ओली सरकारको बर्हिगमनपछि युवा शक्तिको नयाँ सरकार
भाद्र २३, २०८२ को दिन नेपालमा अत्यन्त दुःखदपूर्ण दिन रह्यो। जेन जीका युवा समुहले देशमा भ्रष्टचार नियन्त्रण गर, सामाजिक संजाल खुला गर भन्दै सडकमा उत्रिएका थिए। उनीहरुको माग कुनै ठूलो थिएन यदि सरकार गम्भिर भइदिएको भए।
सरकारका प्रधानमन्त्री यी युवा युवतीलाई अरुले उचाले भनेर हल्कासँग टिप्पणी गरे। ती भर्खरका युवायुवती जो आफूले जानेबुझेदेखि नै फेसबुक ट्वीटर, युट्युव जस्ता सामाजिक संजालमा भुक्तभोगी भइसकेका थिए।
भ्रष्टचारले गाँजेको देशमा बेरोजगार भएर बस्नु पर्ने बिदेश जानु भन्दा अर्को बिकल्प नदेखेका युवायुवतीलाई सामाजिक संजाल पनि बन्द गरिएपछि घाँटी नै निमोठेको भान भएर उनीहरु निस्सासिएका थिए।
देशको प्रधानमन्त्रीले यी साना केटाकेटीको क्रन्दन बुझ्नै सकेनन् वा चाहेनन्। अनि उनका अत्यन्त बिश्वासपात्र प्रमुख सल्लाहकारले समयमा सही सल्लाह दिएनन्।
साथमा रातदिन रहने सुरक्षा अंग अनि राष्ट्रिय अनुसन्धानले समेतले युवाका यस्ता आन्दोलनले भविष्यमा के हुन सक्ला भनेर आँकलन गर्न पनि सकेको देखिएन।
युवा बिद्यार्थीको शान्तपूर्ण जुलुसलाई प्रहरीले सुरुमा कुनै रोकतोक गरेन ती विद्यार्थीले “नेताका छोरा गाडीमा, हामी युवा खाडीमा” भनेर मार्मिक नारा लगाएका थिए। दिउँसो हुनलाग्दा संसद भवनतर्फ लागेका युवाशक्तिमाथि प्रहरीले पानीको फोहोरा अश्रुग्यास तथा गोलि हानि एकैपल्ट अत्याउने कार्य गर्यो।
केही घण्टा भित्र सयौं युवायुवती घाइते भए धेरै मारिए। प्रहरी आफैं नियन्त्रण बाहिर पुगेको देखियो। हतियारधारीले संयमता गुमाएपछि एकै छिनमा धेरै बिद्यार्थी मारिए। कतिले भाग्ने मौकासम्मन पाएनन्।
यो त इराकमा मारिएका ११ जना नेपाली जस्ता अभागी भएर मारिए। जसको कुनै ठूला माग थिएन जसलाई सरकारले दिन नसकोस्। एउटा संसद भवनको कम्पाउण्डको पर्खाल भत्किँदा के बिग्रन्थ्यो?
त्यसलाई पहिला भत्काउन किन दिइयो र किन समयमा बिद्यार्थीलाई चेतावनी दिइएन? अचानक ड्याङ ड्याङलगातार गोली हानेर मार्ने आदेश किन दिइयो? मानिसको अमूल्य जीवन यति सस्तो बनाइयो नेपालमा? प्रशासन र प्रहरीले किन आफ्ना छोराछोरी सम्झेनन्? कि यो गोली हान्नेमा पनि घुसपैठ थियो?
सरकारमा बस्नेलाई के महसुस भएको छ भने हामीले जति नै भ्रष्टचार गरेपनि जति जनता मारेपनि हामीलाई कसैले केही गर्न सक्तैन भन्ने गलत भान भएको देखियो। जतिसुकै ठूला अपराध गरेपनि त्यो एकदिन कारवाहीको भागिदार हुनैपर्छ।
अफताव आलम जस्ता नरसंहार गर्नेलाई यही ओली सरकारले कारवाही गरेको होइन? गत चैत्र १५ गते तीनकुनेमा राजाबादीको आमसभा हुँदा हुँदै प्रहरीले सिभिलको घर माथि बसेर मन्चमा टियर ग्यास र गोली हानेर जनता भड्काउने कार्य गरि सयौंलाई गोली हानियो।
२ जना होनाहार युवा र पत्रकार मारिएका थिए। आगलागी लुटपाट हुँदा पनि निश्पक्ष न्यायिक आयोग गठन गरिएन। जसले गर्दा दोषी प्रशासक प्रहरी सबैलाई चोख्याइ केही विपक्ष दलका नेतालाई बिना कारण मुद्दा हालेर जेलमा कोचियो। यसरी गल्ती गर्नेलाई कारवाही चेतावनी नदिएर बचाउने कार्य गर्ने केपी ओलीको सरकारको यो ठूलो गल्ती थियो।
यसैको परीणाम हो हिजो भाद्र २३ गतेको प्रहरीले गरेको नरसंहार। उनीहरुलाई के भ्रम परेको छ भने सरकारलाई खुसी पार्न जति जनता मारेपनि उनीहरुलाई कुनै कारवाही हुँदैन बरु राम्रो पैसा कमाउने ठाउँमा पोष्टिङ हुन्छ र पदोन्नती हुन्छ भन्ने भ्रम मात्र पलाएको हुनसक्छ।
२३ गतेको घटना संसारले देखेको छ। शायद देशभित्र निश्पक्ष न्यायिका आयोग गठन भएर दोषीलाई कारवाही समयमा भएन भने बिदेशी हस्तक्षेप अवश्य हुनेछ र अन्तर्राष्ट्रिय अदालतको कारवाही नेपाली नेताले पनि भोग्नु पर्नेछ।
