मध्य क्षेत्रमै सक्रिय मनसुन, काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम
काठमाडौं। शुक्रबार रातिदेखि देशको मध्य क्षेत्रमा सक्रिय बनेको मनसुन प्रणाली पूर्वतर्फ सर्दै जाँदा काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बाढीको उच्च जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका प्रमुख बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल बागमती, मधेस, गण्डकी र कोशी प्रदेशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
उनले भने, ‘हाल काठमाडौंसहित बागमती, मधेस, गण्डकी प्रदेशको पूर्वी क्षेत्र, लुम्बिनी प्रदेशको पूर्वी क्षेत्र र कोशी प्रदेशको पूर्वी भागमा वर्षा भइरहेको छ। यो प्रणाली भोलिसम्म सक्रिय रहने देखिएको छ।’
विशेषगरी बेलुका र रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ, जसले गर्दा नदी-नाला र खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम उच्च रहेको उनले बताए।
खासगरी काठमाडौं उपत्यका तथा वरपरका धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, मकवानपुर, चितवन र गोरखा जिल्ला उच्च जोखिममा छन्। त्यसैगरी, तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीजस्ता जिल्लाहरूमा पनि बाढीको जोखिम बढेको छ।
उनले भने, ‘जिल्लागत रुपमा हेर्ने हो भने काठमाडौं उपत्यकाको क्षेत्र र वरिपरि धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र तल सिन्धुली, मकवानपुर, चितवन, गोरखा, यसैगरी तराईका जिल्लाहरुमा खासगरी बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा चाँही अहिले बाढीको जोखिम उच्च देखिएको छ। यो प्रणाली पर्सिसम्म रहने भएकोले जोखिम उच्च छ।’
‘नदीहरू खतराको तह नजिक पुगेका छन्,’ पराजुलीले भने, ‘बाढीका सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।’
मौसम विभागले सम्भावित बाढी, पहिरो र डुबानप्रति सतर्क रहन सर्वसाधारण, स्थानीय निकाय र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
मनसुन प्रणाली अझै पर्सिसम्म सक्रिय रहने अनुमान गरिएकाले जोखिम यथावत् रहने विभागले जनाएको छ।







डिसी नेपाल







Facebook Comment