हेटौंडाको खसी बजारमा चहलपहल, व्यापार उकालो
हेटौंडा । दसैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ। शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ।
स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ। यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ।
मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका छन्।
किसानहरूले भने बजारको अव्यवस्थित अवस्थाबारे गुनासो गरेका छन्। उनीहरूका अनुसार राप्ती खोलाको किनारमा रहेको यो खसी बजारमा हरेक वर्ष जस्तै यस वर्ष पनि उचित व्यवस्थापन नभएको कारण किनमेल र यातायातमा समस्या भइरहेको छ। लाखौँको संख्यामा ल्याइने खसी र बोकाका कारण बाटो अवरुद्ध हुने, किनमेलका क्रममा ज्यानको जोखिम हुने अवस्था देखिएको किसानहरूको गुनासो छ।
स्थानीय स्तरमा उचित पूर्वाधार र व्यवस्थापनको अभावले किसान र उपभोक्ता दुवैलाई असुविधा भइरहेको बताउँदै उनीहरूले हेटौंडा उपमहानगरलाई बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment