बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित
म्याग्दी । मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले बताइन् ।
‘धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ’, उनले भनिन्, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’
कुल रु ५७ लाख १० हजार ८६० लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ। उपभोक्ताले ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन्।
रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद र उपभोक्ता समितिलाई रु ३१ लाख ८३ हजार ९१ भुक्तानी भएको छ। पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे । झोलुङ्गे पुल निर्माण भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन्।







डिसी नेपाल







Facebook Comment