जेन-जी बिद्रोहबाट नेपाली समाजले के पायो के गुमायो ?
नेपालको इतिहासमा धेरै आन्दोलन, बिद्रोह, जनयुद्ध भए, तर २०८२ साल भदौ २३ गते अकल्पनीय, ठूलो र दर्दनाक घटना भयो। जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट दर्जनौंले युवाहरुले सहादत प्राप्त गरे, सयौं घाइते भए। भदौ २४ गते जनधन र मुलुक जल्यो। करिव २७ घण्टामा मुलुक करिव स्वाहा भयो।
बन्द भएको सोसल मेडिया खुल्यो र केपी ओली नेतृत्वको सरकार तासको महल ढलेजस्तै गल्र्याम गुर्लुम्म ढल्यो। तथापि जितेको महसुस कुनै पक्षले गर्न सकेनन्। बिजय जुलुस भएन। जे माग राखी जेन–जी बिद्रोह भयो, तर परिणाम नसोचेको आयो।
विभिन्न सञ्चार माध्यममा आएको समाचारलाई आधार मान्ने हो भने करिव एक खर्व रुपैयाँको सरकारी सम्पत्ति, जस्तै सिहदरवार, प्राय सबै मन्त्रालय, अदालत र अख्यिारसहित ६५० वटा सरकारी कार्यालय जलाएर ध्वस्त पारियो। २३० वटा प्रहरी कार्यालयमा आगजनी लुटपाट भयो।
जहाँबाट करिव १,१०० नाल अत्याधुनिक बन्दुक र करिव एक लाखभण्दा बढी गोलीगट्ठा लुटपात भयो। उद्योगी ब्यापारीहरुका ८० वटा व्यावसायिक स्थलमा लुटपाट र आगजनी भयो। नेता र कर्मचारीहरुको करिव २५५ वटा निजी घरमा तोडफोड, लुटपाट र आगजनी गरियो।
खासगरी कांग्रेस र एमालेको पार्टी कार्यालय २०० वटा जलाइयो, सरकारी र गैरसरकारी सवारी साधनमध्ये चारपाँग्रे करिव ५३५ वटा र दुईपाँग्रे करिव ७०० वटाभन्दा बढी जलाएर खरानी पारिएको समाचार छ। अर्थात् आन्दोलनकारीको निसानामा ती सम्पत्तिहरु परे। हो रहेछ, जनताको बिद्रोह नापे जोखे जस्तो हुँदो रहेनछ।
यो दुई दिनको आन्दोलन, बिद्रोह, भागदौडमा परी समग्रमा ७४ जनाले ज्यान गुमाउनु प¥यो र करिव ३,२०० जना घाइते भएको प्रारम्भिक तथ्यांक भेटिन्छ। जेन–जी बिद्रोहको क्रममा सहादत प्राप्त गर्ने प्रति भावपूर्ण श्रद्धान्जली, शोक संतप्त परिवारजनमा समवेदना, घाइते सबैको शीघ्रस्वास्थ्य लाभको कामना छ।
बंगलादेशमा बिद्रोह पूरा हुन करिव ३४ दिन (जुलाई १ देखि अगष्ट ३, २०२४) लाग्यो, श्रीलंकामा १०० दिन (जुलाई १७, २०२२ सम्म) लाग्यो, तर नेपालमा करिव २ दिन (सेप्टेम्बर ८ र ९, २०२५) मा काया पलट भयोर आखिर बीर नेपाली न हुन्।
यति छिटो राज्यसत्ता ढल्छ भन्ने हेक्का स्वयम् जेन-जी योजनाकारलाई पनि आँकलन थिएन होला। भदौ २३ गते कलेज पोसाकमा रहेका विद्यार्थीको टाउको र छाती निसाना बनाएर हत्या नगरिएको भए सायद दुई चार दिन जेन-जी आन्दोलन हुन्थ्यो, र सकिन्थ्यो।
भदौ २३ गते जेन-जीको आन्दोलनलाई लिएर सुरक्षा निकायको तयारी निकै फितलो र लापरवाहीपूर्ण देखियो। माइतीघर मण्डेला चोक, शंखमूल चोक, तीनकुने कोटेश्वर चोक र नयाँ बानेश्वर उत्तर चोक तिरबाट जेन-जी आन्दोलकारी भेला हुने लस्करलाई राष्ट्रिय अनुसन्धानका संयन्त्रले नदेखेको पक्कै होइन होला।
