चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन
वीरगञ्ज। लेखिका चञ्चलाको राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ।
आज यहाँ आयोजित एक कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन्। त्यस अवसरमा पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्वपूर्ण सन्दर्भ ग्रन्थ हुने बताए।
मिथिला क्षेत्रमा विवाहसम्बन्धी रीतिरिवाजबारे धेरै पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच विवाहको कुराकानी सुरु भएको दिनदेखि चार दिनसम्म हुने परम्पराबारे र विदाइपछि केटा पक्षको घरमा चल्ने रीतिरिवाजबारे विस्तारपूर्वक लेखिएकाले विमोचित पुस्तक महत्वपूर्ण रहेको धारणा राखे।
लेखिका राजले मिथिलामा हुने विशिष्ट विवाह परम्पराबारे सूक्ष्म अध्ययन गरेर यसको सामाजिक र वैज्ञानिक पक्षबारे जानकारी दिने आफ्नो उद्देश्यसहित पुस्तक लेखेको बताइन्। उनले पाँच वर्ष लगाएर लेखिएको पुस्तक आगामी दिनमा मिथिला क्षेत्रमा हुने विवाह समारोहका लागि पनि महत्वपूर्ण सामग्री हुने विश्वास व्यक्त गरिन्।
पुस्तकको भूमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा शेफालिका बर्माले लेखेकी छन्।
पुस्तक विमोचन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो।







डिसी नेपाल







Facebook Comment