इतिहासका घटनाबाट पनि सिक्ने गरौं
मानव समाजले आजसम्म जेजति प्रगति गरेको छ, त्यसका कारणहरु छन्। ती कारणहरु खोतल्दै जाने हो भने मानवले आफैंले गरेको गल्ती कमी कमजोरीलाई सच्याउँदै अगाडि बढेको देखिन्छ। मानवले पुरानो आफ्नो कर्मको समीक्षा नगर्ने हो भने कुनै पनि प्रगति गर्न सक्दैन।
संसार आजको स्थानमा आउन सक्ने पनि थिएन। हिँड्दै ठेस लाग्दै लड्दै उठ्दै गर्नु एउटा प्रकृया हो। सानो बालकले पनि आगोमा हात राखेर पोलेपछि पुनः त्यही आगोमा हात राख्दैन। यसैले पुरानो इतिहासको समीक्षा गर्नुपर्छ।
अनि मात्र नयाँ इतिहासको श्रृजना गर्न सकिन्छ। तर संसदीय ब्यवस्था भित्रका हाम्रा नेताहरु नत इतिहासको समीक्षा गर्दछन्, नत भविष्यमा निष्कने परिणाम बारे कुनै दृष्टि दिने गर्दछन्। मात्र रिसको झोंकमा र रिसैको जगमा पार्टी फोड्ने र नयाँ पार्टीको पुनर्गठन गर्ने गरेको देखिँदै आएको हो।
पार्टी फोडेर नयाँ पार्टी गठन गर्नेको जो कोहीको अवस्था नयाँ पार्टीमा ज्यादा राम्रो र अव केही हुन्छ भन्ने अवस्था देखिएन। जस्तो एकीकृत माक्र्सवादी भन्नुस्, इतिहासमा २०५४ सालमा बामदेवले खोलेको माले पार्टी भन्नुस् त्यो पनि अगाडि जान सकेन।
यस्तै माओवादी पार्टीमा पनि नेता रामबहादुर थापा (बादल) पम्फा भुसालहरुले नेता मोहन वैद्यसँगै फुटेर गएतापनि फर्केर पुनः माओवादी पार्टीमा नै आउनुपर्यो। माले खोल्दै पार्टी फुटाएका नेता बामदेव पनि पुनः २०५८ सालमा एमाले नै फर्किनुभयो। दोस्रो पार्टी अब पनि कुनै पुराना नेताले खोल्छ भने त्यो अगाडि जान सक्दैन।
कारण कुन हो भने संसारलाई हेर्ने बुझ्ने र अध्ययन गर्ने शैली नै हाम्रा पुराना नेताहरुको परम्परागत पाराको छ। कम्युनिष्ट पार्टी संचालन गर्न बैज्ञानिक बिधि पद्धतिको आवश्यक्ता पर्दछ। आजको अवस्थामा प्रविधिले फड्को मार्दै मार्क्सवादलाईसमेत परिमार्जन गर भनिरहेको छ।
हाम्रा नेताहरु कर्म एउटा र सिद्धान्तको डिङ अर्को हाक्ने खालको हुनुहुन्छ। सिद्धान्त र ब्यबहार एउटै हुँदा पनि नेताहरु इतिहासमा माओकालीन नौलो जनवाद जो पढ्नु भएको थियो त्यही रटान लगाएर बसेको देखिन्छ। त्यो कुरा संसारको कुनै कुनामा पनि लागू नहुने भैसकेको छ।
मदन भण्डारीको बहुदलीय जनवादले कुनैबेला नेपाली जनमानसमा निकै रांनकता ल्याएको थियो। जसुकैले जेसुकै भनेतापनि त्यो परम्परागत कम्यूनिष्ट शैलीका बिरुद्ध केही नयाँपन थियो। त्यसभित्रको अन्तरबस्तु र गुदी जो थियो त्यसलाई लागू गर्ने प्रयास नै भएन। अब त परिस्थिति त्यो भन्दा अगाडि बढिसक्यो। बेलुका जान्ने बुझ्ने भएर सुतेको मान्छे बिहान उठ्दा नजान्ने भएर उठेको हुनसक्छ।
भन्नुको मतलब यो हो कि निरन्तर अपडेट भैरहनु आजको आबश्यकता हो। हाम्रा पुराना नेताहरुले भाद्र २३ काे जस्तो आन्दोलन पनि देशमा हुन सक्छ? कलिला बालकले पनि दुई दिनको निशस्त्र आन्दोको माध्यमबाट सत्तासिनहरुलाई परास्त गर्न सक्छन् भन्ने सोचेका पनि थिएनन्। मात्र यिनीहरुले सोचेका थिए आफ्ना मनपरितन्त्र र लुटको स्वर्ग युगयुगसम्म चल्नेछ।
कुनैबेला गिरिजाप्रसाद कोइरालाले दोलखाको चरिकोटमा गएर भन्नुभएछ , “माले, मसाले र मण्डले एउटै हुन्। सायद उहाँले सबै आफैंजस्तो हुनुपर्छ भन्ने आह्वान गर्नुभएको भन्ने हाम्रा कम्यूष्टि नेताहरुले बुझ्नु भएछ कि के हो? त्यसबेलादेखि कम्युनिष्ट बिग्रेर कांग्रेस जस्तै हुँदै गयो।
त्यो पनि गिरिजा शैलीको कांग्रेस, गणेशमान र कृष्णप्रसाद भट्टराई शैलीको भएपनि तै बिसेक राम्रै हुन्थ्यो। दलाल, बिचौलिया र तस्करसंँग घाँटी नजोडी अगाडि जान सकिन्न भन्ने हाम्रा ठूला नेताहरुलाई लाग्यो। उहाँहरुले त्यही बाटो समात्नुभयो।
हाम्रा पुराना नेताहरुले के किसानको लागि काम गर्नु भएको छ? मजदुरको लागि गर्नुभएको छ? युवाहरुको रोजगारीको लागि केही गर्नुभएको छ? के बिदेसमा बिचल्लीमा परेको चेलीबेटीहरुको उद्धार गर्नुभएको छ? केही छैन अब गर्नुहोला भन्ने बिश्वास के छ?
