सहकारी नियमन प्राधिकरण र चार्टड एकाउन्टेन्टस्बीच समझदारी
काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्था बीच सहकार्य गर्ने समझदारी भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत सहकार्य गर्ने समझदारी गरेका हुन्।
यसैगरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ सार्वजनिक गरेको छ। साथै, सहकारी नियमनको प्रभावकारिता बढाउने उद्देश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आपसी समझदारीपत्रमा समेत हस्ताक्षर गरिएको छ।
ललितपुरको पुल्चोकस्थित प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा, सहकारी ऐन, २०७४ संशोधनपछि गठन भएको प्राधिकरणले सहकारी दर्ता, अनुगमन, सुपरीवेक्षण तथा नियमन कार्यलाई प्राविधिक र पारदर्शी बनाउनेतर्फ अघि बढिरहेको जानकारी गराइएको छ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ अन्तर्गत अब संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सो प्रकारका सहकारीहरूले अनिवार्य रूपमा प्राधिकरणमा दर्ता गराउनु पर्नेछ।
आगामी असोज महिनादेखि अनलाइन दर्ता प्रक्रिया सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।
उक्त समझदारीले दिगो वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग पु¥याउने प्राधिकरणको विश्वास छ।







डिसी नेपाल







Facebook Comment