प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

डिसी नेपाल
१२ असोज २०८२ १७:३२
388
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त भएका छन्।

मन्त्रिपरिषदको आइतबारको बैठकले खनाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।

त्यस्तै, मन्त्रिपरिषद बैठकले गोविन्दनारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकार पदमा नियुक्त गरेको छ। तिमल्सिना विवेकशील नेपाली दलका संस्थापक सदस्य हुन्।

यसैगरी सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री खरेलले बताए।

बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ भने घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए।

बैठकले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौ बैठकमा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता खरेलले बताए।

त्यस्तै मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तरको मुग्लिङ बजारको पारीपट्टी त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङदी नदीको बायाँ किनार हुँदै मस्र्याङदी विद्युत् गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने र सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५-१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.