शासन होइन, उत्तरदायित्वको खोजी
कार्यकारी प्रमुखज्यू,
हामी, तपाईंका नागरिकहरू-सडकमा, घरमा, अफिसमा र अनलाइनमा-तपाईंको नेतृत्वप्रति न केवल आशा, तर प्रश्न र उत्तरको अपेक्षा बोकेर यहाँ उभिएका छौं। हामी, तपाईंका नागरिक, आज तपाईंको सत्तालाई एउटा तीतो सत्यको ऐना देखाउन उभिएका छौं।
तपाईंको आगमनलाई परिवर्तनको महायज्ञ ठानिएको थियो, तर अहिले हामी अविश्वसनीय विरोधाभासको भुमरीमा छौं। जनताको आँखामा पट्टी बाँधेर सुशासनको नाटकमञ्चन गर्ने छुट तपाईंलाई छैन।
किन भने
-पारदर्शिताको हत्या र मन्त्रीहरूको दोहोरो चरित्र
प्रधानमन्त्रीज्यू, तपाईंको उदय भ्रष्टाचारविरोधी आन्दोलनको बलमा भएको थियो। तपाईं आफैंले न्याय र पारदर्शिताको चर्को नारा लगाउनुभयो। तर, विडम्बना! त्यही आन्दोलनबाट आएका भनिएका मन्त्रीहरूकै सम्पत्ति विवरण गोप्य राख्ने निर्णय गर्नुभयो? होइन भने के कुराले छेकेर ढिला ? कि पुरानादलले रोके ? अब जवाफ चाहिन्छ।
के यो आफैंमा एउटा लाजमर्दो ‘आयरनी’ होइन?
जनतालाई हिसाब माग्ने, तर आफ्नो सम्पत्तिको गाँठो लुकाउने? तपाईंको नैतिकताको जग कति कमजोर रहेछ? पारदर्शिताको यो घाँटी निमोठाइले पुरानो शैलीका नेता र तपाईंहरूमा के फरक रह्यो? तपाईंहरूले जसलाई ‘डाइनासोर’ भन्नुभयो, आज त्यही बाटोमा दौडिरहनुभएको छ। लोकतन्त्रको मर्ममाथि योभन्दा ठूलो धोका के हुन सक्छ प्रधानमन्त्रीज्यू?
–· म्यान्डेट, कार्यकारी मोह र प्रशासनिक माटो
तपाईंलाई जनताले दिएको म्यान्डेट सुशासनको लागि उत्प्रेरक बन्नु थियो, शक्ति सञ्चयको लाइसेन्स होइन। तर, तपाईंले दर्जन मन्त्रालय आफ्नै हातमा लिएर कार्यकारी सरकारको स्किअल देखाइरहनुभएको छ।
के मन्त्री बनाउन सक्ने क्षमता नभएकै कारण हो यो केन्द्रीकरण?
मन्त्री बनाउन नसक्नेले देश कसरी बनाउलान्?
युवाको जोश (Gen Z) को काँध चढेर सत्तामा पुग्ने, तर मन्त्रीमण्डलमा १ जना मात्र युवा देखिनुले युवा शक्तिप्रति तपाईंको धोकाधडीझल्किँदैन र? के युवाहरू केवल भीड मात्र हुन्?
यसको परिणाम, तपाईंको आँखा अगाडि नै प्रशासन धुलोपिठो भएको छ। जेलको पर्खाल नाघेर कैदी भागाउने को हुन्? सुरक्षा संयन्त्रको यो चरम लापरवाहीको जवाफदेही तपाईं र तपाईंको गृह प्रशासनले लिनु पर्दैन?
यो घटना सामान्य दुर्घटना थिएन, यो शासनको असफलता हो! ती र त्यस कार्यमा संलग्नलाई सार्वजनिक गर्न तपाईंलाई कुनै दुई-तिहाई चाँहिदैन । तपाईंहरुमा त्यो’दम’ रहेनछ।अनी सत्तामै बस्ने त अझै ?
– राष्ट्रिय सम्पदामाथि आक्रमण र उन्मुक्तिको राजनीति
राष्ट्रिय सम्पदा केवल सिमेन्ट र बलुवाको मिश्रण होइनन्, प्रधानमन्त्रीज्यू, ती देशका धरोहर हुन्, हाम्रो पुर्खाको विरासत र भावी पुस्ताको पहिचान हुन्। आन्दोलन र अराजकताको नाममा तिनलाई ध्वंस पार्नेहरूको लिस्ट किन सार्वजनिक हुँदैन? उनीहरूलाई किन उन्मुक्ति दिइन्छ?
के तपाईंहरू राज्यको सम्पत्ति नष्ट गराउनेलाई केवल जेल सजाय मात्रैले पुग्छ भन्नेमा विश्वास गर्नुहुन्छ? यदि राज्यको सम्पत्तिमाथि क्षयीकरण गर्नेहरूलाई कारबाही हुँदैन भने, कानुन-राज कहाँ छ? यो मौनताले अराजकतालाई नै संरक्षण दिइरहेको छ।
– शहीदको अपमान र दण्डहीनताको खेती
आन्दोलनमा मारिएका र लुटपाट, आगजनी गर्दा मरेका ४१ जनालाई एकै डालोमा राखेर ‘शहीद’ घोषणा गर्ने नैतिक आधार के हो? के अपराधीलाई राज्यले क्षतिपूर्ति वा दण्ड दिने मापदण्ड यही हो?
