कांग्रेसको १५औं महाधिवेशन: उपसभापति र महामन्त्रीको मतगणना जारी

डिसी नेपाल
२४ असोज २०८३ २०:०२

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना कार्य सुरु भएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शनिबार बेलुकी साढे ७ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना प्रक्रिया अगाडि बढाइएको हो।

मतगणना थाल्नुअघि निर्वाचन समितिले उपसभापति तथा महामन्त्रीका उम्मेदवारहरूसँग विस्तृत छलफल गरेको थियो। सो छलफललगत्तै पारदर्शीता कायम गर्न उम्मेदवारहरूका प्रतिनिधिकै रोहवरमा मतपेटिकाहरू खोलिएको समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सानेपास्थित केन्द्रीय कार्यालयमा सीसीसीटीभी क्यामेरा जडान गरी तथा मतगणना स्थलमा बस्ने उम्मेदवारका प्रतिनिधिहरूको नामावली संकलन गरेर गणना कार्य सुरु गरिएको जानकारी दिए।

यसअघि, शुक्रबार राति सम्पन्न मतदानपश्चात् पहिलो चरणमा सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। उक्त मतगणनाको अन्तिम परिणामअनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन्। थापाले खसेको कुल मतको झण्डै ९४ प्रतिशत (६,५८४ मत) प्राप्त गरेका थिए।

सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले प्रतिस्पर्धी खड्गीका साथै बाँकी पदको मतगणनाबाट पराजित हुने सबै नेताहरूलाई समेटेर एकीकृत रूपमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेसमा रूपान्तरण र सुदृढीकरणका लागि ठूलो जिम्मेवारी वहन गर्नुपर्ने भएकाले कोही पनि आफ्नो दायित्वबाट पन्छिन नपाउने थापाले बताए। महाधिवेशनको प्रतिस्पर्धाबाट क्षणिक रूपमा जित-हारको नतिजा देखिए पनि पार्टी निर्माण र संगठन सञ्चालनको हिसाबले सबैको उत्तिकै अहम् भूमिका रहने विश्वास उनले दिलाए।

सम्बोधनका क्रममा नवनिर्वाचित सभापति थापाले वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर आगामी दिनमा सबै पक्षलाई समेटेर अघि बढ्ने स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *