तुलसी शर्माको आधुनिक नेपाली कथामा लैंगिकता पुस्तक लोकार्पण
धनगढी । साहित्यकार डा. तुलसी शर्माद्वारा लिखित आधुनिक नेपाली कथामा लैंगिकता विषयक पुस्तक लोकार्पण गरिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा आयोजित दसैं तथा शुभ दिपावली २०८२ को शुभकामना आदान प्रदान समारोहमा उक्त कृति विमोचन गरिएको हो।
समीक्षक नरेन्द्र भट्टले १९८० बाट नेपाली साहित्यमा लैंगिकताको अध्ययन सुरु भएको देखिने र त्यस क्षेत्रमा यो कृतिले एउटा इट्टा थप्ने काम गरेको बताए।
समाजमा महिलाको कमजोरस्थिति रहेको र त्यो अन्य हुनुपर्ने उनको धारणा थियो। ‘आधुनिक नेपाली समाजमा पनि पितृ सत्ताकै कारण महिला पीडित र स्वषित हुनुपरेको छ। आधुनिक नेपाली कथामा पनि पितृ सत्ताले नै नारीको भूमिकालाई दोएम् बनाएको हो। समाजमा लैंगिक विभेद्, लैंगिक हिंसा, लैंगिक स्वषणको कहाली लाग्दो अवस्था नेपाली कथामा देखिएको निष्कर्ष यस कृतिले औंल्याएको छ,’ उनले भने।
यस्तै समीक्षक बेद जोशीले साहित्य लेखिएका कृतिको समीक्षा गर्ने हिम्मत आफैँमा चुनौतिपूर्ण रहेकोमा त्यो चुनौतिलाई चिर्न शर्मा सफल भएको बताए।
समीक्षक गणेश जोशीले मानव सभ्यताको सुरुदेखि नै लैंगिकता पेचिलो विषय रहेको बताए। जोशीले लैंगिक विभेद् देश, भूगोल, समुदाय र धर्म अनुसार फरक हुने भए पनि सबै ठाउँमा विभेद् रहेको बताएका छन्।
‘लिंग प्राकृतिक कुरा भए पनि लैंगिकता सामाजिक र सांस्कृतिक कुरा हो। नारीवाद लिंगसँग सम्बन्धित छ। नारी जातिको हक हितका लागि अन्याय, अत्याचार र पितृसत्ताको भण्डाफोर गर्नुपर्छ। यस्तो गर्न सकेमा परिवर्तन पनि सम्भव छ। यही चेतना लेखकले कृतिमार्फत दिन खोज्नु भएको छ,’ उनले भने।
यस्तै समाजका अध्यक्ष रामलाल जोशीले नेपाली साहित्यले उत्कृष्ट कृति पाएको बताएका थिए। उनले नेपाली साहित्य र त्यसमा पनि लैंगिकताका विषयमा अध्ययन गर्न चाहनेहरूलाई यसले ठूलो सघाउने विश्वास व्यक्त गरे।
कृतिको सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्म पाठक, समाजका अध्यक्ष जोशी, पूर्वउपाध्यक्षहरू यज्ञराज यात्री, बासुदेव पाण्डेय, पद्मराज जोशी, गजलकार श्रेष्ठ प्रिया पत्थरलगायतले गरेका थिए।
शर्माले १९९२ देखि २०४६ सालसम्म, २०४७ देखि २०६२ सम्म र २०६३ देखि २०८० सम्म गरी तीन काल खण्डमा विभाजन गरेर नेपाली कथामा लैंगिताको सन्दर्भका बारेमा कृतिमा अध्ययन गरेकी छन्।







डिसी नेपाल








Facebook Comment