आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो
काठमाडौं। नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिनेमा यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन स्कन्दमाताको पूजाआराधना गरिएको हो।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ। कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन। पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन्। ऋषि ऊँट बने। शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन्।
पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो। भोक लागेका बेला जङ्गलका काँडा चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन्।
ऋषिको जवाफबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषि तपाईं ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्त्व नबुझी मैले श्राप दिएँ, त्यसबाट मलाई ठूलो पश्चाताप छ, अब म तपाईंलाई पुत्रका रूपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहनगएको भन्ने कथामा उल्लेख छ। स्कन्दको अर्थ सनतकुमार हो।
स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ। छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहनगएको हो। स्कन्दको माता भएकाले पार्वती स्कन्दमाताका नामले कहलाउनुभएको हो।
नवरात्रका नौ दिन घटस्थापना गरिएकोस्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन्।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो।
दोस्रो दिन मङ्गलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो। चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार चतुर्थी तिथि परेकाले कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो।
छैटौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको हो । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्छ। यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । नवरात्रको छैटौँ दिन आइपुग्दा शक्तिपीठमा पनि घुइँचो बढ्न थालेको छ ।







डिसी नेपाल







Facebook Comment