धनगढीलाई साहित्य र चेतनाको नगरी बनाउन साहित्य समाजको जोड

डिसी नेपाल
२६ असोज २०८२ ९:११
16
Shares

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले शनिबार धनगढीमा दसैं तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्‍यो। उक्त कार्यक्रममा समाजका अध्यक्ष रामलाल जोशीले धनगढीलाई साहित्य र चेतनाको नगरी बनाउनु पर्ने प्रस्ताव राखे। कार्यक्रममा सहभागी श्रष्टाहरूले उक्त प्रस्तावमा सहमति जनाउँदै ताली पिटे।

सुदूर भूमि नेपाली भाषाको उद्‍गम थलो हो। यहाँको माटो, माटोमा भाषा र साहित्यको सुभाष छ। सुदूरपश्चिमाञ्जल साहित्य समाजको तीन तले आफ्नै भवन छ। यो भवन हामीले ठूलो मिहिनेतका साथ निर्माण गरेका हौं। यस ठाउँलाई साहित्यको थलो निर्माण गर्न समाजका थुप्रै मान्छेको लगानी छ। अब यसलाई स्थायीत्वका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रकवि माधव घिमिरे, सताब्दी पुरुष सत्यमोहन जोशीलगायत सयौं साहित्यकार र विशिष्ट व्यक्ति समाजको आमन्त्रणमा धनगढी पुगेका छन्। समाजले विश्व नेपाली साहित्य महोत्सव, नेपाली साहित्य महोत्सव र विश्व नेपाली नारी साहित्य महोत्सव जस्ता विशाल कार्यक्रम गरिसकेको छ। साहित्य जागरण अभियान र श्रीमद् भागवत महायज्ञ जस्ता प्रतिष्ठित गतिविधि गरिसकेको छ।

यस्ता क्रियाकलापका माध्यमबाट साहित्य समाजले धनगढीको गौरव बढाउने काम गरेकाले कबर्डहलदेखि क्याम्पस रोडसम्मको सडकको नाम धनगढी उपमहानगरपालिकाले साहित्य मार्ग राख्नुपर्ने धारणा जोशीले राखेका छन्।

यो मार्गलाई साहित्य मार्ग र समाजको भवन भएको टोललाई साहित्य नगरका रुपमा नामकरण गर्दा यहाँको पहिचान थप झल्किने छ। यसमा हामी सबैको एकमत हुनेछ भन्ने मेरो अपेक्षा छ। यो प्रस्ताव लगेर हामी संयुक्त रुपमा मेयरसापलाई पनि भेटौला,’ उनले भने।

यसका साथै आफूले केही योजनाका साथ काम गरिरहेको बताएका छन्। अहिले साहित्य समाजको अक्षयकोषको रकम २५ लाख रहेकोमा यसलाई बढाएर ५० लाख पुर्‍याइने उनले घोषणा गरेका छन्।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक कार्यक्रम गर्ने, साहित्य महोत्सवलाई निरन्तरता दिइने, सुरभी पत्रिकाको प्रकाशनलाई निरन्तरता दिइने र एउटा सुविधासम्पन्न हल निर्माण गर्ने हाम्रो योजना छ‘, उनले भने। त्यसका लागि सबै तह र तप्काको साथ आफूले चाहेको जोशीले बताएका छन्।

यसका साथै जोशीले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम निर्धारित समयमै गर्ने र आसनग्रहणमा समेत धेरै समय नखर्चिने बताएका छन्।

यस्तै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्म पाठकले समाजका सबै गतिविधिमा आफ्नो पूर्ण साथ रहने बताएका छन्। उनले योजनावद्ध रुपमा काम गर्न सुझाव दिँदै समाजका प्रत्येक गतिविधिमा आफ्नो साथ रहने बताएका हुन्।

साहित्य चेतनाको ज्योति हो। साहित्यकारले समाजलाई सही मार्गमा मार्गनृदिष्ट हुन प्रेरित गर्दछ। त्यसैले साहित्यको विकास गरेर समाजमा भाषा, संस्कृति र कलाको चेतना जागृतमा समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गरोस्,’ उनले भने।

सुदूरपश्चिमलाई चिनाउने सबै खाले गतिविधि आफूहरूका सम्पत्ति भएको बताउँदै साहित्य समाजलाई आफूले पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। कमैयाको प्रदेश, छुवाछुतको प्रदेश, छाउपडीको प्रदेश भनेर गलत प्रचार मात्र भइरहेको छ। त्यसैले समाजले सुदूरको सम्भावना झल्काउने काम गरिरहेकाले मेरो पूर्ण सहयोग रहन्छ‘, उनले भने। पाठकले साहित्यको विकासमा जुट्न सबैलाई आग्रहसमेत गरेका छन्।

सोही कार्यक्रममा साहित्यकार डा. तुलसी शर्माद्वारा लिखित आधुनिक नेपाली कथामा लैंगिकता विषयक पुस्तक लोकार्पण गरिएको थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.