जेन-जी आन्दोलनको गुह्य कुरा र आजको राजनीतिक परिदृश्य

कृष्ण बोहरा
६ असोज २०८२ ८:०८
28
Shares

गणेशमान किसुनजी र मदन भण्डारीको युग सिद्धिएपछि नेपालको राजनीतिमा गिरिजा प्रवृत्ति हावी हुँदै गयो। गिरिजा प्रवृत्ति भन्नाले जे जसरी हुन्छ राजनीतिक पावरमा आफू रहिरहने र बाँचुन्जेल सत्तामा टाँसिरहने प्रवृत्ति हो। भ्रष्टाचार घुसखोरी र अनाचारलाई बढवा दिने प्रवृत्ति हो।

यसपछि आफ्ना मानिसहरूलाई जेसुकै गरेपनि छुट दिने प्रवृत्ति असाध्यै मौलायो। यसबाट कर्मचारी र ठूला नेतामा भ्रष्टाचार अझै मौलायो। यसकारण जनतामा दलहरूप्रति वितृष्णा र घृणाभाव त्यतिखेर नै व्याप्त भइसकेको थियो। एक किसिमले दलहरू जनताबाट विस्थापित भइसकेका थिए।

दलहरुले राखेको कार्यक्रममा मानिसहरु उपस्थित हुनपनि छाडिसकेका थिए। माओवादी पार्टी दलहरूसँग मिलेर अगाडि बढ्ने भएपछि मात्र दलहरूको कार्यक्रममा जनमानसले चासो राख्न थालेका हुन्।

जब माओवादी शान्ति सम्झौतामा आयो यसपछिको चुनावमा माओवादीलाई बहुमत प्राप्त हुनु माओवादीप्रति जनताको आशा भरोसा बढेको प्रमाण थियो। माओवादीको सरकारले पनि संविधानमा राज्यलाई टुक्र्याएर १४ राज्य बनाउन खोज्ने र जातीय राज्यको खाका बनाउने बाहेक भ्रष्टाचारी र घुसखोरीलाई कारबाही गर्ने कुनै कार्यक्रम नल्याएकाले जनता निराश हुन थाले।

मुख्य कुरा त जनता भ्रष्टीकरणको विरुद्धमा थिए। त्यसको खिलाफ माओवादी पनि जान चाहेन। भ्रष्टाचारीहरुलाई कारबाही गरेको माओवादीको बहुमतको शासनकालमा एउटा पनि उदाहरण पाउन सकिएन। फलस्वरूप माओवादी खहरे खोला जस्तै भयो। अर्को चुनावमा त्यो तहको जित यस पार्टीको हुन सकेन।

यतिखेरसम्म जनता अलमलमा थिए। जोसुकै सत्तामा आएपनि भ्रष्टाचार रहिरहने अड्डा अदालत जहाँसुकै पनि घुसको राज चलिरहने भयो। भ्रम र अन्योलमा भएका जनता कहिले कांग्रेस कहिले एमाले त कहिले माओवादीलाई भोट हाल्दै रहे। बिकाउ कार्यकर्ता र झोले प्रवृत्ति पार्टीहरूमा व्याप्त हुन थाल्यो।

दुवै पार्टीको लक्ष्य उद्देश्य एउटै हुन थालेकाले माओवादी र नेकपा एमाले मिलेर एउटै पार्टी भयो। देशका ठूला कम्यूनिष्ट पार्टीहरु एक भएपछि देशमा केही होला भन्ने धेरैलाई नलागेको होइन। सुशासन भ्रष्टाचारको अन्त्य र घुसखोरी न्यूनीकरणको दिशामा देशले एक पाइला पनि सारेन।

नेताहरूको जुङ्गाको लडाई भने चरम रुपमा अगाडि बढ्यो। आखिर अदालतको एउटा निर्णयले माओवादी र एमाले पूर्ववत स्थानमा फर्किए। माओवादी र एमालेबाट टुक्रिएको नेकपा एस समेतको समर्थनमा नेपाली कांग्रेसका शेरबहादुर देउबा प्रधानमन्त्री भए। जहाँ जजसको गठबन्धन भएपनि भ्रष्टाचार झन् बढ्यो।

सुनकाण्डदेखि अनेक काण्डहरु भए। जोसुकैको गठबन्धन भएपनि देशलाई उभो लाउन भष्टाचार न्यूनीकरण गर्न हैन पालो फेरोको सिद्धान्तमा सत्तासिन हुन चुनाव मै एकअर्काको चिन्हमा भोट हाल्ने सहमति भयो। तैपनि सर्वाधिक मत नेकपा एमालेले ल्यायो भने धेरै सिट काङ्ग्रेसले ल्यायो।