सुरक्षा निकायका अधिकारीहरुले सूचना नपाएको पक्कै होइन होला। तर जेन-जी आन्दोलनकारीलाई यति साह्रो अवमूल्यन हुनेगरी कमजोर आँकलन गरियो, सानो तयारीले नियन्त्रण गर्न सकिने सायद अनुमान ग¥यो प्रहरी प्रशासनले।
तर, त्यसको ठिक बिपरित सुरक्षा संयन्त्रको घेरा एकैछिनमा टुत्यो, र हजारौं आन्दोलनकारीहरुले एकाएक संसद भवनलाई चारैतिरबाट घेराहाले, संसद भवनभित्र प्रवेशको स्थिति देखियो।
र, कहाँ कसको आदेशमा एकाएक गोली चल्न थाल्यो, र कलेज पोसाकमा रहेका विद्यार्थीहरु भटाभट गोलीको निसाना बन्न थाले, र ठूलो दुःखद हाड्सा भयो। प्रहरीको प्रतिवेदन अनुसार जेन-जी आन्दोलनकारीमाथि प्रहरीले २,६४२ राउण्ड गोली प्रहार गरेको रहेछ।
टाउकोमा गोली लागी गिदी निस्केको, छातीमा गोली लागेको र सयौं घाइते भएको समाचार र सोसल मेडियामा देख्दा र सुन्दा समेत अहिले पनि जीउ सिरिङ हुन्छ।
यो घटनाले नेता, नेतृत्व र प्रहरीले सिक्नु पर्ने पाठ के देखियो भने प्रधानमन्त्री र गृहमन्त्रीको गलत आदेश, वा प्रहरीको चेन अफ कमाण्ड राम्ररी पालना नहुँदा वा आदेश पालन गर्नेले विवेक गुमाउँदा ठूलो जनधनको नोक्सानी हुँदो रहेछ, प्रहरी प्रशासनले आफ्नो चैन अफ कमाण्ड गुमाउँदा अरुको त के कुरा आफ्नो समेत सुरक्षा गर्न असमर्थ हुँदो रहेछ, निमेस भरमा सरकारी र निजी सम्पत्ति तहस नहस हुँदो रहेछ। सारमा भन्दा शासनसत्ता उलट पलट हुँदो रहेछ।
सरकारलाई हेक्का रहोस्, सुरक्षा बलको मनोबल गिर्न नदिने गरी कमाण्डमा राख्न सक्नु पर्दो रहेछ। यस बीचमा यदि सेनाले पनि विवेक गुमाएर जेन-जी युवा आन्दोलनकारीमाथि प्रहरी प्रशासनले जस्तै गोली चलाएको भए सायद मुलुक गृह युद्धमा फसिसक्थ्यो, आज नेपाल मुलुक सायद बाँकी रहने थिएन होला।
वाह्य शक्तिकेन्द्रहरुको हस्तक्षेप भइ सक्थ्यो। अहो भाग्य, नेपाली सेनाको सुझबुझ र विवेकपूर्ण निर्णय, योजना र कमाण्डको कारण नेतृत्व पङतीमा रहेका नेताहरुको भौतिक जीउज्यानको सुरक्षा भयो, आन्दोलनको नाउँमा हुने लुटपात क्रमशः नियन्त्रणमा आयो, एउटा सहज राजनैतिक अवतरण भएको छ। समग्रमा भन्दा ठूलो दुर्घट्ना हुनबाट नेपाल मुलुक जोगिएको छ।
सकारात्मक रुपमा विश्लेषण गर्ने हो भने जेन-जीहरुको जोश, जाँगर, उत्साहा, बलिदानी र बिद्रोहको उचाईलाई “ठम्स अप” गर्न लाएकको थियो।
