चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा

डिसी नेपाल
३ असोज २०८२ १९:०५
160
Shares

रौतहट । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रियतामा शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले ६ वटा हात्तीको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको हो। बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो।

बाघलाई समात्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको तीन स्थानमा राँगालाई बाँधेर क्यामरा जडान गरिएको थियो। क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

बाघले जीतपुरसिमरा उपमहानगरपालिका –२१ र २२ मा ३ महिनाको अवधिमा ५ जनालाई आक्रमण गरेको थियो। जसमध्ये चार जनाको मृत्यु भएको थियो भने एकजना सैनिक हवलदार घाइते भएको प्रहरीको तथ्याङमा उल्लेख छ।

बाघ नियन्त्रणमा आउन नसकेपछि त्रसित बनेका स्थानीयवासी अहिले खुशी भएका छन्। बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.