आन्दोलनमा मारिएका २२ जना बाहेक अन्यको विवरण र ब्याकग्राउन्ड किन लुकाइँदैछ? यो गोप्यताको पर्दा पछाडि कुन सत्य छोपिएको छ? जब राज्यले नै सत्य लुकाउन थाल्छ, तब जवाफदेहिताको कुरा कसरी गर्ने?
१७,००० मारेका भनिएकाहरू खुलेआम हिँडिरहेका छन्, के यो तपाईंको नजरमा कानुन अनुरुप थियो? दण्डहीनताको यो कलंक कहिले मेटिन्छ?
-ठेक्का र डेलिभरी: कथनी र करणीको अन्तर
ठेक्का लिएर काम नगरेका ठेक्का तोडेको सुन्नमा आएको छ। तर, ती ठेकेदारहरूलाई नसिहत के दिइँदै छ? के ठेक्का तोड्नु मात्रै पर्याप्त छ, कि उनीहरूलाई कालोसूचीमा राखेर सरकारी काममा प्रतिबन्ध लगाइन्छ?
नागरिकहरू स्पष्ट उत्तर चाहन्छन्: पुराना दलको डेलिभरी र तपाईंको डेलिभरीमा अन्तर के हो? केवल स्टन्टबाजी र भाषण मात्र अन्तर हो कि विकासको जग हाल्ने काममा पनि तपाईंहरू भिन्न हुनुहुन्छ? अहिलेसम्मको अवस्थाले ‘नयाँ बोतलमा पुरानो रक्सी’ को झल्को दिइरहेको छ।
-कानुनका ज्ञाताबाटै कानुनको उपहास
तपाईं र तपाईंको गृह मन्त्री दुवै कानुनका ज्ञाता हुनुहुन्छ। तर, तपाईंहरूबाटै कानुनको दोहोरो मापदण्ड देखिनु दुःखद छ।
आन्दोलनमा धरपकड र ज्यान जाने कुरा किमार्थ सही होईन, दोषी दण्डित हुनै पर्दछ। तर, त्यहाँ पुगेर उक्साउनेहरूलाई किन नसिहत दिइँदैन?
राज्यले नागरिक र सम्पत्ति जोगाउन खोज्नु उसको सर्वोपरी दायित्व हो।
यदि आन्दोलन दबाउन गोली चलाइएको हो भने, तत्कालिन शासकलाई गोली हाने सरहको नसिहत किन नहुने?
तर, यदि राज्यले सम्पत्ति जोगाउन खोज्दा भएको काम हो भने, ओलीहरूलाई पक्रिने धम्की तपाईंको गृह मन्त्रीले कुन आधारमा दिँदै हुनुहुन्छ? कानुनको यो राजनीतिकरण किन?
तपाईंहरू प्रदर्शन नै हुन नदिने अनि लोकतन्त्रको दुहाइ किन दिनुहुन्छ? लोकतन्त्र केवल चुनाव जित्ने खेल मात्र होइन, यो विरोधको आवाज सुन्नु पनि हो!
तपाईंको शासनमा जघन्य घटना घटेमा, तपाईं के गर्नुहुन्छ? गोली चलाउनुहुन्छ कि तमाशा हेरेर बस्नुहुन्छ? यदि तमाशा हेर्न तयार हुनुहुन्न भने, अरूलाई धम्की दिने आधार के हो? न्याय र कानुन सबैका लागि समान हुनुपर्छ!
– बजेटको स्टन्ट, संविधानको बहस र सत्ताको यथार्थ
अर्थ मन्त्रीले विकास बजेट काटेर स्टन्ट गरेको प्रष्टै देखिन्छ। के यही ‘स्टन्ट मोडल’ तपाईंको ‘विकास मोडल’ हो? तपाईंले जसरी सस्तो लोकप्रियता कमाउन खोज्नुभयो, त्यसैगरी सत्ता चलाउन खोज्दा देश कुण्ठा र असन्तुष्टिको खाडलमा भासिन्छ।
कार्यकारी प्रमुखज्यू, तपाईंलाई गोडा ढोग्नेहरूकै मुखबाट ‘संविधान राख्ने कि फाल्ने ‘ भन्ने आवाज किन आइरहेको छ? के तपाईं संविधानको अवहेलनागरिरहनुभएको छ?
यूट्युबरलाई बोलाएर अरूलाई औंला ठड्याएजस्तो सजिलो हुँदो रहेछ कि नाइँ सत्ता सम्हाल्न, जनतालाई भनिदिनोस न! जवाफदेहिता कति सजिलो हुँदो रहेछ, प्रधानमन्त्रीज्यू?
तपाईंले बुझ्नैपर्छ, यो आलेख कुनै विपक्षीको प्रहार होइन, यो एक नागरिकको विवेकको प्रश्न हो। हामीले विश्वास गरेको परिवर्तनको ज्वालालाई सत्ताको गोप्यता र दण्डहीनताले खरानी बनाउनु हुँदैन। तपाईंले यी प्रश्नहरूको उचित, न्यायोचित र सत्य जवाफ दिएर जनताप्रतिको आफ्नो दायित्वपूरा गर्नुपर्छ।
















Facebook Comment