केपी ओली नेतृत्वको सरकारले सोसल मेडिया बन्द गरेको कारणले मात्र यो आक्रोस प्रदर्शित भएको थिएन, वर्षौवर्षसम्म नागरिकहरुले राज्य संयन्त्रबाट भोगेको भ्रष्टाचार, सास्ती, बेथिति, ढिलासुस्ती, राजनैतिक नेतृत्वपक्तीप्रतिको रिक्तिएको आशाको भुसबाट विस्फोट भएको रापयुक्त आक्रोश, राजनैतिक नेतृत्व, तिनका नातेदार, र उच्च पदस्थ कर्मचारी र तिनका परिवारहरुले खुलेआम विलासितायुक्त जीवन जिउने होडबाजी, सरकारी जागीर खाएको १० वर्ष पुग्दा नपुग्दै ठूला सहरमा चार पाँच ठाउँमा मन्जिलायुक्त घर, करोडौं पर्ने गाडी, सांसद मन्त्री बनेको केही वर्षमै चप्पलछापबाट गाडीछाप हुने, झुपडीबाट महलमा स्तरोन्नती हुने, श्रीमती छोरीहरुले ८-१० लाख पर्ने हाते ब्याग बोक्ने, छोराहरुले सुनको व्यापार गर्ने, यसैगरी नियमित आम्दानीको कुनै श्रोत छैन तर महगा कलेज र विदेशमा छोरा, छोरी, नाति नतिना पढाउने, यसको उल्टो आम नागरिकको जीवन झन् झन् कष्टकर हुँदै जाने असमान जीवन शैली बीचको खादलबाट विस्फोट भएको ज्वाला पनि सँगै पड्किएको हो।
यसो भनी राख्दा सबै नेता र कर्मचारीहरु भ्रष्ट छन् भनी दोषारोपण गर्न खोजिएको चाहिँ कदापि होइन। एक बोरा आलुमा एक दुइटा कुहिँदा सबै आलु गन्हाएजस्तै भएको हो।
२०४६ सालमा बहुदलीस्य व्यवस्था पुनःस्थापित भएपछि मुलुकमा विकास नभएको पक्कै होइन, धेरै विकास भएका छन्, गाउँ गाउँ, तराई, पहाड र हिमाली क्षेत्रमा पक्की सडक पुगेका छन्, प्रायः सबै विद्यालय र कलेज पक्की छन्, बेन्च डेक्स, कुर्सी, फर्निचर पुगीसरी नै छन्, धेरैजसो विद्यालयमा कम्प्युटर सुविधा छन्, वडा वडामा पक्की स्वास्थ्य चौकी र जिल्लामा जिल्ला अस्पताल बनेका छन्, बिजुली सबै घरधुरीमा पुगेको छ, हात हातमा मोबाइल छ, धेरै जसो गाउँ ठाउँमा नेट, वाइफाई सेवा पनि पुगेकै छ, तर पनि राजनैतिक दल, नेता र राज्य संयन्त्रबाट नागरिकहरु खुशी र सन्तुष्ट देखिदैनन्, र छैनन्, यसको धेरै कारण होलान।
अर्को सत्यतथ्य के हो भने जुन गति, मति र जनभावना अनुसार काम गर्न सक्नु पथ्र्यौ, विकास हुनु पथ्र्यो त्यो भने पक्कै भएको छैन। आर्थिक, शैक्षिक र सुशासनको हिसावले निकै पछाडि मानव विकास सूचकांक रहेका मुलुक हामीभन्दा धेरै माथिल्लो विकासको गतिमा पुगीसके, हामी भने तुलनात्मक विकासको गतिमा बामे सर्दैछौं।
दुई वर्षको अवधि पाएर निर्माण व्यवसायीले ठेक्काको काम शुरु गर्दछ, ३ वर्ष बित्छ, ४ वर्ष बित्छ, तर धेरैजसो काम सम्पन्न हुँदैन, राष्ट्रिय गौरवको योजनाले समेत तोकिएको अवधिमा सम्पन्न हुने गरी बजेट निकासा पाउँदैन, निकासा पाउनेले पनि समयमा काम गराउन सक्दैनन्।
यो बेथितिको धेरैकारणहरुमध्ये अस्थिर सरकार वा ६-७ महिने मन्त्रीमण्डल हुनु पनि एक हो, एउटा सरकारले बनाएको बजेटमा अर्को सरकार आउँछ, अधुरो काम गर्दागर्दै बजेट बनाउन नपाउँदै ढल्छ।
अर्को सरकार बन्छ, एउटाले अर्काको लागि भनेर टालटुले बजेट बनाउँछ, लागू अर्कोले गर्दछ। छ महिने प्रधानमन्त्री र मन्त्रीहरुलाई कर्मचारीहरुले त के कुरा निर्माण व्यवसायीले पनि टेर्दैन। निकै अटेरी गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छु भनी प्रक्रिया अगाडि बढाउँदा बढाउँदै मन्त्री पदबाट कुन बेला आफू खुस्की सकेको हुन्छ।
कर्मचारी र निर्माण व्यवसायी मिलेपछि प्रधानन्त्री, मन्त्री, सांसदहरुले विकासको जस लिनै पाउँदैनन्। “खेत खाने मुसो, चोट पाउने भ्यागुतो” भनेझैं काम अटेर गर्ने एउटा पक्ष, बदनाम जति नेताहरुको। जनताहरुले नेताहरुप्रतिको आशा, भरोसा र विश्वास गुमाएको एउटा सत्य तस्वीर हो आजको अवस्था।
किनकि काम गर्ने गराउने माहोल बन्न बनाउन सकिएको छैन। हो, ठूला पावरवाला, जहिले पनि सत्ताको म्युजिकल चियरवाला शक्तिकेन्द्रमा सदा रहीरहने, पार्टी र सरकार चलाउने अग्रणी पंक्तिमा रहने केही नेताहरुले सरकारी योजना, बजेट, सरकारी नियुक्ति, सरुवा, बढुवा आदिमा नाजायज फाइदा लिएकै होलान्, जीवन शैली बदलेकै हुन्।
यसमा केवल नेताको मात्र दोष छैन, भ्रष्टाचार गराउन होडबाजी गर्ने गराउनेहरु पनि उत्तिक्कै दोषी छन्। विधि प्रक्रियाभित्र बसेर पालो कुरौं त, कुनै पनि नेताले भ्रष्टाचार गर्नै पाउँदैन, सक्दैन। पालो नाघेर हाकिम बन्न होडबाजी गर्ने, नहुने काम गर्ने गराउने अनि दोषजति नेतालाई लगाउने, कस्तो विडम्बना।
यी सबै बेथितिको बिरुद्धमा जेन-जी बिद्रोह भएकै हो, जुन हुनु पथ्र्यो। भ्रष्टाचारीहरुलाई कारबाही हुनैपथ्र्यो, नाताबाद फरियाबादको अन्त्य हुनैपथ्र्यो, विकासको नाममा हुने बेथितिको अन्त्य हुनैपर्थ्याे , नेपालीले विकासको अनुभूति महसुस गरेको हुनु पर्थ्याे, युवाहरुले अवसर पाउने बाटो बन्नै पर्छ, बिदेशमा होइन स्वदेशमै रोजगारी पाउनै पर्छ।
यसमा कसैको दुई मत छँदैछैन। तर, जेन-जी आन्दोलनको दौरानमा विभिन्न माध्यमबाट जे सुनियो, जे देखियो, त्यो बाटो के सही थियो त? सरकारी सवारी साधन, कार्यालय, मन्त्रालय जलाउनेहरुलाई सोध्दा, व्यापारिक घरानाका ठूल ठूला व्यवसाय र व्यापारिक केन्द्रमा तोडफोड, लुटपात र आगजनी गर्नेहरुलाई मेडियाकर्मी र युट्युबरहरुले सोध्दा मैले राज्यलाई कर तिरेको छु, मेरो पसल छ, मैले पनि राज्यलाई कर तिरेको छु, यो मेरो पनि सम्पत्ति हो, त्यसैले मैले लान वा लुट्न पाउँछु, तोडफोड र जलाउन पाउँछु, मेरो अधिकार हो भन्ने गैरजिम्मेवारपूर्ण जवाफ हाकाहाकी दिने गरेको तमाम सुन्नमा आयो।
जेन-जी युवाहरुलाई अधिकारको एड्भोकेसी गराई राख्दा राज्य र मुलुकको सम्पत्ति प्रतिको जेन-जी युवाहरुको दायित्व के हो, त्यो सुसूचित गराउन चुक भयो कि? तोडफोड, लुटपात र आगजनीको माध्यमबाट कानूनी राजको धज्जी उडाउँदै भ्रष्टाचारीको नाममा नेता, कर्मचारी र ब्यापारीहरुको नीजि घरमा लुटपात र आगजनी गर्दा तपाई जेन-जीहरुले आफ्नो योजना अनुसार, नेतृत्वको निर्देशन अनुसार गरेजस्तो लाग्छ?
अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार करिव २५५ जनाको निजी घरमा लुटपात र आगजनी भएको छ, के ती सबैजना वास्तवमा भ्रष्टाचारी नै थिए त? भ्रष्टाचारी भए छानविन गर्ने विधि छ, कानून छ, सरकारी निकाय छ, त्यसले कारबाही गर्ने हो। व्यक्तिगत प्रतिशोध साध्न जेन-जी आन्दोलनको आडमा लुटपात र आगजनी भएको धेरै गुनासो सुनियो।
अर्को कुरा ती निजी घर र व्यवसाय केवल कथित भ्रष्टाचारी नेता वा कर्मचारी एकजनाको मात्र त थिएन, उसको परिवारमा अरु पनि सदस्य छन्, राजनीतिमा लाग्नुभन्दा पहिलेदेखि जोडेको पुर्खौली सम्पत्ति, घरबारी छ, तपाईंहरु जस्तै जेन-जी युवाहरु पनि छन्।
तीसबैको सम्पत्तिमा तोडफोड, लुटपात र आगजनी गर्ने आदेश कसले दियो? योजनाकार को हुन्? कतै तपाईंहरुलाई मोहडा त बनाइएन, हेक्का राख्नु होला। आजभोलि बजारमा व्यापक हल्ला छ, दशैं तिहारपछि फेरि कुनै पक्षले ठूलो आन्दोलन गर्ने तयारीमा छन्, कतै त्यही निहुँमा विदेशीहरुको सैनिक क्रिडास्थल नेपाल नबनोस्, यदि त्यो भयो भने ठूलो दुर्भाग्य हुनेछ नेपाल र नेपालीहरुको बिरुद्ध।
चोक चोकमा रहेको सालिक तोडफोड भयो, लात्ताले हिर्काएर अपमान गरियो। के उहाँहरु यही लायकका हुनु हुन्थ्यो? पक्कै होइन। बीपी कोइराला, लौहपुरुष गणेशमान, पुष्पलाल, लखन थापा, सेतु बिक जस्ता व्यक्तित्वहरुको सालिक तोडफोड गरियो। के जेन-जी युवाहरुलाई उहाँहरुको राजनैतिक, सामाजिक र ऐतिहासिक योगदानको बारेमा थाहा छ? थाहा भए यस्तो घटना हुने थिएन होला।
मुलुकको लागि, लोकतन्त्रको लागि त्याग र नागरिक हक अधिकारका लागि तपाईंहरु भन्दा निकै बढी बलिदान, जेल, नेल भोगेर, आन्दोलनमा ज्यान गुमाएर शहीद र राष्ट्रिय व्यक्तित्व भएकाहरुको सालिकमाथि अपमान गर्नुभयो।
जेन-जी आन्दोनलका अबोध किशोर शहीदहरुको भोलिका दिनमा सालिक बन्छ, यो पंक्तिकार पनि सहमत छ, बनाउनु पर्दछ। तर फेरि अर्को कुनै आन्दोलन हुँदा त्यो भिडले जेन-जी शहीदहरुको सालिक तोडफोड गर्यो भने जेन-जीहरुले बोल्ने, भन्ने र न्याय खोज्ने ठाउँ बाँकी कहाँ रह्यो त?
ऐतिहासिक व्यक्तित्वको सालिक संरक्षण गरेर, नयाँ बनाएर पर्यटकीय स्थल बनाउने, स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने अभ्यास कैयन मुलुकमा छ। रुसमा डेमोक्रेटिक समूहको प्रोटष्ट हुँदा कम्यूनिष्ट नेता लेलिनको सालिक क्रेन लगाएर ढालियो, आन्दोलनकारीहरुले त्यसमाथि चढेर जुत्ताले हिर्काए, र केही समयपछि गल्ती गरेको महसुस भयो र केही वर्षभित्र त्यही ठाउँमा लेलिनको सालिक पुनः पहिलेभन्दा ठूलो र भव्य निर्माण गरे।
सिंहदरबार, मन्त्रालय, सरकारी भवन, अदालत र अख्तियारमा रहेका महत्वपूर्ण कागजात, भौतिक पूर्वाधार जलेर भष्म हुँदा जेन–जी आन्दोलनकारीहरुको हातमा के आयो त? फगत एउटा ७३ वर्षीया महिला प्रधानमन्त्रीसहितको ६ महिने सरकार।
संविधान उही, ऐन कानून उही, राष्ट्रपति उनै, राष्ट्रियसभा उही, अदालत र न्यायधीश उनै, कर्मचारीतन्त्र उही, राजनैतिक दल उनै, प्रदेश संरचना, सांसद र स्थानीय सरकार उनै पुराना दलका जिउँदै छन्, पुराना र ठूला दल कांग्रेस, एमाले र माओबादी पार्टीको नेतृत्वको सोंच र कार्यशैलीमा खासै परिवर्तन आएको जस्तो समाचार छैन, पुरानै प्रवृत्तिको रटान सुनिन्छ।
जेन-जी आन्दोलनको निहुँमा देशब्यापी तोडफोड, लुटपात र आगजनीबाट बरु खरबौंको नोक्सान भयो। नेपालको इतिहासमा थुप्रै पटक राजनैतिक, वर्गीय, क्षेत्रीय, लैंगिक, जातीय, पेसागत, आदि आन्दोलन भए, माओवादी सशस्त्र बिद्रोह पनि भयो। तर राष्ट्रिय र निजी सम्पत्ति यतिधेरै नष्ट भएको थिएन।
अदालतमा रहेको फाइल छानी छानी नष्ट पारियो भन्ने व्यापक हल्ला छ, अख्तियार कार्यालयबाट पनि गरुंगा फाइल जलाइयो भन्ने सुनिन्छ। सिंहदरबारमा रहेको राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका सन्धी, महासन्धी, सम्झौताका आधिकारिक दस्तावेज सबै जलेर नस्ट भयो भन्ने भनाइ आइरहेको छ। अरु सरकारी कार्यालय, प्रहरीहरुको कार्यालय, हातहतियार र दस्तावेजहरुको त हिसावै रहेन। करिव २७ घण्टामा मुलुकै स्वाहा भयो। आखिर यसबाट फाइदा कसलाई पुग्यो?