यसैले उहाँहरुले नयाँ पार्टी गठन गर्ने बित्तिकै ओइरो लागेर नयाँ पार्टीमा जाने मानिसहरु हुँदैन। नेताहरुको जुंगाको लडाईंमा सर्बसाधारणलाई के चासो हुन्छ र?
मानिस कित सत्ताको पछि लाग्छन, कि नयाँ आशा भरोसा र बिश्वासले गर्दा पछि लाग्ने हुन्छन्। रवि लामिछानेको पार्टीले थोरै समयमा प्रगति गर्न सकेको कारण पुराना नेताहरुको बिरुद्धमा भ्रष्टाचार बिरोधी अभियान, ढिलासुस्ती हटाउने, राम्रा थिति बसाउने, सुशासन कायम गर्ने, घुसखोरी र सोर्सफोर्सको संस्कृति हटाउने जस्ता नाराहरु हुन्।
पहिले सत्तामा नभएरपनि केही काम भने गरेर देखाएको मानिस भएकाले यिनलाई जनताले बिश्वास गरेका थिए। मिडिया संचालन गर्दापनि निमुखा गरिव दुःखी र बिदेसमा अलपत्र परेर बसेका पीडितहरुको पक्षमा केही काम गरेका पनि थिए।
काठमाडौं नगरीमा बलात्कारको पीडामा परेकी महिलालाई समेत उद्धार गरेको उदाहरण छ। जेजति काम उनले गरे त्यसको प्रचार प्रसार पनि उधुमै भयो। तर यिनमा केही कमजोरी देखियो। छत्तिसौ बर्ष खर्चेको भ्रष्ट नेतृत्व देशमा स्थापित छ।
त्यसैको सत्ता पनि स्थापित छ। रवि त्यसैको सरकारमा गइ गृहमन्त्री बनी उसैलाई कारवाही गर्न तम्सिए। यो यीनको केटौलेपन थियो। कारवाहीको लागि पटक पटक जमर्को गरियो। तर्सिएको भ्रष्ट नेतृत्वले ठगी केसमा उनैलाई जेल हालिदियो। यसमा अनौठो कुरा केही छैन। उनमा धैर्यता देखिएन।
व्यक्तिगत कमीकमजोरी पनि देखियो। यति चाँडो सरकारमा जानु यिनको भुल थियो। भबिष्यमा त यिनले के गर्दथे भन्न सकिँदैन। तैपनि यिनमा उर्जा थियो। केही गरौं भन्ने भावना पनि देखियो। तर राजनीतिक बचपनता ज्यादा देखियो।
जेन-जी युवाहरुको आन्दोलन सफल भए पश्चात हर्कसाङपाङ प्रधानमन्त्री बन्न काठमाडौं आएको देख्दा हतारमा सत्तामा जाने उत्सुकता यिनमा पनि रहेको देखिन्छ। हतारको काम जहिले पनि लत्तरपत्तर हुन्छ। यिनी नेतृत्वमा जादा पनि नराम्रो चाहिँ गर्दैनन् भन्ने सबैलाई थाहा छ।
तर पुरानो सत्ताको पुराना पार्टपुर्जा निकै जब्वर र खिया लागेर बसेका छन। यिनीलाई यो नेतृत्व पाएको भए पनि समाल्न भालुको कन्पट समायको जस्तो हुने पक्का थियो। यसै भएर बालेनले पायको अवसर पनि छोडेका हुन्। उहाँहरु संविधान बमोजिम कार्यकारी राष्ट्रपतिको व्यबस्था भएमा चुनावबाट आउनु योग्य देखिन्छ।
पुराना पार्टीहरु कम्यूनिष्ट भनिए पनि र कांग्रेस भनिए पनि दुबै एकै आमाका दुई छोरा जस्तो देखियो। यिनीहरुका मूल नेतृत्व लोकतन्त्रको नाममा मनपरितन्त्र संचालन गर्न मन पर्ने खालका देखिए।
