पहिलो गोली खाने जेनजी विमलको परिवारको माग : सहिद घोषणा गरियोस्

डिसी नेपाल
२८ भदौ २०८२ १६:५८
168
Shares

काठमाडौं । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षिय विमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन्। उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए। आन्दोलन सफल भयो तर उनी फर्किएनन्।

उनी कहिल्यै घर फर्किंदैनन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन। विमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन्। एउटा टिकटक भिडियोमा आफ्नो दाइलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन्।

बहिनीले भनिन्, ‘दाइलाई गोली लागेको थाहा पनि थिएन। एक जना दिदीले पहिलो गोली लाग्ने जेनजी भनेर टिकटकमा भिडियो राख्नु भएको रहेछ। त्यहीबाट थाहा पाएर म अस्पतालसम्म पुगेको हुँ।’

साथै, उनले आफ्नो दाइले ढुङ्गा पनि नहानेको साइडमा बसेको अवस्थामा पनि गोली हानेको भन्दै खुट्टा तिर गोली हानेको भए बाच्ने दाइलाई छातिमा नै गोली हानेर मारेको पनि उनको दाबी रहेको छ।

विमल आफू आन्दोलनमा गए पनि ढुंगामुढा गर्न उत्रिएका थिएनन्। आन्दोलनमा नारा लगाइरहेका थिए तर छातीमै गोली बर्षाइएको बहिनीले सुनाइन्।

‘मेरो दाइको हातमा ढुङ्गा पनि थिएन। साइडमा बसेको थियो रे। साइडमा बसेको मान्छेको छातीमा गोली हानियो। उनीहरुले खुट्टातिर पनि गोली हान्न सक्थे तर छातीमै बर्षाए। खुट्टामा लागेको भए मेरो दाई ज्यूँदै हुन्थ्यो कि,’ उनले भनिन्।

‘दाइको मृत्युका बारेमा अहिलेसम्म सरकारको तर्फबाट केही अभिव्यक्ति आएको छैन। सरकारले गर्ने कामहरु पूरा गर्छहोला भन्ने आशामा छौं,’ उनी आशावादी छिन्।

विमल परिवारको तीन छोरा मध्ये कान्छो थिए। घरमा सबैको प्यारो थिए। आमा मानसिक रोगको बिरामी हुँदा पनि बुबाले खेतीकिसानी गरेर काबिल बनाएका छोरा थिए। अब उनका बुबाले शव कसरी हेर्लान र उठाउलान ?

सरकारी पक्षबाट गोली लागेर मृत्यु भएका विमलको शवलाई पोस्टमाटम गरेर टुक्रा टुक्रा पार्ने पक्षमा आफूहरु नरहेको भाउजु गोमा भट्टको भनाइ छ। उनले भनिन्, ‘पोस्टमाटम गर्ने पक्षमा हामी छैनौं। किनभने सरकारी पक्षबाट गोली हानेर उहाँको हत्या भएको छ। मरिसकेको मान्छेलाई किन टुक्रा टुक्रा पार्ने ? त्यस्तो शव आमाबाबुले कसरी हेर्ने ? ६ दिन वितिसक्दा पनि आमालाई छोराको मृत्यु भएको कुरा थाहा छैन।’

मृत्यु भएको ६ दिन बित्दा पनि शव हेर्न नपाएको भन्दै उनलाई सहिद घोषणा गरेर उचित क्षतिपूर्ती दिनुपर्ने उनले माग राखेकी छन्।

‘जेनजीको आन्दोलनमा सबैभन्दा पहिला गोली खाने युवा हो। हामीले अहिलेसम्म पनि हेर्न पाएका थिएनौं, भर्खरै देख्न पायौं। केही भन्नु छैन। मात्र सहिद घोषणा हुनुपर्छ र उचित क्षतिपूर्ती पाउनुपर्छ। गोली हान्ने अपराधीलाई पनि सजाय हुनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.