अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुन्छ : मन्त्री घिसिङ

डिसी नेपाल
१० असोज २०८२ १८:२९
68
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अनियमितता र भ्रष्टाचार कायम रहिरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने बताएका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनको चेतावनी दिएका हुन्।

‘मेरो र प्रधानमन्त्रीज्यूको पनि ठुलो इच्छा छ–नेपाललाई सुशासनको दिशामा अगाडि बढाउने र कसैले अनियमितता र भ्रष्टाचारको कुनै किसिमको गन्ध आयो भने तत्काल कारवाही गर्ने निर्देशन पनि छ,’ उनले भने, ‘त्यसलाई हामीले हुबहु कार्यान्वयन गर्नुपर्छ। यसमा कसैलाई छुट छैन। यो विषयमा हामी चुक्यौ र कतै यस्तो क्रियाकलाप भयो भने वा गर्न सकेनौ भने यो देशमा अर्को ठुलो विद्रोह हुनेछ। त्यो विद्रोहले कसैलाई पनि छाड्ने छैन्।’

देशमा सुशासन कायम गरी युवा पुस्ताको चाहना पुरा गर्न गम्भीर रुपमा सबैजना लाग्नुपर्ने समेत बताए।

उनले भने, ‘यो देशमा सुशासन कायम गर्नेलगायत देशमा भएका विभिन्न वेथितिहरुलाई अन्त्य गरेर देशलाई समृद्धितिर बढाउन देशभित्र नै बसेर काम गर्ने वातावरण बनोस् भन्ने युवा पुस्ताको चाहना पुरा गर्ने गम्भीर रुपमा लाग्नु पर्नेछ।’

यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले कुलमानको प्रशंसा गर्दै प्राधिकरणलाई उचाइमा पुर्याउनुभएको बताए।

‘आज हामी गौरवका साथ भन्दै छौ, उहाँले जुन हिसावले हाम्रो सस्थालाई एउटा उचाईमा पुर्याउनुभयो, जुन मार्गचित्र कोर्नुभयो हामी त्यही मार्गमा हिडिरहेका छौं,’ उनले भने, तपाई(कुलमान)ले जुन हिसावले संस्थाको प्रगतिको उकालो लाग्दो ग्राफ तयार गर्नुभएको छ त्यो ग्राफलाई तल झर्न दिने छैनौ भन्नेमा म विश्वस्त छु। यसमा सबै कर्मचारी साथीहरुको सहयोग प्राप्त हुनेछ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.