सालको पात बेचेर चाडपर्व खर्चको जोहो
सुनसरी। इटहरी उपमहानगरपालिका-४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेकी छन्।
उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन्। हुन त अरु बेला पनि यो उनका लागि आम्दानीको मुख्य स्रोत हो। हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन्।
उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ। अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ।”
धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा आठ हजारदेखि १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन्।
सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ। यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन्। यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ।
इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आउनुभएको छ । उहाँले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन्।
घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ । “दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ। यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा रु ४० देखि ६० र ठूलो मुठा रु १०० सम्म बिक्री गरिरहेकी छु”, उनले भनिन्।
उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात संकलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेका छन्। पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा सङ्लग्नहरूको भनाइ छ।







डिसी नेपाल








Facebook Comment