खासगरी नेपाली कांग्रेस, एमाले र तुलनात्मक कम माओदावी पार्टीका नेताहरु र केही उच्च पदस्थ कर्मचारीहरुको निजी घर, सम्पत्ति र सवारी साधन तोडफोड, लुटपात र आगजनी गरियो। यो घटनाले एउटा राम्रो पाठ सिकाइ भने अवश्य भएको छ।
अबको दिनमा कुनै नेता, कर्मचारी, दलाल वा ठेकेदारले भ्रष्टाचार गर्नुभन्दा अगाडि दश पटक अवश्य सोच्नु पर्नेछ। जसको कारण भ्रष्टाचारको मात्रा न्यूनीकरण अवश्यक हुनेछ। वडा, पालिका र प्रदेश यसैगरी विभिन्न तहका सरकारी कार्यालयमा हुने अनियमितताको बारेमा तपाईं जेन-जीहरुले देख्नु वा झेल्नु भएकै छैन होला।
सूचना नै छैन भन्ने सुन्नमा आएको छ। कुलमा जोड्ने हो भने केन्द्रीय शासन सत्तामा हुनेभन्दा धेरै बेथिति त तलकै संरचनामा रहेको गुनासो छ। यो तहको संरचनाका राजनैतिक र कर्मचारीतन्त्रको मुटुमा भयानक डरको भूकम्प अवश्य गएको छ।
आशा गरौं, पहिलेजस्तो खुलेआम बेथिति नहोला। यसको दोष केवल नेता र कर्मचारीहरुको टाउँकोमा मात्र जाँदैन, उनीहरु पनि यही समाजका हुन्, कतै न कतै तपाई हामी पनि दोषी हुन सक्छौं, मात्रा फरक होला।
जेन-जी आन्दोलनको क्रममा निजी घर, सरकारी कार्यालय, व्यापारिक केन्द्र र बैंकबाट नगद, सुनचाँदी, कम्प्युटर, टेबल, कुर्सी, फ्रिज, रक्सी, बियर हुँदा हुँदा चाउचाउ, बिस्कुट र खेलौना गुडिया पनि लुटेर लगेको त दुनियाले देखेकै हो। आखिर तपाई हामीले मौका नपाएर मात्र चोखो रहेछौं जस्तो भएन र ?
यी बाहेक जेन-जी आन्दोलनबाट सृजित परिस्थितिबाट बाँकी सबै नराम्रो भयो। जे जति व्यक्तित्वको घरमा आक्रमण भयो, के ती सबै यही स्तरको कारबाही गर्नुपर्ने खालका थिए त? ठूलो प्रश्न जेन-जी आन्दोलनकारीहरु सामुन्ने तेर्सिएको छ।
श्रीलंका, बंगलादेशलगायत बिद्रोह भएको मुलुकमा पनि यही भएको हो। यदि श्रोत नखुलेको अकुट सम्पत्ति (सुन, चाँदी, हिरा, मोती, स्वदेशी बिदेशी नगदी, जिन्सी, आदि) वास्तवमा फेला परेकै थियो भने रियल टाइम र रियल भेन्यू बेसिस (ठाउँका ठाउँ) मा त्यसलाई सहीसलामत अवस्थामा सार्वजनिक गर्न सक्नुपथ्र्यो, मेडियाकर्मी र सोसल मेडिया तपाईंहरुको अगाडि पछाडिसँगै हुनुहुन्थौं।
तब ती भ्रष्ट भनाउँदा नेता, कर्मचारी, उद्योगी वा व्यापारीहरुलाई भ्रष्टाचारीको नाममा कठघरामा उभ्याउने र कडाभन्दा कडा कारबाही गर्न मजाले सकिन्थ्यो। तर, उल्टो भयो, भेटिएको भनेको अकुट सम्पत्ति कतै गुपचुप र कतै खुलेआम लुटपात भयो, बाँकी बक्यौता यदि बच्यो भने आगजनी गरियो, जल्यो नष्ट भयो, प्रमाण के बाँकी रह्यो र?
