सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ
काठमाडौं। नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ।
दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ। खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ। यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ।
दसैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारलगायतका व्यापारिक केन्द्रहरुमा चंगा बेच्न भ्याइनभ्याइ छ।
विगतका वर्षहरुको तुलनामा यस वर्ष चंगाको व्यापार बढेको व्यवसायी बताउँछन्। बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड लाग्न थालेको देखिन्छ।
बजारमा चंगा किन्नेहरुको चहलपहल बढेको बताउँदै अहिले कोरोनापछि पुनः व्यापार फस्टाएको व्यापारी किशोर देउजा बताउँछन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कोरोनाको समयमा चंगा व्यापार खस्केको भएपनि अहिले कोरोनापछि फेरी व्यापार फस्टाएको बताए।
उनले भने, ‘हाम्रो पसलमा चाँही बजारमा रहेका प्रायः सबै चंगाहरु पाइन्छ। बर्षाका कारण ग्राहक कम आए पनि चलहपहल बढेको छ। विगतका बर्षहरुमा व्यापार कम भइसकेको भएपनि कोरोनापछि फेरि व्यापार फस्टाएको छ। क्राउड जमेको छ। राम्रो भइरहेको छ।’
त्यस्तै उनले चंगाको विषयमा अनविज्ञ रहेकाहरु पनि चंगा किन्न आउने गरेको भन्दै पछिल्लो समय चंगा उडाउन सिक्न चाहनेहरुको संख्यामा पनि वृद्धि भएको धारणा राखे।
‘अहिले त जसलाई चंगाको बारेमा थाहा पनि छैन्,उडाउने कसरी भन्ने पनि थाहा छैन। उहाँहरुले पनि किन्न आउनुहुन्छ। पहिला–पहिला चंगा धेरै उडाउने गरिन्थ्यो। तर अहिलेको मानिसहरुले पनि सिक्न रहर गरिरहनुभएको छ।’
उनको पसलमा अटोमेटिक लट्याइदेखि विभिन्न किसिमका चंगाहरु पाइन्छन्।
अटोमेटिक लट्याईको मूल्य पहिला २५ सय रहेकामा अहिले घटेर दुई हजार मूल्यमा आएको उनले जानकारी दिए। उनको अनुसार चंगाको मूल्य १० देखि १५० सम्म छ। चाइनिज चंगाहरुको १०० देखि ७०० रुपैयाँसम्म मूल्य पर्छ। कुनै चंगा नेपालमा नै तयार गरिन्छभने भारत चीनलगायतका देशबाट पनि आयात गरिन्छ।
उनले भने,‘अटोमेटिक लट्याईहरु आउनु राम्रो त होइन तर बजारमा माग भएअनुसार सबै किसिमका चंगाहरु ल्याइदिन्छौं। अटोमेटिक लट्याईको मूल्य पहिला २५ सय थियो अहिले घटेर आएको छ। दुई हजार रुपैयाँ छ। चंगाको मूल्य १० देखि १५० सम्म छ। चाइनिज चंगाहरुको १०० देखि ७०० सम्मको छ। केही चंगा नेपालमै पनि बन्छन्, कुनै भारतबाट आउँछन्। केही चीनबाट ल्याउँछौं। भारतीय लट्याइ भनेको चाहीँ काम चलाउ हुन्छ। उडाउन लायक पनि हुँदैन। प्राय नेपाली लट्याइमा नै उडाइन्छ।’







डिसी नेपाल







Facebook Comment