चुनावपछि कांग्रेसलाई जिल खुवाउँदै एमालेसँग गठबन्धन गरी माओवादीले सरकार बनायो। अब ३२ सिट ल्याउने माओवादीले सबै पार्टीहरुलाई नचाउन थाल्यो। अस्थिरता ज्यादा बढ्यो। सुशासन र भ्रष्टाचारको न्यूनीकरण तिर कुनै पार्टीलको ध्यान गएन।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सुशासन र भ्रष्टाचारको मुद्दालाई मूल मुद्दा बनाए। उनलाई गृहमन्त्री बनाउनु गठबन्धन सरकारको बाध्यता थियो रहर थिएन। तैपनि भ्रष्टतन्त्र र भ्रष्टाचारी सत्ताको सरकारमा गएर उनीहरूलाई नै कारबाही गर्न उनी तम्सिए। यसले रवि लामिछाने स्वयंलाई जेलसम्म पुर्‍यायो।

उनी जेलको हावा खाँदैछन्। रास्वपा र रवि लामिछानेको देखासिकीमा माओवादीका अर्का गृहमन्त्री नारायण काजी समेतले भ्रष्टाचार मुद्दालाई अझै उठाए। तर पुराना र भ्रष्टाचारमा रमेका ठूला दललाई यो सहिय भएन।

ठूला दलहरू एमाले र नेपाली कांग्रेस समेतको गठबन्धन सरकार बन्यो। दुई पार्टीको सरकार बनेपछि भ्रष्टाचारका मुद्दाहरू ओझेलमा पर्‍याे। यस्ता मुद्दामा भूमिका निर्वाह गर्ने अधिकारीहरुलाई अघोषित कारबाही स्वरूप यत्रतत्र सरुवा गरियो। भ्रष्टाचार र कुशासनको रुप अझ टट्कारो देखिन थाल्यो।

दुई पार्टी मिलेपछि जे गरे पनि हुने भयो। दुई पार्टीका भ्रष्टाचारीहरुलाई मुद्दा नचल्ने भयो। चले पनि एकै दिनमा सानोतिनो धरौटी बुझाएर घर जान पाउने भए। अदालतका न्यायाधीशहरू पनि राजनीतिक नियुक्ती हुन थालेकाले अदालत निष्पक्ष नहुने दृश्य सर्वसाधारण सबैले बुझे।

युवाहरू र सर्वसाधारण जनतासमेत ज्यादा आक्रोशित हुन थाले। यसको प्रभाव विशेष गरेर युवा जगतमा निकै पर्‍याे। जेनजी आन्दोलन माथि उल्लेख गरिए अनुसार भ्रष्टतन्त्रको पृष्ठभूमिमा विस्फोट हुन गएको देखिन्छ।

ओली प्रवृत्ति गिरिजा प्रवृत्तिकै विकसित रुप थियो। देशका असल र देश हित चिताउने बौद्धिक वर्गलाई यो चित्त बुझ्ने कुरै थिएन। त्यस्ता बौद्धिक वर्गले युवा पुस्तालाई शान्तिपूर्ण आन्दोलन गर्न प्रोत्साहन गरेको कुरा बिस्तारै खुल्न थालेको छ। सत्ता उलटपालट पार्ने उद्देश्यका साथ यो आन्दोलन सुरु भएको होइन भन्ने कुरा आन्दोलनकर्ताको अलमल र किम कर्तव्यविमूढताले स्पष्ट पारेको छ।

जेनजी पुस्ताको आन्दोलनले कसरी भयानक रुप लियो  ?

जेन्जी पुस्ताले निकालेको यो शान्तिपूर्ण आन्दोलनमा भाद्र २३ गते ओली सरकारले अन्धाधुन्द गोली हानेको कुरा सबैलाई थाहा छ। एकैपटक बानेस्वरमा मात्र २१ जना केटाकेटी तथा युवाहरूको प्राण पकेखेरु उड्यो। चार पाँच सयलाई गोली लाग्यो। यस घटनाबाट भिड आक्रोशित हुनु स्वभाविक थियो।

मानिसहरूको भिडमा अब जेन्जी मात्र थिएनन्। घरबाट निस्केर के बुढा के तन्नेरी सबै जुलुसमा सहभागी भए। परिस्थितिलाई भड्काउने काम सरकार आफैंले गरेको थियो। भोलिपल्ट १२ बजेसम्म गगनभेदी नाराका साथ प्रदर्शनको राप ज्यादा बढेपनि आगजनी र तोडफोड भने भएको थिएन।

