मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

डिसी नेपाल
२४ असोज २०८२ १५:१२
24
Shares

गोरखा । गोरखामा अवस्थित मनास्लु हिमाल आरोहीबाट १५ करोड राजस्व सङ्कलन भएको छ। यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ।

आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन्। ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व सङ्कलन भएको थियो। त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै सङ्कलन भएको छ। कुल ८०२ आरोहीमध्य ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए। उनीहरुबाट रु ४२ लाख १२ हजार ३७५ राजस्व सङ्कलन भएको छ। आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित छ। यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *