‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा आह्वान
काठमाडौं । बाह्रखरी मिडियाले ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरेको छ।
काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गर्दै बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो।
बाह्रखरी मिडियाले यस वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरी मिडियाको भनाइ छ। यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो।
संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। कथा लेखनको संवर्द्धन र प्रवर्द्धनका निम्ति यस प्रतियोगिता गरिएको बाह्रखरी मिडियाले जनाएको छ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले मा इमेल गरेर कथा पठाउनुपर्नेछ। नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बताइएको छ। रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ।
अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन नपाइने र कथा अप्रकाशित र अप्रशारित हुनुपर्ने बाह्रखरी मिडियाको सर्त छ। नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन। छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिने जनाइएको छ।
कथा कम्तीमा १ हजार ५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ। कथा वर्ड फाइलमा मात्र पठाउनुपर्ने बताइएको छ।







डिसी नेपाल








Facebook Comment