निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा गिरावट

डिसी नेपाल
३१ भदौ २०८२ १०:५६
60
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउन सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर ५४९५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०.३ प्रतिशत) ले वृद्धि भएको थियो।

यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ साउन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा बैंक तथा वित्तिय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थातर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा यी अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेका थिए।

कर्जाको धितो संरचनाको हिसाबले हेर्दा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ। गत वर्ष यिनको हिस्सा क्रमशः १३.३ प्रतिशत र ६६.३ प्रतिशत थियो।

क्षेत्रगत हिसाबले हेर्दा पहिलो महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रमा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०.५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १.५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.०४ प्रतिशतले कर्जा घटेको देखिन्छ।

यस्तै, कर्जाको प्रकारगत संरचनामा आवधिक कर्जा ०.२ प्रतिशत, मार्जिन कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ। तर, हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *