लघुकथा : बोझ
त्यसपछि भेट भएन। त्यसपछि भन्नाले मैले उसँग चिनजान गरेको तेह्र दिनपछि ऊ मर्निङ वाकमा आउनै छाड्यो। त्यसपछि त एकैचोटि एउटा बिहेको पार्टीमा भेट भयो- उससँग। कुराकानीमा ऊ मान्छे असहज लागेन।
स्वीमिङमा गहिरो अभिरूचि रहेछ-उसको पनि मेरैझैं। हामी ‘स्वीमिङमै भेटौं’ भनेर छुट्टियौं।
रहँदा बस्दा गहिरो दोस्ती नै भयो।
एक प्रसंगमा मैले सोधें-“किन आउन छाडिस् मर्निङ वाक?”
ऊ एक गम्भीर रहस्य सम्झे झै एक्लै हाँस्यो। र, भन्यो- “चिनजान गर्न पहिले तैंले ‘नमस्ते’ भनेको थिइस्। दोस्रो दिन पनि तैंले नै नमस्ते भनिस्। तेस्रो दिन भनिनस्, बोल्दैबोलिनस्। मलाई हल्का अपमानित भए झैं लाग्यो।… नमस्ते तैंले नै गर्ने गरेको होस्। मेरो मनभित्र कसोकसो ‘म यसले नमस्ते गर्ने वर्गको हुँ’ भन्ने भाव विकास भएछ। तैंले नमस्ते नगर्दा म पहिले तँलाई नमस्ते गर्न सक्दिनथें। …अनि मलाई मर्निङ वाक बोझिलो भयो। मैले बोझ धानिरहन सकिनँ; अनि छाडें।”
उसका कुरा सुनेर म पनि हाँसें।
स्वीमिङमा हामी अनौपचारिक छौं, सधैं भेट्छौं।
No ads found for this position


Facebook Comment