कृषकका स्याउ कुहिँदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : कृषि ज्ञानकेन्द्र बाजुरा
बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन्।
बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए।
ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गरेका छन्। कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताएका हुन्।
मार्तडी–कोल्टी सडकखण्ड खुल्न नसक्दा स्याउ बजारीकरणको लागि पर्खेका कृषकहरूको स्याउ अहिले ज्ञान केन्द्रको समन्वयमा कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र ढुवानीमा रकम प्रक्रिया पुगिसके पछी कृषकहरुकै खातामा जम्मा गरिने साहानीले बताए।
अहिले कृषकहरुलाई केन्द्रको समन्वयमा ढुवानी गर्न भनेका छौं,पछि ढुवानी भएर स्याउ विक्रिवितरण भइसकेपश्चात् स्याउ बजारीकरणको स्लिपलगायतका कागजात सङ्कलन गरि कृषकहरूकै हातमा रकम दिइने उनको भनाइ छ।
कतिपय कृषकहरुले स्याउ बजारीकरणको लागि अझै निवेदन दिइरहेका छन्। निवेदन परेका आधारमा कृषकहरुका लागि स्याउ ढुवानी अनुदान रकम दिइने ज्ञान केन्द्र प्रमुख साहानीले बताए। एकहप्ताको लागि सूचना जारी गरेका छौं। २० बढि कृषकहरुका निवेदन परेका छन्। निवेदन पश्चात प्रक्रिया पूरा गरि ढुवानी रकम उपलब्ध गराइने उनको भनाइ रहेको छ।
बाजुरामा गत बर्षको भन्दा यो बर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ। बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ। जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ।
हरेक वर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन्। कतिपयले बजारिकरण गर्न नसक्दा स्याउ काटेर गाईबस्तुलाई समेत दिने गरेका छन्।







डिसी नेपाल







Facebook Comment