अब के त?
खोजन खोज… देश हिमाल पारि छ या मधेश पारि..यस्तै आवाज र निद्रामा देखेका सपनाले तर्साउँछन्। बिपनाका दृश्यहरुले कहाली लगाउँछ। हेरन हेर…देश त यहीँ छ तर लक्ष्य अन्तै र पनि युवा पुस्ताका लक्ष्यहरु भने यहीं छन्। उनीहरु जन्मभूमिलाई कर्मभूमि बनाउन चाहन्छन् यहीँको माटोमा रमाउन चाहन्छन्।
यहीँ पेशा व्यवासाय गरेर बाँच्न चाहन्छन्, आफ्नो परिवार, समाज र देशमै बसेर यहीँ उज्वल भबिष्य बनाउन चाहन्छन्। बुझ्यो भने यही नै एउटा मुख्य देश बनाउने नितान्त आवश्यक सुत्र पनि हो। आज आएर मैले मात्रै यी र यस्ता बिषयहरु औंल्याउन खोजेको होइन, हजारौंले बोली, लेखी सकेको भएपनि फेरि एकपल्ट औंल्याउन जमर्को गरेको छु।
भन्छन् ‘माले’ देश बिगारे ‘बा’ ले। पूर्व गृहमन्त्री भने निशस्त्र, निर्दोष, कलिला चाउरे युवाहरुलाई कसले मार्याे थाहा छैन, तर मैले र पूर्व प्रधानमन्त्रीले भने युवाहरूलाई गोली हानेर मर्ने आदेश दिएको छैन भन्दै पानी माथिको ओभानो हुन खोज्दै पन्छिन खोज्छन्।
गृहमन्त्रीलाई पूर्व प्रधानमन्त्रीले आदेश नदिएको भन्ने कुरा कसरी थाहा भयो? यदि अधिकारिक शाशकहरुले आदेश नदिएको भए कसका बाउले युवाहरुलाई ताकि ताकि मर्ने आदेश दियो?
अब साहस देखाउने बेला आयो। युवा पुस्ताले त देखाए, गोली खानसम्म खाए र, रगतको खोलो बगाए। उनहरुले देशका लागि राखेका निश्वार्थ मागहरु पूरा गर। राष्ट्रपति र प्रधानमन्त्री भएर आनेकाने नगर र पछि नसर। इतिहासमा तिमीहरुको नाम स्वर्णिम अक्षरले लेखाउने हो भने ज्यान मर्ने र मराउनेहरुलाई आँट गरेर यथाशीघ्र कारबाही गर।
विनम्रताका साथ् राष्ट्रपति र प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु कि अब भने भ्रष्टहरुको मुख हेरेर मोलाइजा र कायरता नदेखाउनुहोस्। बिशेषत राष्थट्रपतिज्यू के ले रोकेको छ प्रत्यक्ष प्रधानमन्त्रीको चुनाब गर्न र गराउन? के ले रोकेको छ आर्थिक रुपले धान्नै नसक्ने निकम्बा संघीयता खारिज गर्न? के ले छेकेको छ राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धि जनमत संग्रह गर्न र गराउन?
बिलम्ब नगरी समयको माग र बिषयको गाम्भिर्यता बुझेर साहसी निर्णय गर अनि इतिहासमा नाम लेखाउ। तर कत्ति पनि खुट्टा नकमाउ। जुन संविधानले देशलाई यो विषम परिस्तिथिमा ल्यायो र देशलाई निशाशिने भड्खारामा हाल्यो त्यो संविधानलाई रक्षा गर्दै पालेर बस्नुको अर्थ छैन।
देश बचाउनु छ र देशमा नयाँ परिबर्तन ल्याउनुछ भने २०४७ शालको संबिधानमा या वर्तमान संबिधानमा संशाेधन गर। राष्ट्रपति र प्रधानमन्त्रीले आँट र साहस गर्नुभयो भने यो संबिधानमा संशाेधन त् बिज्ञहरुको आयोग बनाएर सजिलै र छोटो-एक महिनाको समयमै गराउन सकिन्छ र त्यसपछि जनताबाट अनुमोदन गरे हुञ्छ।
मर्नु त छँदै छ, तर बाँचेका बेला र ठाउँमा भएका बेला साहस देखाउ र देश बचाउ अनि युवा पुस्ताका सार्थक सपनाहरु साकार बनाउ। अरु कतै नहेर केवल देश र जनताको स्वार्थ हेर। देश दाउमा परेका बेला नेतृत्वको दूरदर्शिता र जनता प्रतिको अटल प्रेम कसीमा राखेर हेरिनेछ। अब सबैले पुरानो बाटो छाडेर नयाँ बाटोमा हिँड्ने बेला आयो। यही अवसर फेरि पनि पाउनु हुने छैन र अवसर हातमा आएका बेला सदुपयोग गर्नुहोस्।
माथि राखिएका मागहरु पूरा गर्न यो अवस्थामा मिल्दैन, हुँदैन, कठिन छ, गर्न सकिँदैन भन्ने शब्दावलीहरू हटाएर ल गरौं, गर्न सकिञ्छ, सबैथोक मिल्छ, मिलाएर लान सकिन्छ भन्ने भाष्यलाई मध्य नजरमा राखेर अघि बढे अवश्य पनि युवा पुस्ताले राखेका मागहरु हासिल गर्न सकिन्छ।
आउने पुस्तालाई सकिँदैन, मिल्दैन, यस्तै हो, भन्ने मानिसिकता देखाएर उनीहरु र देशलाई निराश र दुर्बल नबनाउनुहोस्। उनीहरुलाई तगारो लगाएर नारोक्नुहोस्। उनीहरु त तपाईंहरुका नाति नातिनाहरु हुन्। तपाईंहरुका भरोसामा बाँचेका यी नाती नातिनाहरुका मनमा आशाको दियो बालिदिनुहोस् नत्र भने युवा पुस्ता र देशको पाप लाग्ला।
















Facebook Comment