धेरथोर प्रमाण मन्त्रालय, अदालत र अख्तियारमा भेटिन्थ्यो होला, त्यो पनि जलेर नष्ट भयो। जेन-जी आन्दोलनकारीहरुले लुटपात र आगजनी गरेर केहीलाई कुट्नु भयो, तर्साउनु भयो, सकियो, कानूनी राज्यमा कारबाही गर्न, जेलहाल्न प्रमाण चाहिन्छ, प्रमाण सबै नष्ट भयो।
जेन-जी आन्दोलनको रापताप रहुन्जेल ६ महिने मन्त्री मण्डलले केही गरेजस्तो गर्लान आशा गरौं, तीन महिनापछि चुनावको आचार संहिता लागू हुन्छ, यो अवधिमा कसैमाथि कानूनी कारबाही गर्न पाइँदैन, त्यसपछि चुनाव हुन्छ, चुनाव जित्ने जेन-जीहरु होइनन् होला, जेन-जीहरुको आफ्नो नेतृत्व र राजनैतिक दल छैन, संगठन छैन, मतदाता नामावलीमा नाम सूचीकृत छैन, स्वतन्त्र उठेर के पार लाग्ला र, त्यसैले शासन सत्ता चलाउने जेन-जीहरु होइनन् होला, चुनाव जित्ने र सत्तामा पुग्ने त उनै हुन्, ६० नाघेका, ७० नाघेका पुरानै दलका नेताहरु।
जेन-जी आन्दोलनले पुराना दलका नेताहरुको दिमागमा ठूलो ढ्याँग्रो भने अवश्य ठोक्किएको छ कि अब पुरानै सोच, चिन्तन, नेतृत्व र शैलीले अब पार्टी चलाउन त सकिएला, तर जनप्रिय र चुनाव जित्न सकिदैन भनेर।
यसर्थ कांग्रेस, एमाले र माओबादी पार्टीका युवा नेताहरुले जेन-जीहरुको भावना र उनीहरुले उठाएका माग मुद्दाहरुलाई सम्बोधन गर्दै युवा नेतृत्व र व्यक्त्तित्वहरुलाई अगाडि सारेर, नयाँ सोंच चिन्तन र कार्यशैली लिएर पार्टी संगठनलाई सुदृढ र संगठित बनाएर लानु पर्दछ, जनता सामु जानु पर्दछ भन्ने जोरदार रुपमा अन्तरसंघर्ष शुरु गर्नु भएको छ।
अग्रज नेतृत्वहरुले आजको मितिसम्म हामीले जेजति गर्यो मुलुक र नागरिककालागि राम्रै गर्यो, अब पार्टी र मुलक सम्हाल्ने र नेतृत्व गर्ने जिम्मेवारी ससम्मान युवा पुस्ताका नेताहरुलाई सुम्पिनु नै आजको सुरक्षित अवतरण हो भन्ने निस्कर्षमा पुग्न सक्नु पर्दछ।
आफ्नो ब्यक्तिगत मान अपमान भन्दा माथि उठेर मुलुकको जितकोलागि समानुपातिक लोकतन्त्र र बहुदलीय व्यवस्थालाई जोगाई राख्न नेताहरुले त्याग र सुझबुझ देखाउनु पर्ने व्यापाक जनावाज गाउँ गाउँबाट उठी रहेको छ।
पुरानै सोच, चिन्तन र नेतृत्व रही रहेमा पुनः जेन-जीहरुकै वा त्योभन्दा प्रविधि सम्पन्न पुस्ताले २०८२ साल भादौं २३ र २४ गतेको भन्दा कठोर बिद्रोह नगर्लान भन्न सकिन्न। यसर्थ, नेता, कर्मचारी, निर्माण व्यवसायी र व्यापारीहरु पहिले आफू सुध्रिने, पार्टी सुधार्ने अनि बल्ल मुलुकलाई सुविधा सम्पन्न समृद्ध बनाई जेन एक्स र जेन जेडहरुको आवस्यकता र प्राथमिकतालाई सम्बोधन गर्न सक्नु पर्दछ, युवाहरुलाई स्वदेशमै रोजगारी र राज्यबाट सुशासन दिन सक्नु पर्छ। सबैलाई चेतना भया।
















Ke payo ra ke Gumayo vanda pani at least Damvi, Buddu tana sah ko antya vayeko chha , jun ati abasek thiyo, yesta racist P M KP Oli janta ra Desh ko PM hunu parne ma Yemale ra tyo vitra jasle chakkadi garyo tyo matrai sathai Dalal , Mafia, Bichaulia, Taskar, Gunda, Jhole, Bharaute ko laththu PM thiyo,yesta lai Fashi dinu parchha.