई सफल बनाउन निर्देशक, कलाकार, प्राविधिक टोली, संयोजक तथा स्वयंसेवकको उल्लेखनीय योगदान रह्यो। प्रकाश, ध्वनि र रंगमञ्चीय व्यवस्थापनमा गरिएको दक्षतापूर्ण प्रयासले सम्पूर्ण प्रस्तुति अझ प्रभावकारी बनेको थियो।

नाट्यशालाले आगामी दिनमा पनि यस्ता स्तरीय तथा शैक्षिक महत्वका नाटकलाई निरन्तर प्रस्तुत गर्दै नेपाली रंगमञ्चलाई अझ सबल बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएको छ। उक्त कार्यक्रमको संयोजन बेलकोटगढी नगरपालिकाका वडा २ का वडाअध्यक्ष रामचन्द्र तिमल्सिनाले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.