लुटको स्वर्ग थामी राख्न पाए भ्रष्टतन्त्र र घुसतन्त्र जोगाउन सकिन्छ भन्ने यिनीहरुको मान्यता रहिआएको देखिन्छ। कांग्रेसको प्रजातान्त्रिक समाजबाद र कम्युनिष्टको बहुदलीय जनवाद र माओवाद यिनीहरुले उत्पादन गरेका बजारका बिकाउ मालका ब्रान्डहरु हुन्। आखिर यो पनि नबिक्ने समय आउन थालेको संकेत मिलेको छ।
बरु यिनीहरु सबैले पश्चिमा पूँजीवादी लोकतन्त्रलाई नै आत्मसात गर्ने हो भने पनि पश्चिम युरोपको उत्तरी क्षेत्रका नार्डिक देशहरुबाट सिकेको भए हुने। डेनमार्वक, नर्वे, स्विडेन, फिनल्याण्ड, न्यूजिल्याण्ड आदिलाई हेरौं।
जहाँ भ्रष्टाचार गर्नु हुँदैन भन्ने चेतना छ। संस्कार र संस्कृतिमै यो बिकास भएको छ। बिदेशकिो नक्कल गर्दा राम्रा कुराको चाहिँ गरौ न! त्यति पनि गर्न नसक्ने भए किन कम्युनिजमको सिद्धान्तको रट लगाएका भन्या?
नेपालको राजनीतिक इतिहासले धेरै कुराको ज्ञान दिएको छ। तर इतिहासबाट सिक्ने कमैले मात्र गर्ने गर्दछन्। जेन-जी युवाहरुको माग सामाजिक संजाल फेसबुक खोल्ने, भष्टतन्त्र र घुसतन्त्रको जरो उखेल्ने, कार्यकारी राष्ट्रपति, सांसद मन्त्री हुन नपाउने ब्यबस्था जसका लागि संविधान संशोधन उनीहरु चाहन्थे। सत्ता परिवर्तन उनीहरुको माग थिएन।
कसैले नसोचेको कुरा सत्ता परिवर्तन तिर आन्दोलन अघि बढ्यो। यसको कारण थियो जनता सचेत भैसकेकाले सत्ताको घर भित्र भित्रै धमिराले खाइसको थियो।
सामाजिक संजाल बन्द गरेकाले अन्तर्राष्ट्रिय मामिला पनि चौपट भैसकेको थियो। छिमेकी र पश्चिमा देशहरुले पनि जनताको मौलिक हक, वाक स्वतन्त्रतामा ताला लगाएकाले कसैलाई पनि मन परेको थिएन। यसैले बाहिर भित्र सबैबाट यी एक्लिए।
अब पनि परिस्थिति जटिल छ। पुराना खाइपल्केका र रसस्वादन गर्न, पाएका दलका कार्यकर्ताले टाउको उठाउन सक्छन्। हाम्रा कर्मचारीतन्त्र पुरानै भएकाले घुसखोरी र भ्रष्टतन्त्र पहिलेजस्तै रुपमा अघि बढ्न सक्छन। दीर्घकालीन लक्ष्यकासाथ यिनीहरुलाई निर्मुल गर्दै लानुपर्छ।
भ्रष्ट नेताहरु र ठूला कर्मचारीहरुको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्ने प्रक्रिया तुरुन्त थालनी गर्नु आवश्यक छ। जेन-जी युवाहरु! तपाईंहरुका मुद्दा छायाँमा पर्न सक्छन्।
कार्यकारी राष्ट्रपति, सांसदले मन्त्री हुन नपाउने, विज्ञबाट मन्त्री छान्ने ब्यबस्था, राजनीतिक नियुक्ति राजदुत नियुक्त गर्दा बाहेकका पदमा गर्न नपाउने ब्यबस्था गरिनुपर्छ। नत्र फेरि परानै कथा दोहरिने हुन्छ। सारा अड्डा अदालत, शिक्षा स्वास्थ्य सबै क्षत्रमा पुराना दलका भरौटे कार्यकर्ता नियुक्त गरेर जनताले स्वच्छ र निस्पक्ष सेवा पाउन नसकेको कुरा जगजाहेर छ। अव यस्तो हुनुहुँदैन।
















Facebook Comment