दसैंविहीन खोकनामा सिकाली जात्राको रमझम

डिसी नेपाल
११ असोज २०८२ १७:३२
64
Shares

ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन्। दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ।

ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो।

जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ। विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ।

स्थानीय हिराकाजी महर्जनका अनुसार कुमार केटाहरूले गाउँ परिक्रमा गरि संकलन गरेका पूजा सामग्रीले तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने प्रचलन रहेको छ।

‘सिकाली हिड्ने ११ गते पञ्चमीबाट हो। १२ गते षष्ठीका दिन लाछी टोलमा पुगिन्छ। त्यसको पछि रुद्रायणी देवतालाई खटमा राखि सबै जनाले पुजा गर्छन् र बेलुका जात्रा निकालिन्छ,’ उनले भने, ‘हामी माथि बसेर भोज खान्छौ र नाइकेले सुकुन्डा झ्यालबाट नदेखाइ खट उचाल्न मिल्दैन।’

सिकाली जात्राका बेला देखाइने नाच, तान्त्रिक विधिबाट गरिने पूजा तथा अन्य कामहरुलाई विभिन्न गुठीमा कार्यविभाजन गरिने पनि महर्जनले बताए।

सिकाली जात्रामा रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमारको नाच देखाइन्छ।

सबै देवगणलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट पुजा गरि मन्दिरबाहिर निकालेपछि सिकाली परिसरमा नचाइने र यो नाच नै जात्राको मुख्य आकर्षण रहेको महर्जनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.