जसरी रुवाण्डालगायत देशमा धेरै मन्त्री प्रधानमन्त्री प्रशासक जेलमा पुगेका थिए। अहिलेका प्रधानमन्त्री अत्यन्त अलोकपृय मात्र होइन उनी हत्याको पृष्टभूमिबाट आएका हत्यारा नै भएका सावित भएका छन्।
कुनै दिन गृहमन्त्री हुँदा १ गोली नचलाए र राम्रो नाम कमाएका केपी ओली अहिले अत्यधिक गोली चलाएर निर्दोष जनता मार्ने खुंखार हत्यारा भएर जनता सामु चिनिएका छन्।
उनले समयमा राजीनामा दिएर बाहिर बसेर कारवाहीको भागीदार हुन तयार हुन पर्नेमा एकजना गृहमन्त्रीले मात्र राजीनामा दिएर उन्मुक्ति लिन खोजेको देखियो। त्यही भएर कफ्र्यु लगाएर जनतालाई दवाउने प्रयास मात्र गरिरहेका थिए।
अदालत लगायत सबै संघ संस्था बदानाम भइरहँदा पनि बदनाम नभएको सेना पनि बदनाम भएमा समस्त देशबासी झनै अन्योलमा पर्नेछन्। अब उस्तै पर्यो भने सेनाले सत्ता हातमा लिएर अहिलेको सरकारलाई बर्खास्त गरी निश्पक्ष बुद्धिजिवी राखेर सरकार बनाउन पर्ने अबस्था थियो।
त्यसपछि सबै दलसमेत मिलेर संबिधानका देश हितमा नभएका बिषय संशोधन गर्न आबश्यक छ। जसबाट देशका सबै दल संघ संस्था र जनता मिलेर सौहाद्रपूर्ण वातावरणमा देश अगाडि बढ्न सकोस्।
यो आर्टिकल लेखिसक्दा धेरै नेताका घर तोडफोड भए। केही प्रमुख नेता आन्दोलनकारीको पकडमा परेपछि कुटाइ पनि खाए। त्यसपछि प्रधानमन्त्रीले राजीनामा दिन बाध्य भए।
नयाँ सरकार बन्ने बाटो खुलेको छ। सेनाले धेरै मन्त्री तथा भूतपूर्ब मन्त्रीलाई हेलिकप्टरबाट इभाकुएट गरी नजिकको ब्यारेकमा सुरक्षाको लागि राखिएको बुझिएको छ।
अहिले प्रधानसेनापतिको कमाण्डमा देशको सुरक्षाको जिम्मा सेनाले लिएको छ। प्रधानसेनापतिको आह्वानमा जेन जीसँग वार्ता गर्ने पहल भइरहे पछि भर्खर वार्ता सुरु भएको छ। जेन जी को प्रस्ताब अनुसार हालको प्रतिनिधिसभा बिघटन र पुराना नेताको प्रभाव नपर्ने गरी नयाँ सरकार बनाउने प्रस्ताब आइरहेको छ।
शायद वार्ता सुरु भएपछि धेरै कुराहरुमा छलफल भएर आन्दोलन दवाउने नाममा अनाबश्यक बलको प्रयोग गरि धेरै धनजनको नोक्सान पुर्याउनेलाई कारवाही गरिनेदेखि भ्रष्टलाई कढाइसँग कारवाही गर्ने कुरा वार्ताको अबसरमा अबश्य नै आउनेछ।
भ्रष्टचार पुरामात्रमा नियन्त्रण गर्न २०४६ पछिका सम्पूर्ण नेता र बरिष्ठ कर्मचारीको सम्पति छानबीन गरियोस्। अबैध तरिकाबाट अकुत सम्पति कमाउनेलाई कारबाहि गरियोस्। यसतर्फ अबको नयाँ सरकार लाग्नैपर्छ। संबिधान संशोधन गरी देशको अर्थतन्त्रलाई मद्दत पुग्नेगरी संबिधान संशोधन या पुनरलेखन हुनेछ।
राजसंस्था पनि कायम रहोस जसले परेको बेलामा देशको संरक्षक भएर देश बचाउने कार्य हुनेछ। यति नगरि अहिलेका जेन जी का युवा समूहको उद्देश्य पूरा हुनेछैन। देश भित्र र बाहिर रहेका क्षमतावान युवाले स्वदेशमा काम गर्ने वातावरण अबश्य पनि बन्नु पर्नेछ।
एकपटकको नेपाली सधैंको नेपाली हुनेगरि संबिधानमा उल्लेख हुन आबश्यक छ। कमसेकम देशको शिक्षा, स्वास्थ्यलगायतमा बिकास हुँदै गएर देश खाद्यान्नमा आत्मनिभर हुनेतर्फ देश अबश्य लाग्नेछ।
किनकि पछिल्लो पुस्ताको नया युगका युवाशक्ति, राम्रो शिप भएका श्रीजनशिल बर्ग छन्। जसको सदुपयोग गर्न सके देशको बिकास हुन्छ नत्रभने देशले कहिलेपनि बिकासको फड्को मार्न सक्तैन।
कमसेकम अहिलेका नयाँ बन्न लागेको सरकारले नया संबिधानको लेखनमा यसतर्फ पूरा ध्यान दिउन्। २३ गतेको घटनामा मारिएका निर्दोष युवा बिद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्छु।
















Facebook Comment