यसपछि भने नेताहरूको घर छानीछानी आग्जनी हुन थाल्यो। यो क्रम यतिमै रोकिएन। सिंहदरबार सर्वोच्च अदालत अख्तियार जस्ता देशका महत्वपूर्ण संरचनाहरू पनि जल्न पुगे।

यसपछि भने जेनजीहरू ” घुसपैट भयो यो सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने हाम्रो आन्दोलनको नीति थिएन ” भन्दै आन्दोलन स्थगित गरेको घोषणा गरे। यसबाट के देखिन्छ भने जेन्जीहरूको आन्दोलन शान्तिपूर्ण, भ्रष्टीकरणको विरोधमा मात्र थियो। सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने अर्को माग थियो।

आन्दोलनमा कसको घुसपेट थियो त?

पहिलो कुरो कुनै पनि घटना र समस्यालाई हेर्ने दुईवटा विधिहरु हुन्छन्।हामी नेपालीहरु जहिले पनि कुनै समस्या आएमा वा घटना घटेमा अदृश्य शक्ति र बाहिरी शक्तिलाई पहिले दोष दिन्छौं। समस्या आफैंबाट सुरु भएको कुरै बिर्सन्छौँ।

समस्याको जड आफैमा हुन्छ आफ्नै कमजोरीलाई मनन गरी समस्या समाधान गर्ने कोसिस गरेमा अवश्य समस्याको समाधान हुन्छ नै। भ्रष्टतन्त्रको विरुद्ध उहिलेदेखि नेताहरू लागेको र आफैंलाई सच्याउँदै अगाडि बढेको भए यो समस्या यसरी आउँदैनथ्यो।

अन्तिम कुरो भिडमा जथाभावी गोली नहानेको भए यो समस्या यति विकराल हुने थिएन। सेनाको तीनवटा गणलाई सिंहदरबारबाट बाहिर सार्ने काम पनि तीन दलका सरकारले पालैपालो विभिन्न समयमा गरेको कुरा पनि खुल्न आएको छ।

यसबाट के बुझिन्छ भने सेनादेखि नेताहरू पहिलैदेखि ससंकित र डराएका रहेछन् भन्ने बुझिन्छ। जनविरोधी काम गरेपछि जनताबाट नेतृत्व विस्थापित हुन्छ, चारैतिरबाट एक्लो हुँदै गएपछि डरले अड्डा जमाउन पनि स्वाभाविक हो। अहिले सिंहदरबार जलाउँदा सेना मुखदर्शक बन्यो भन्नु पनि बिना तुकको कुरा हो।

बारबरा फाउन्डेसन एउटा गैरसरकारी गैरनाफामूलक संस्था हो। यही संस्था मार्फत पनि डाक्टर सन्दुक रुइतले निकै असल कर्महरु गर्नुभएको छ। यसलाई समेत बदनाम बनाउने कोसिस गरिएको छ। सन्दुक रुइत एकदमै चोखो मन भएको आँखाका देवता नै हुन्। उनलाई कुनै राजनीतिमा चासो समेत छैन।

बारबरा एडम्स नेपाली पत्रकार जगतमा लोकप्रिय नाम हो। उनी राजा महेन्द्रका भाइ बसुन्धरा शाहको प्रेमिका हुन्। ५५ वर्ष नेपाल बसेर ६५ सालमा उहाँको मृत्यु भएको थियो। मर्ने बेला ताका उनको अन्तिम इच्छा नेपालको नागरिकता प्राप्त गर्नुभएको थियो।

आँखाको उपचार गर्ने क्रममा आँखा ठिक भएपछि उनले आफू प्रभावित भएर अलि पहिलेइ बारबरा फाउन्डेसन डाक्टर सन्दुक रुइत लाइ सञ्चालन गर्न रकमको चाँजोपाजो मिलाए कि थिइन्। यो कुरा डाक्टर रुइतले पनि खुलस्त गर्नुभएको छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने सबै गैर सरकारी संस्था खराब हुँदैनन्।

अर्कोतिर सबै कुराको जड बालेन हुन् भन्ने गरेको पनि सुन्न थालिएको छ। म त भन्छु सबै कुराको जड भ्रष्टतन्त्रलाई नेताहरूले बढवा दिनु हो। अन्तिममा मात्र देशी विदेशी शक्तिले केही खेलेको हुनसक्छ। यो कुरा खुल्दै जानेनै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.