अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

डिसी नेपाल
१२ असोज २०८२ १५:४७
16
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए।

भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे।

उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोग उल्लेखनीय रहेको बताए।

साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा दिएको योगदानप्रति पनि कृतज्ञता व्यक्त गरे।

उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिक रूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.