ओलीको प्रश्न : ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं?

डिसी नेपाल
११ असोज २०८२ १४:१०
216
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन्।

बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन्।

ओलीले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो। यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरु, बोलेका कुराहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस्। कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस्। प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस्। सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस्।’

ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए।

उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौं। छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अगाडि बढ्छौं। जनतालाई सेवासुविधा दिन, शान्तिसुरक्षा कायम गर्न र कानुनी राज्यको स्थापना गर्न हाम्रो नीति स्पष्ट छ।’

भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए। उनले भने, ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन। कहाँ, केमा ग¥यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन्।’

साथै उनले अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले त्यसप्रति पनि आपत्ति जनाए।

उनले प्रश्न गरे, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हाहु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? के सोचेकै हो ?’

ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहो¥याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए।

उनले भने, ‘फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक, मूलधारमा ल्याउँछौं। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौं।’

ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे। उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.